१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

पशुलाई सुत्केरी भत्ता

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिन थालेको एक वर्ष बित्यो । सरकारले पनि नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराए भत्ता दिने गरेको छ तर पशुलाई भने कसैले पनि भत्ता दिने गरेका छैनन् ।

पशुलाई सुत्केरी भत्ता

यसको सुरुवात पनि तुलसीपुरले नै गरेको छ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न तुलसीपुर १८ ले पशुलाई सुत्केरी भत्ता दिन थालेको हो । किसानले पशुपालन व्यवसाय छोड्दै जान थालेपछि यस्तो निर्णय गरिएको वडाध्यक्ष माधव ओलीले बताए । भदौदेखि भत्ता वितरणको तयारी थालेको उनले जनाए ।

किसानलाई पशुपालनमा प्रोत्साहन गर्दै कृषिलाई व्यावसायिक बनाउन यस्तो तयारी गरिएको उनले बताए । ‘वडालाई पशुपालन व्यवसायबाटै समृद्ध र समुन्नत बनाउने लक्ष्य छ । गाईभैंसी, भेडाबाख्रा र सुंगुर बंगुरलाई सुत्केरी भत्ता वितरण गर्ने तयारी छ,’ उनले भने, ‘पछिल्लो समय पशुपालनतर्फ आकर्षण घटै गएकाले प्रोत्साहन गर्न खोजेका छौं । हाम्रो मौलिक पेसा ओझेलमा पर्न थाल्यो, दूधदही नै अभाव हुन थाल्यो ।’

भत्ता पाउन पशुपालन व्यवसाय अनिवार्य दर्ता गरेको हुनुपर्ने, कम्तीमा गाईभैंसी तीन र भेडाबाख्रा, बंगुरसंगुर पाँचवटासम्म पालेको हुनुपर्ने, पशु बिमा गरेको हुनुपर्ने र पशुको नियमित स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने प्रावधान राखिएको उनले बताए । स्थानीय पशुलाई दुई हजार र उन्नत प्रजातिकालाई एक हजार रुपैयाँसहित ४० किलो पौष्टिक आहार उपलब्ध गराउने ओलीले बताए । ‘अझै पनि घाँस पराल मात्रै खुवाउने चलन छ ।

पौष्टिक आहार खुवाउने चलन सुरु भएको छैन,’ उनले भने, ‘पौष्टिक आहारको अभावमा पर्याप्त दूध र मासु उत्पादन हुन सकेको छैन । व्यावसायिक किसानको संख्या निकै कम छ । अब यसले उत्पादनमूलक व्यवसाय गर्न मद्दत गर्नेछ ।’वडामा प्रशस्तै चरिचरन र घाँसपात भए पनि किसानहरू पशुपालनभन्दा अन्य रोजगारमा लागिरहेको ओलीले बताए । पशुपालन र कृषि व्यवसायबाट किसानलाई आत्मनिर्भर बनाउन यो योजना प्रभावकारी हुने अपेक्षा गरेको उनले बताए ।

‘वडालाई पशुपालनको नमुना बनाउने योजना छ । वडालाई आर्थिक रूपमा समृद्ध बनाउन यसले मद्दत गर्नेछ,’ उनले भने, ‘किसानहरूको जीवनस्तर उकास्न पनि हामी व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै छौं ।’युवाहरूलाई विदेश पलायन हुनबाट रोकी गाउँमै पशुपालनमार्फत स्वरोजगार बनाउने लक्ष्य रहेको उनले बताए । परम्परागत पशुपालनलाई विस्थापित गर्दै आधुनिक र व्यावसायिक बनाउने ओलीले बताए । ‘दूध र मासुमा वडालाई आत्मनिर्भर बनाई ऊर्जाशील जनशक्तिलाई यहीं खपत गर्ने तयारी गर्दैछौं,’ उनले भने, ‘अब युवाहरू ठूलो मात्रामा पशुपालन गरी गाउँमै व्यावसायिक बन्न सक्छन् ।

हामी व्यवसाय प्रवद्र्धनमा पनि सहयोग गर्छौं ।’ पशुको कृत्रिम गर्भाधारणले राम्रो उत्पादन दिन सक्ने भएकाले सुत्केरी भत्तासँगै कृत्रिम गर्भाधारणबारे पनि किसानलाई जानकार बनाउने कार्यक्रम तय गरेको उनले बताए । स्थानीय पशुमा कृत्रिम गर्भाधारण गर्ने किसानलाई विशेष सुविधा दिइने ओलीले जानकारी दिए ।

प्रकाशित : श्रावण २८, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?