कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाडा चौपायाले हैरान

कमल पन्थी

बर्दिया — बाँसगढी मात्रै होइन, जिल्लाभर यतिखेर छाडा चौपायाका कारण किसान मारमा परेका छन् । छाडा चौपायाले खेतमा लगाइएको अन्नबाली र तरकारीमा क्षति पुर्‍याउन थालेका कारण किसान मारमा परेका हुन् ।

छाडा चौपायाले हैरान

खेतमा लगाइएको धानबाली जोगाउन निकै समस्या भएको गुलरिया ८ का पतिराम थारूले गुनासो पोखे । उनीजस्तै यहाँका किसान दिनरात खेत जोगाउन पहरा दिंदै आएको बताउँछन् । यस्तो छाडा चौपाया जीवनमा कहिल्यै नदेखिएको गुलरिया ६ का ६० वर्षीय रामचन्द्र गोडियाले बताए ।

जिल्लामा छाडा चौपाया सडकभर देखिन्छन् । सर्वसाधारणलाई बाटो काट्न र सवारी साधन चौपायाबाट जोगाउन निकै सास्ती खेप्नुपरेको छ । गुलरिया ६ का वडाध्यक्ष नीरज शर्माले ठाउँठाउँबाट बजार क्षेत्रमा गाई/गोरु छाड्ने समूह सक्रिय भएका कारण नगरवासी हैरानी खेप्न बाध्य भएको बताए । यसलाई व्यवस्थित गर्न समस्या बन्दै गएको उनको भनाइ छ । सदरमुकामभित्र दुई सयभन्दा बढी छाडा चौपाया रहेको अनुमान स्थानीयको छ ।

एक महिनाअघि गुलरिया नपा कोठिया गाउँका बासिन्दा छाडा चौपाया व्यवस्थित गर्न कार्यालयमा धर्ना दिए पनि सुनुवाइ नभएको बताउँछन् । तीन महिनाअघि छाडा चौपाया व्यवस्थित गर्न नगरपालिकाले पण्डितपुरमा गौशाला निर्माण गरेको छ । नगरप्रमुख मुक्तिनाथ यादवले चौपाया व्यवस्थित गर्न बजेट विनियोजित गरेको बताए । अहिले गौशालामा क्षमताभन्दा बढी चौपाया रहेका छन् । पाँच सयभन्दा बढी छाडा चौपाया राखिएका कारण थप चौपाया राख्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ ।

गौशालामा रहेका चौपायामध्ये सातामा दुई/तीनवटा विभिन्न कारणले मर्ने गरेका छन् । भारतको उत्तरप्रदेश राज्यमा गौबध निषेध गरेका कारण ९० प्रतिशत गाई/गोरु नेपाल भित्रिएको अनुमान स्थानीयको छ । राज्यका मुख्यमन्त्री आदित्यनाथले गाई/गोरु अन्य राज्यमा निकासीमा प्रतिबन्ध लगाएका कारण चौपाया नेपाल भित्रिएको हुन् ।

अधिकांश चौपाया गाउ‘बाट लखेटिएपछि राजमार्ग, हुलाकी सडक र बजार क्षेत्रमा आउने गरेका छन् । जिल्लास्थित प्रहरीका अनुसार राजमार्गमा तीव्र गतिमा गुड्ने सवारी साधनको चपेटामा परेर कतिपय चौपाया मर्ने गरेका छन् ।

बासगढी नगरपालिका क्षेत्रमा छाडा चौपायाको व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयले केही समयअघि कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीयले छाडा चौपायाका कारण सबैभन्दा बढी किसान, व्यवसायी र सर्वसाधारणले सास्ती पाएको भन्दै समस्या समाधान नभएसम्म नगरपालिकामा लगाइएको ताला नखोल्ने अडान लिएका थिए । त्यसपछि नगरपालिकाले छाडा चौपाया एक साताभित्र व्यवस्थापन गर्ने भनेपछि कार्यालयमा लगाइएको ताला खुलेको थियो ।

प्रकाशित : श्रावण २१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?