कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दुकभित्रको सिर्जना

दुर्गालाल केसी

दाङ — नेपाली सेनाको जागिर २४ घण्टे ड्युटी, एकछिन पनि फुर्सद नहुने । बन्दुक बोकेर कठोर बन्नुपर्ने पेसा । तर, तुलसीपुर उपमहानगरपालिका ११ नवलपुरका ३२ वर्षीय लेखराज गिरी बन्दुकभित्रै सुन्दर सिर्जना गर्छन् ।

बन्दुकभित्रको सिर्जना

नियमित ड्युटीबाहेकको समय उनी रङ र कुची चलाउँछन्, क्यानभास रंगाउँछन् । कतिपय शब्दमा रङ भर्छन् त कतिपय रङमा शब्द ।

केही मस्तिष्कमा खेलेका कुरालाई रङमा उतार्छन् त केही देखेभोगेको गाउँसमाज चित्रण गर्छन् । लहरैरहरले चित्रकलामा लागेका गिरी ७ वर्षदेखि राष्ट्रिय कलाकारको परिचय पाउन सफल भएका छन् । ‘म फौजी क्षेत्रमा काम गर्ने मान्छे, अधिकांश समय ड्युटीमै बित्छ । सयो समय निकालेर रङ भर्छु,’ गिरीले भने, ‘सिर्जनाले मलाई रङतिर डोर्‍याउँछ ।’

बन्दुक बोक्दाबोक्दै चित्रको सिर्जना गरिरहेको उनले बताए । ‘म बन्दुक बोकेर ड्युटी गर्छु । बन्दुक बिसाएपछि सिर्जना गर्छु,’ गिरीले चित्रकलाको मर्म सुनाए, ‘रातदिन जतिबेला समय मिल्छ क्यानभासमा रङ भर्न थाल्छु । रङ भर्दाभर्दै कतिपय शब्दको माग हुन्छ अनि गीत/गजल लेख्छु । फेरि शब्दले रङ माग्दा क्यानभास रंगाउँछु ।’

उनले थुप्रै गीत/गजल पनि लेखेका छन् । मुक्तक, गजल र उपन्यास लेखेर प्रकाशनको अन्तिम तयारी गरिरहेका छन् । त्यसभन्दा बढी उनको रुचि चित्रकलामै छ । वास्तविक तस्बिरजस्तै चित्र बनाउन सक्ने गिरीले मानवीय जीवनका विविध क्षेत्रलाई कलामा समेटेका छन् । उनले मानवीय दु:ख, जीवनशैली, सुन्दरता, प्राकृतिक दृश्य र भौगोलिक सुन्दरतालाई चित्रमा उतारेका छन् ।

बाल्यकालदेखि नै अक्षरभन्दा चित्रमा आकर्षित गिरीले ०५९ सालदेखि इनामेलले साइनबोर्ड र ब्यानर लेखेर औपचारिक रूपमा चित्रकलामा हात हालेका थिए । सेनामा जागिरे भएपछि पनि उनले चित्रकला छाडेनन् । भारतको देहरादुन पुगेर चित्रकलाको प्रशिक्षण लिए ।

विभिन्न चित्रकारलाई भेटेर सीपमा निखारता ल्याए । अहिले उनी परिपक्व चित्रकार भइसकेका छन् । अब उनले दाङमै चित्रकलाको प्रशिक्षण केन्द्र सञ्चालन गर्ने योजना बनाएका छन् । सेनामा १५ वर्ष बिताइसकेका गिरीले अब चित्रकलामै योगदान गर्ने सोच बनाएका छन् । ‘जिल्लामा चित्रकला सिक्ने ठाउँ छैन । धेरै नवप्रतिभा अवसरको अभावमा भौंतारिएका छन्,’ उनले भने, ‘अब जिल्लामै बसेर चित्रकलाको सीप फैलाउन चाहन्छु । सबैले कलाको महत्त्व बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।’

जागिरमा हुँदा पनि कतिपय कमान्डरले निकै हौसला दिएका छन् । एक कमान्डरले काठमाडौंस्थित नारायणहिटी दरबारमा एउटा हल नै नमुना बनाएर भित्ताभरि उनकै चित्र राख्न लगाएका छन् । यस्ता कामले चित्रकलामा हौसला थपिने गरेको उनले बताए । उनले आफ्ना चित्रको मूल्य ३५ हजार रुपैयाँसम्म राखेका छन् । काठमाडौंमा एउटा चित्र ७० हजारसम्ममा बिक्री हुने गरेको उनले बताए । कतिपय चित्र एकैदिनमा तयार हुन्छन् त कतिपयले साताभन्दा बढी समय लिन्छन् ।

प्रकाशित : श्रावण २०, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?