कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपन्नलाई पढाउँदै उद्योगी

गरिब तथा जेहेन्दारको पढाइमा सघाउन कतिपय उद्योगी व्यवसायीले विद्यालयमै अक्षयकोष खोलेका छन्
कान्तिपुर संवाददाता

बुटवल — रूपन्देहीको सियारी गाउँपालिकाका कमला र गणेश चौधरी निर्माण मजदुर हुन् । दिनभर काम गरेर छाक र पढाइ खर्च जुटाउने यी दम्पतीका चार छोराछोरी छन् । तर, यस वर्षदेखि उनीहरूलाई कापी कलमको चिन्ता हटेको छ ।

विपन्नलाई पढाउँदै उद्योगी

त्यहाँ रहेको अर्घाखाँची सिमेन्ट उद्योगले पठन सामग्री उपलब्ध गराएपछि सजिलो भएको कमलाले बताइन् । बालबालिकालाई वर्षभरि पुग्ने शैक्षिक सामग्री पाएपछि गाउँपालिकाका धेरै अभिभावक खुसी छन् ।


सामुदायिक र संस्थागत गरी ४२ विद्यालयका ३ हजार ३ सय विद्यार्थीका लागि अर्घाखाँची सिमेन्टले यस वर्ष शैक्षिक सामग्री उपलब्ध गराएको हो । यी गाउँपालिकाभित्रका प्रारम्भिक कक्षादेखि प्राथमिक तहसम्म अध्ययनरत बालबालिकाले शैक्षिक सामग्री पाएका हुन् । उद्योगका सञ्चालक पशुपति मुरारकाले बालबालिकाको शिक्षामा सहयोग गर्न गाउँपालिकाको समन्वयमा २० लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरेको बताए । ‘पोसाकसहित स्टेसनरी दिएका छौं,’ उनले भने, ‘यो सहयोग अर्को वर्ष पनि निरन्तर हुनेछ ।’ गाउँपालिकाले ‘हामी सबैको इच्छा अनिवार्य आधारभूत शिक्षा’ भन्ने नारासहित बालबालिकालाई विद्यालय झिकाऊ, सिकाऊ र टिकाऊ अभियान चलाएको छ । उद्यमी खेमराज पुन धेरै बालबालिकालाई पढ्ने अवसर जुटाउनेमध्येका एक हुन् । खेम इन्टरप्राइजेजसहित औषधि उद्योगमा लगानी गरेका उनले विपन्नको शिक्षामा सहयोग गर्न चारपुस्ते छुट्टाछुट्टै सहयोग कोष बनाएका छन् । हजुरआमादेखि छोराबुहारीसम्मका कोष छन् । चारवटै कोषमा गरी ६० लाख रुपैयाँ जम्मा भएको छ ।


खेमराजले ५१ औं जन्मदिनको अवसरमा पाँच वर्षअघि विपन्न र अशक्तलाई पढाइमा सहयोग गर्न खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठान खोलेका थिए । प्रतिष्ठानमा ४१ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिष्ठानका महासचिव नारायणप्रसाद पन्थका अनुसार यसबाट पाँच वर्षयता पाल्पा कारागारमा आमासँगै रहेका बालबालिकालाई पढाउने र पोषक खानेकुरा दिइन्छ । पढाउन सहयोगी शिक्षक राखिएको छ । अहिलेसम्म झन्डै ६० जेलका बालबालिकाले यसबाट फाइदा लिएका छन् । दुई जना कारागार जीवन बिताएका युवाले एसएलसीपछि उच्च शिक्षा पढेका छन् । एमबीबीएस पढ्ने पाँच विद्यार्थीको मासिक खर्च पनि कोषले बेहोरेको छ । छोराको बिहेमा हुने खर्च जोगाएर उनले १० लाखको राजु–सरिता सहयोग कोष खोलेका छन् ।


गुल्मीको भार्सेमा जन्मेका खेमले जन्मस्थानमा बाबु मनबहादुर र आमा गौरीका नामबाट ०६७ सालबाट मनगौरी पुन शैक्षिक अक्षय कोष खोलेका हुन् । त्यसमा आफ्नो ६ लाख र दुई दाजुको एक लाख गरी सात लाख रुपैयाँको छ । कोषबाट स्थानीय जनकल्याण माविका विपन्न बालबालिकाले बर्सेनि पाठ्यपुस्तक र पोसाक पाउने गरेका छन् । हजुरआमा कला पुनको नामबाट ०६७ देखि गुल्मी, भार्सेको आमा समूहको शिक्षा र सशक्तीकरणमा खर्चने गरी दुई लाख छुट्याएका छन् ।


रूपन्देहीमा रहेको यशोदा फुड्स प्रालिले मेचीमहाकाली शैक्षिक अभियान चलाएको छ । विपन्न तर जेहेन्दर विद्यार्थीको पढाइमा सहयोग गर्न भन्दै अभियान सुरु गरेको उद्योग सञ्चालक चुन्नप्रसाद पौडेलले बताए । अभियानअन्तर्गत छनोट गरिएका विद्यालयमा जाने र एक विद्यालयका दुई जनालाई छात्रवृत्ति दिइनेछ । छात्रवृत्ति रकम प्रतिविद्यार्थी १० देखि १२ हजार रुपैयाँ छ । चालु साता झापा र रूपन्देहीबाट एकसाथ अभियान सुरु गरेका छन् । ‘यस वर्ष ३० जिल्लाका करिब एक सय गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने योजना छ,’ फुड्सका बजार प्रबन्धक छविलाल बन्जाडेले भने, ‘आवश्यकताका आधारमा रकम र संख्या पनि बढाउने सोच छ ।’


विपन्नको पढाइमा सहयोग गर्नका लागि कतिपय उद्योगी व्यवसायीले विद्यालयमै अक्षय कोष खोलेका छन् । कालिका मानवज्ञान माविमा मात्रै यस्ता अक्षय कोष तीन दर्जन पुगेका छन् ।

प्रकाशित : श्रावण २५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?