कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० शय्याको अस्पताल भवन

काशीराम डाँगी

रोल्पा — जिल्लामा ५० शय्याको अस्पताल भवन निर्माण हुने भएको छ । अघिल्लो आर्थिक वर्षदेखि सदरमुकाम लिबाङको रेउघामा साढे २ तलाको भवन निर्माण थालिएको छ । अस्पतालकै जग्गामा भ्याटबाहेक २९ करोडमा भवन निर्माण सुरु गरिएको हो ।

५० शय्याको अस्पताल भवन

‘यो भवन निर्माण भए जिल्लावासीमा स्तरीय स्वास्थ्य सेवा पुग्नेछ,’ अस्पताल विकास समिति सदस्य आकाश वलीले भने, ‘भवन बनाउन सरकारले ढिला योजना बनायो । अब तीव्र गतिमा निर्माण गर्न व्यवसायीलाई आग्रह गरेका छौं ।’ उनका अनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयको लगानीमा अस्पताल भवन निर्माण हुने भएको हो ।

काठमाडौंस्थित एक निजी कन्सल्टेन्सीमार्फत डिजाइन गरिएको उक्त भवन आशिष, श्री जयन्ती र ड्रागन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण थालेका हुन् । ३ कम्पनीमध्ये उक्त भवनको निर्माण जिम्मा रोल्पा गाम निवासी निर्माण व्यवसायी खगेन्द्र बुढाले लिएका छन् । ३ वर्षभित्र उक्त भवन निर्माण गरिसक्नु पर्ने सरकारसँगको सम्झौता छ ।

एक वर्षदेखि निर्माणमा खटिँदै आएका निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार खगेन्द्र बुढाका भाइ ऐभानले तोकिएको समयमै निर्माण पूरा गर्ने प्रतिबद्धता जनाए । ‘हामीले गरेका काम समयमै पूरा गर्दै आएका छौं,’ उनले भने, ‘यो झन् आफ्नै जिल्लाको भवन हो । समयमै सक्छौं ।’ रोल्पा अस्पताल प्रमुख डा. सुशील आचार्यका अनुसार नयाँ भवन निर्माणपछि बिरामीलाई दिइने सेवा थप प्रभावकारी हुनेछ । सुत्केरी सेवालगायत विशेषज्ञ सेवा प्रवाह गर्न नयाँ भवन निर्माण भएमा सजिलो हुने उनले बताए ।

हाल अस्पताल सञ्चालन गरिएको भवन निकै पुरानो तथा भत्किने अवस्थामा पुगेको छ । उक्त भवनको ९० प्रतिशत निर्माण ठेकेदारले पूरा गरे पनि उनीबाट भवन अझैसम्म सरकारलाई हस्तान्तरण गरिएको छैन । पञ्चायतकालमा रोल्पा गजुलका ठेकेदार डिल्ली सुवेदीले निर्माणको जिम्मा लिएका थिए । त्यसैबेलादेखि बेपत्ता ठेकेदार सुवेदीले न अस्पताल भवन हस्तान्तरण गरे, न त मजदुरलाई ज्याला नै दिए । पूर्वमन्त्री रेगबहादुर सुवेदीका सहोदर भाइ डिल्ली राजधानीमै बस्दै आएका छन् । बहुदलपछिका कुनै पनि सरकारले ठेकेदार सुवेदीबारे खोजी गरेका छैनन् ।

सशस्त्र द्वन्द्वपछि रोल्पाको स्वास्थ्यलगायत सबै क्षेत्र प्रभावित भए । अस्पताल भवन सरकारलाई हस्तान्तरण नगरिए पनि स्थानीयको दबाबमा भाडाको भवनमै जिल्ला अस्पताल सञ्चालन गरिएको थियो । पछि मात्रै रेउघास्थित खण्डहर बन्दै गएको उक्त भवनमा सारिएको हो । हाल सञ्चालनमा रहेको भवनमा चुहिने, फोहर जम्ने तथा बिरामी नअट्ने समस्या छ । उक्त भवनमा अहिले १५ शय्या मात्र सञ्चालनमा छ ।

शान्तिप्रक्रियापछिका सरकारलाई व्यवस्थित अस्पताल बनाउन जिल्लावासीले पटकपटक माग गरे पनि बेवास्ता गरिएको थियो । अस्पतालमा केही वर्षदेखि आधुनिक एक्सरे मेसिन र अप्रेसनबाट सुत्केरी सेवा प्रवाह गरिँदै आएको छ । नयाँ भवन निर्माणसँगै अस्पतालबाट विशेषज्ञ सेवा पाउने आशामा स्थानीय खुसी छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?