कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ संहिताले दाङमा उत्साह, झाँकी र बाजागाजासहित स्वागत

दुर्गालाल केसी

दाङ — शुक्रबारदेखि लागू भएको नयाँ देवानी र अपराध संहिताले सबैतिर उत्साह ल्याएको छ । उच्च अदालत तुलसीपुर, दाङ देउखुरी जिल्ला अदालत र तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा बाजागाजा र बिभिन्न साँस्कृतिक झाँकीसहितको र्‍याली गरी संहिताबारे प्रचारप्रसार र स्वागत गरेका छन् ।

नयाँ संहिताले दाङमा उत्साह, झाँकी र बाजागाजासहित स्वागत

विभिन्न समुदायका पहिचान झल्किने साँस्कृतिक भेषभुषासहित सर्वसाधारण र्‍यालीमा सहभागी भएका थिए । जिल्लास्थित सरकारी अधिकारी, कानून व्ययवसायी, राजनीतिक दलका नेताहरु, शिक्षक, विद्यार्थी पनि संहिताको स्वागत कार्यक्रममा सहभागी भएका थिए । कानून कार्यान्वयनका लागि सबैको प्रतिवद्धता र सबैलाई सचेतना जरुरी रहेको जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले बताए ।


‘कानूनन समाजको गतिशिलता अनुसार परिवर्तन हुन्छ र यसले सँधै सभ्य समाजको परिकल्पना गरेको हुन्छ,’ उनले भने, ‘अहिले पनि योग्य र सभ्य नागरिकको अपेक्षा गरेको छ । कानून कसैलाई मान्ने र नमान्ने छुट नभएकाले सबैलाई यसबारे सचेतना आवश्यक छ ।’


अहिलेको कानून नागरिकमैत्री भएको रावलले बताए । ‘लापरवाही गर्ने सबैलाई कानूनको दयरामा ल्याएको छ । कानून कार्यान्वय गर्ने अधिकारीलाई प्रशस्तै अविश्वास गरिएको छ,’ उनले भने, ‘कानून कार्यान्वयनकर्तालाई पनि गल्ती गर्ने छुट छैन । नागरिकको अधिकारलाई महत्व दिइएको छ ।’ यस कानूनले सार्वजनिक सेवा गुणस्तरीय नभए प्रश्न गर्नसक्ने बनाएको उनले बताए । संहिताको व्यवस्था अनुसार भिडियो कलमार्फत बयान लिनसकिने व्यवस्था पनि गरिसकिएको रावलले जानकारी दिए । संहिता अनुसारका पूर्वाधार सबैतिर नभए पनि अदालतमा आवश्यक तयारी गरिएको उनले बताए ।


संहिता कार्यान्वयनसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको न्याय परिषद्का सदस्य पदम वैदिकले बताए । सानालाई ऐन र ठूलालाई चैन भन्ने भनाई अब अन्त्य भएको उनले बताए । ‘ठूला भनिएका मानिसहरुलाई पनि कानूनले कारवाहीको दायरामा ल्याएको छ । यो संहिताले आन्दोलनको आह्वान गर्दैन,’ उनले भने, ‘मानवअधिकारको व्यापक उपभोग गर्न सकिने व्यवस्था छ । गर्भदेखि नै मानिसको हक स्थापित गरिएको छ ।’ हिजो छरिएर रहेका कानूनलाई एकिकृत गर्दै संहिताले नागरिकलाई अधिकारसम्पन्न बनाउन ठूलो भूमिका खेलेको उनले बताए ।


संहिता सामाजिक संविधान भएकाले यसले चाहे जस्तो संस्कार बसाल्न जरुरी रहेको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नहकुल सुवेदीले बताए । ‘राज्यको आधार व्यक्ती र समाज हो । संहिता समाजमा भिज्नेखालको छ । कानूनले सभ्य समाजको चाहना गरेको छ,’ उनले भने, ‘कानूनले भनेजस्तो असल नागरिक र आदर्श समाज बनाउन धेरै चुनौतीहरु छन् ।’


अनुसन्धान, अभियोजन र न्याय दिने निकायले उच्च व्यवसायीक मर्यादामा काम गर्न नसके कानूनको मर्म पूरा नहुने उनले बताए । ‘कानूनको विवेकसम्मत कार्यान्वयन जरुरी छ । नयाँ कानून आएपछि नागरिकले न्याय महशुस गर्नेगरी काम गर्नुपर्छ,’ सुवेदीले भने, ‘हामीले प्रवाह गर्ने सेवामा परिवर्तन आउनैपर्छ । चुनौतीलाई अवसरमा बदल्ने समय आएको छ ।’


समाजमा पारिवारिक मूल्य मान्यता स्खलित भैरहेको बेला नयाँ संहिताले अग्रजहरुलाई सम्मान र उचित संरक्षणको व्यवस्था गरेको सुवेदीले बताए । संहिताले न्यायीक प्रणालीमा ठूलो सुधार ल्याएको उनको भनाइ छ । ‘न्याय सरल र छिटोछरितो नभएको गुनाशो लामो समयदेखि छ । अब यस कानूनले कामकारवाही सहज बनाउन सघाउनेछ,’ उनले भने, ‘कानूनको भाषा समेत सरल बनाइएको छ । बदमासी गर्नेलाई पनि सुधार्न जोड दिइएको छ । कारागार मात्रै समस्याको समाधान होइन भन्ने मान्यता अंगिकार गरिएको छ ।’


नयाँ कानूनले सबै सरकारी अधिकारीलाई जिम्मेवार बनाएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । संहिताले अनुसन्धान र न्याय प्रवाहमा सरकारी अधिकारलाई जवाफदेही बनाएको उनले बताए । कार्यान्वयन गर्ने निकाय जिम्मेवार भएमा नागरिक नयाँ संहिताबाट तर्सनुपर्ने अबस्था नरहेको नागरिक समाजका संयोजक चन्द्रराज पन्तले बताए ।


जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले सिमान्तकृत बर्गका अधिकार स्थापित भएकाले संहिता समायनुकूल भएको बताए । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र तुलसीपुरका प्रमुख घनश्याम पाण्डेले संहिताले समाजलाई थप व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।


प्रकाशित : भाद्र १, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?