कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वसूचनाको अभाव

तटीय क्षेत्रको कहर
अमृता अनमोल

बुटवल — आकाशमा बादल मडारिन थाल्यो कि बुटवल, हात्तीसुँढकी राधा थापाको शरीर सिरिंग हुन्छ । जसोतसो दिन काट्छन् । रात परेपछि भने छिमेकीकहाँ बास बस्न पुग्छिन् ।

पूर्वसूचनाको अभाव

‘नदी किनारमा घर छ । ससाना तीनवटा चिचिला छन्,’ तिनाउ नदी किनारकी राधाले भनिन्, ‘रातिमा बाढी आए थाहा दिने कोही छैनन् । त्यसैले पानी पर्‍यो कि राति छिमेकीकहाँ बस्न जान्छु ।’

राधाको जस्तै यो दैनिकी रूपन्देहीका नदी किनारमा बस्ने धेरैको छ । आकाशमा बादल मडारिन थाल्यो कि चिन्तित हुन्छन् । पानी बढ्ने संकेत देखिए घर छाडेर अन्यत्र जान्छन् । ‘दिनभर त नदी हेरेर खतराको आँकलन गर्छौं,’ बुटवल तिनाउ नदी किनार खयरघारीकी शकुन्तला परियारले भनिन्, ‘रात परेपछि समस्या छ । ठूलो पानी परे घरै छाडेर हिँड्छौं ।’

दुई वर्षअघि बाढीले तिनाउ नदीको देवीनगरस्थित झोलुंगे पुल बगाएको थियो । नदी किनारका २० घर बगेका थिए । पूर्वसूचना प्रणाली नहँुदा ठूलो क्षति बेहोर्नु परेको थियो । यस वर्ष पनि दुई जनालाई खोलाले बगाइसक्यो ।बाढीको जोखिम घटाउन सबैभन्दा भरपर्दो योजना हो, पूर्वसूचना प्रणाली । बाढीको उच्च जोखिम रहेको रूपन्देहीमा भने अझै पूर्वसूचना प्रणाली कार्यान्वयन गरिएको छैन ।

यसले बाढीको क्षति घटाउन सकिएको छैन । धेरैमा नदी उकास क्षेत्र मात्र होइन नदीको बहाव नै छेकेर घर बनाउने र बस्ने गरेका छन् । यस्तोमा जुनसुकै बेला आउने बाढीले बगाउने खतरा हुन्छ । यही त्रासमा नदी तटीय क्षेत्रका बासिन्दाले वर्षायाम कटाउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तथा विपत् व्यवस्थापन समिति संयोजक उदयबहादुर रानामगरले नदीमा पूर्वसूचना प्रणाली नहुँदा अकल्पनीय क्षति हुने गरेको बताए । ‘पाल्पामा पानी परे यहाँ घाम लागेकै बेला बाढी आउने र बगाउने जोखिम छ,’ उनले भने, ‘यस्तोमा व्यवस्थापनमै खट्नेका लागि पनि समस्या छ ।’

जिल्लामा १६ वटा स्थानीय तह छन् । त्यसमध्ये १२ तह नदी तटीय क्षेत्रमा छन् । चुरेबाट भेल लिएर बग्ने भएकाले बाढीको उच्च जोखिममा रहेका तिनाउ, दानव र कञ्चन नदी छेउका बासिन्दा पानी पर्‍यो कि घर छाडेर दौडन्छन् । बाढीका लागि सबैभन्दा जोखिम तिनाउ हो । यो नदीमा पाल्पाका करिब २० वटा खहरे मिसिन्छन् ।

बुटवल उपमहानगरपालिकाले पटकपटक नदीमा पूर्वसूचना प्रणालीका लागि भन्दै रकम विनियोजन गरेको छ तर कार्यान्वयन भएको छैन । नगरप्रमुख शिवराज सुवेदीले विपत् व्यवस्थापन समिति गठन गरेरै व्यवस्थापन योजना बनाएकाले अब छिट्टै पूर्वसूचना प्रणाली लागू हुने बताए । ‘गत वर्षमै गर्नुपर्ने ढिला भयो,’ उनले भने, ‘यसपटक भने वर्षा नसकिँदै यसमा काम गर्ने योजना छ ।’

बुटवल उपमहानगरसहित तिलोत्तमा, देवदह र सैनामैनामा चुरेबाट सीधै भेल लिएर आउने नदी बग्छन् । कञ्चन, सियारी, शुद्धोधन र ओमसतिया पनि चुरेबाटै आउने नदीका कारण बाढीबाट कटान र डुबानको समस्या छ । बर्सेनि बाढीले तहसनहस पार्ने यहाँ नदी छेकेरै बस्ती बसालिएको छ । नदीजन्य पदार्थको दोहनले तिनाउ नदी गहिरिएको छ । यसले बर्सेनि नदी कटान र डुबानको समस्या बढाएको छ ।

विपत् व्यवस्थापनका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरे पनि यी स्थानीय तहले पूर्वसूचना प्रणालीसम्म राख्न सकेका छैनन् । ‘आवश्यक हो तर अहिलेसम्म ध्यान गएन । अब गर्छौं,’ सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले भने ।स्थानीय तह मात्रै होइन प्रदेश र केन्द्र सरकारले पनि पटक–पटक यहाँका नदीमा बाढीको पूर्वसूचना दिने साइरन जडान गर्ने योजना बनाएका छन् । तर, जडान गरेका छैनन् ।

जिल्ला रेडक्रस सोसाइटी र मौसम तथा जलवायु केन्द्रले पाल्पाको दोभानमा तिनाउ नदीको पानीको बहाव मापन गर्ने वाटर ग्रेडमा राखेको छ । राष्ट्रिय विपत् प्रतिकार्य टोली (एमडीआरटी) का संयोजक सन्तोष शेरचनका अनुसार त्यसलाई डुबायो भने रेडक्रसलाई जानकारी दिइन्छ । यसबाहेकको विश्वसनीय सूचना अरू छैन ।

नदीबारे जानकार इन्जिनियर खेटराज दाहालले पूर्वसूचनाकै अभावमा रूपन्देहीमा बाढीबाट धनजनको क्षति हुने गरेको बताए । सिद्धबाबामा जुनसुकै बेला पहिरो जाने भएकाले केही समय तिनाउ थुनियो भने त्यसले रूपन्देहीमा अकल्पनीय क्षति पुग्छ । ‘बाढीको प्रकोप हटाउन पूर्वसूचना प्रणालीबारे धेरै चर्चा भयो तर काम भएन,’ दाहालले भने, ‘प्रकोप व्यवस्थापनमा तीन तहकै सरकारले बजेट छुट्याएका छन् । अब कार्यान्वयनमा ढिलो गर्नै हुँदैन ।’

लाभदायक

बर्दिया (कास)– बबई र कर्णाली तटीय क्षेत्रका बासिन्दाले गत वर्ष बाढीबाट ठूलो क्षति बेहोर्नु परेन । नदीमा बाढी आउने पूर्वसूचना पाएकै कारण नदी किनारका करिब तीन हजार बासिन्दाले सुरक्षित स्थानमा गई ज्यान जोगाएका थिए ।

कर्णालीको चिसापानी र बबई नदीस्थित चेपाङको जलमापन केन्द्रले बाढीको पूर्वसूचना प्रवाह गर्न थालेपछि उनीहरू सुरक्षित भएका हुन् । बाढी आउने संकेत र सूचना तटीय क्षेत्रवासीलाई त्यहींबाट प्रवाह गरिन्छ । पूर्वसूचनाकै कारण ज्यान जोगिएकामा स्थानीय खुसी छन् । ‘ज्यान छ र संसार देख्न पाइएको छ,’ बारबर्दिया ४ की लक्ष्मी चौधरीले भनिन्, ‘तर, यो ज्यान बचाउन बाढीपूर्व दिइने पूर्वसूचना प्रणालीले ठूलो काम गरेको छ ।’

बाढी आउनुपूर्व जलमापन केन्द्र चेपाङ र चिसापानीले प्रहरी, समुदाय, रेडक्रस र स्थानीयलाई मोबाइलमा एसएमएस गरी सूचना प्रवाह गर्छन् । सूचना पाउनासाथ समुदायले खतराको घण्टी बजाउने, माइकिङ गर्ने र उद्धारको तयारी थाल्ने गर्छन् ।जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले स्थानीय तहले १५ लाख रुपैयाँ उद्धार र खोजीका लागि चारवटा रबर बोट, लाइफ ज्याकेट, सुरक्षा सामग्री खरिद गरी सुरक्षा निकायलाई दिएको बताए ।

यसअघि पूर्वसूचनाको अभावमा बबई र कर्णाली तटीय क्षेत्रका बासिन्दाले सधैं ठूलो मात्रामा मानवीय र भौतिक क्षति बेहोर्दै आएका थिए । ०७१ साउन २९ गते आएको भीषण बाढीले चेपाङको जलमापन केन्द्र (गेजस्टेसन) बगाएका कारण सूचना समयमा नपाउँदा ठूलो धनजनको क्षति भएको थियो ।

त्यस बाढीका कारण ३२ जनाको ज्यान जानुका साथै ९० हजार बासिन्दा बाढीबाट प्रभावित भएका थिए । राजापुर ४ संर्घषनगरकी बालकुमारी चौधरीले बाढीको पूर्वसूचना प्रणाली विगतमा कार्यान्वयनमा नआउँदा धेरैले ज्यान गुमाउनु परेको बताइन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?