२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कारागारको झडपमा २ घाइते

चौकिदार, नाइकेको सरुवा माग गर्दै कैदीबन्दी आन्दोलित
माधव अर्याल

पाल्पा — जिल्ला कारागारको झडपमा २ कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार, नाइके, भाइ नाइकेलगायत चार जनाको सरुवा माग गर्दै भएको आन्दोलनमा झडप भएको थियो ।

कारागारको झडपमा २ घाइते

कैदीबन्दीले मूल नाइके लक्ष्मण चौधरी, चौकीदार विश्वास गुरुङका साथै देवनारायण ढुंगाना र लोकबहादुर खाँडको सरुवा माग गरेका हुन् ।

बिहीबार बिहान कारागारका चौकीदार समूह र अन्य पक्षबीच झडप भएको हो । झडपमा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएको कारागार प्रशासनले जनाएको छ । चौकीदारलगायत चार जनाले अन्यलाई हेपेको, दमित गरेको, पाउने रकम नदिएको उनीहरूको आरोप छ ।

कैदीबन्दीका अनुसार लामो समयदेखि चौकीकारलगायत चारजनाको समूहले कारागारभित्रै लागूऔषध भित्र्याउँछन् । ब्राउन सुगर, गाँजा, सुईजन्य पदार्थ, डाइजेपम, नर्फिनलगायत ल्याउने गरिएको हो । तर, कारागार प्रशासन र त्यहाँ कार्यरत सुरक्षाकर्मीले यस विषयमा कुनै वास्ता नगरेको कैदीबन्दीले बताए ।

कैदीबन्दी रायमाझीले सरकारले उपलब्ध गराएको सेवा सुविधासमेत कारागार प्रशासनसँगको मिलेमतोमा चौकीदार र नाइकेले नदिएको आरोप लगाए । ‘चौकीदारले मनोमानी गरेका कारण आन्दोलनमा उत्रिन बाध्य भयौं,’ उनले भने । कारागार प्रशासनको मिलेमतोमा लागूऔषध सप्लाइ हुने गरेको आरोप छ । यसअघि पनि कैदीबन्दीले आफूहरू अन्यायमा परेको उजुरी गर्दै आएका थिए । तर, प्रहरी, प्रशासन, कारागार प्रशासनले सुनुवाइ नगर्ने र यसतर्फ ध्यान नदिएकाले आन्दोलनमै उत्रिनु परेको उनीहरूले बताए ।

लागूऔषध सेवन गरी कैदीबन्दीलाई कुटपिट गर्ने गरेको दाबी छ । चौकीदार र नाइकेले कैदीबन्दीलाई घरबाट ल्याइदिने तरकारीलगायत घरको मीठो खाना खान नदिएको उनीहरू बताउँछन् । आरोपपत्रसमेत प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, कारागार प्रशासन र पत्रकारलाई उपलब्ध गराएका छन् । बन्दीका लागि बर्सेनि आउने सुकुल, गुन्द्री, सुकी नगदलगायत पनि चौकीदार र नाइकेले मिलेमतोमा खाइदिने गरेको आरोप छ । कैदीबन्दीका अनुसार माफी मिनाहा सिफारिसमा समेत ५० हजारसम्म माग गर्ने गरेका छन् । यस्तै, नयाँ कैदीबन्दीसँग व्यवस्थापन खर्च भन्दै १ हजारदेखि २० हजारसम्म लिने गरेको दाबी उनीहरूको छ ।

विभिन्न समितिका नाइके नियुक्ति गर्दासमेत ५ हजारदेखि ३५ हजारसम्म लिएको उनीहरूले बताए । न्यून गुणस्तरको रासन खुवाउने, ६० रुपैयाँ नगद पाउनेमा १० मात्र दिने गरेको उनीहरूले सुनाए । ‘अब हामी दमित भएर बस्न नसकिने अवस्था आयो,’ एक कैदीबन्दीले भने, ‘हाम्रा माग उनीहरू चार जनालाई यहाँ राख्न पाइँदैन भन्ने नै हो ।’

प्रजिअ मनोहर खनाल, प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले तत्काल कारागार पुगेर कैदीबन्दीका मागबारे सुनुवाइ गर्ने बताएपछि आन्दोलन स्थगित गरिएको छ । पोखरेलले कैदीबन्दीले विविध माग राखेर आन्दोलनमा उत्रिंदा सामान्य झडप भएको बताए । नाइके समूहबाट आफूहरू पीडित भएको भन्दै भनाभन हुँदा सामान्य झडपको स्थिति आएको पोखरेलको भनाइ छ । ‘कैदीबन्दीको मागअनुसार चार जनालाई केही दिनका लागि प्रहरीको थुनुवा कक्षमा राखिनेछ,’ उनले भने, ‘सत्यतथ्य छानबिनपछि के गर्ने भन्ने निष्कर्षमा पुग्नेछौं ।’

प्रजिअ खनालले बन्दीले उठाएको विषयमा गम्भीर भएर छानबिन गरिने बताए । ‘नाइकेहरूमाथि लगाएको आरोपलाई नजरअन्दाज गरिएको छैन,’ उनले भने, ‘दुवै पक्षको कुरा सुनेर छानबिन गर्छौं ।’ जिल्ला प्रशासन, जिल्ला प्रहरी र कारागार प्रशासनलगायतबाट छानबिन समिति गठन गरिने उनले बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?