कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वातावरणमैत्री नगर बन्ने

नगरपालिकाभित्रका खाली ठाउँहरूमा वृक्षरोपणलाई प्राथमिकतामा राखिने

बाँके — नेपालगन्ज उपमहानगरपालिकालाई वातावरणमैत्री नगर बनाइने भएको छ । यसका लागि उपमहानगरले विभिन्न अभियान चलाउने जनाएको छ ।

वातावरणमैत्री नगर बन्ने

नेपालकै बढी गर्मी हुने नेपालगन्जमा वातावरण स्वच्छ बनाउन वृक्षरोपणलाई जोड दिइने भएको छ । विकास निर्माणसँगै बढ्दो तापक्रम सन्तुलन गर्न हरियाली अभियान थालिएको हो ।

बढ्दो सहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषणका कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत असर पर्न थालेपछि सरोकारवालाहरूको सहकार्यमा वृक्षरोपण र संरक्षणको कार्यक्रम गरिने भएको छ । उपमहानगरको प्रथम नगरसभामा नै वातावरणमैत्री नगर बनाउन एक घर एक चर्पी, एक व्यक्ति एक बिरुवा र एक वडा एक बालउद्यान बनाउने बताइएको थियो ।

अभियानअन्तर्गत सुर्खेत रोडका अधिकांश स्थानमा सरोकारवालाको सहकार्यमा उपमहानगरपालिकाले वृक्षरोपण गरिसकेको छ । अन्य स्थानमा पनि वृक्षरोपणलाई जोड दिने उपमहानगरले जनाएको छ । यस वर्ष जिल्ला वन कार्यालय र उपमहानगरपालिकाको साझेदारीमा सुर्खेत रोडमा २१ लाख बराबरको ट्रि गार्डसहितको बिरुवा रोप्ने तयारी भइरहेको छ । रोडबीचको बेल्टमा विभिन्न जातका ३ सय ५० बिरुवा रोप्न लागिएको हो । टोलटोलका सडक किनारमा बिरुवा रोप्ने नगर प्रमुख डा. धवलशमशेर राणाले बताए ।

‘चार वर्षभित्र नगरलाई हरियालीपूर्ण सहर बनाइनेछ,’ उनले भने, ‘नगरको विकाससँगै सौन्दर्यलाई पनि जोड दिएर कार्यक्रम सञ्चालन गरिनेछ ।’

कोहलपुर नगरपालिकाले पनि रोडबीचको बेल्टमा रेलिङ लगाएर बिरुवा रोप्ने जनाएको छ । सोझै बिरुवा रोप्दा छाडा पशुले खाइदिने हुनाले बिरुवाको संरक्षणका लागि रेलिङ लगाइने भएको हो ।

यसले वातावरण संरक्षणमा सहयोग पुग्ने नगरप्रमुख लुटबहादुर रावतले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?