कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै सहकारीमा सबै घरधुरी

बाख्रापालन, कुखुरापालन, बंगुरपालन, तरकारी खेतीमा ऋण लगानी
माधव अर्याल

सिलुवा (पाल्पा) — सहकारी खोल्न २५ जना भए पुग्छ । टोल वा समूह मिलेर खोल्ने परम्परा नै भइसक्यो । त्यस्तैमा पर्छ, पूर्वखोला गाउँपालिका १ सिलुवामा हात्तीलेक सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था । जहाँ गाउँका सबै घरधुरी सहकारीको सदस्य छन् ।

एकै सहकारीमा सबै घरधुरी

सहकारीले सिलुवाका सबै घरधुरीलाई सदस्य बनाएको छ । त्यसको मुख्य उद्देश्य अन्य सहकारी गाउँमा नखुलून् र अन्य सहकारीमा सदस्य नबनून् । उनीहरू आफ्नै सहकारीमा मासिक बचत गर्छन् । ऋण लिन्छन् र व्यवसाय गर्छन् । एक गैरसरकारी संस्थाले महिलाका लागि छुट्टै सहकारी खोलेको छ ।

तर, त्यसमा भन्दा बढी आकर्षण आफ्नै सहकारीमा छ । बाख्रापालन, कुखुरापालन, बंगुरपालन, तरकारी खेतीमा सहकारीले ऋण लगानी गर्छ । सिलाइ पसल, फेन्सी, किराना खोल्न पनि सहकारीबाट ऋण लगेका छन् । ‘हामीले सबै सदस्यको चाहना अनुसार नै बचत र ऋण परिचालन गरेका छौं,’ सहकारीका अध्यक्ष भोगबहादुर थापाले भने, ‘जसले गर्दा सबै घरधुरी समेट्ने र उनीहरूको चाहनाअनुसारको काम गर्ने गरेकाले पनि अर्को सहकारीको आवश्यकता छैन ।’

सहकारीमा १ हजार ४ सय ७० सदस्य छन् । ०५८ देखि सुरु भएको संस्थाले अहिले बृहत् रूप लिएको छ । ‘हामीले छुट्टिएर बस्नेहरूलाई पछिल्लोपटक अपडेट गरेका छैनौं,’ उनले भने, ‘होइन भने सबै घरधुरीलाई सदस्य बनाउन सफल भएका छौं ।’ उनका अनुसार सिलुवाका विभिन्न टोलमा २७ वटा संस्था गठन भएका छन् । सदस्यलाई आवश्यक पर्दा ऋण दिन्छ ।

पसल, व्यवसाय गर्ने वा अन्य काम गर्न पैसा चाहिए सहकारी आउने गर्छन् । विदेशमा बस्नेहरूले पठाउने पैसा लिनलाई रेमिटको कामसमेत गर्ने भएपछि सदस्यहरूलाई अझै फाइदा पुगेको उपाध्यक्ष मुक्तिप्रसाद श्रेष्ठले बताए । सेयर पुँजी ३४ लाख ८ हजार ५ सय छ ।

३ करोड ४९ लाखको वार्षिक कारोबार गर्ने गरेको उनले बताए । सहकारीले आफ्नै भवन बनाएको छ । सहकारीका व्यवस्थापक ज्ञानबहादुर रानाका अनुसार दुर्गम भएकाले मासिक बचत थोरै राखिएको छ । यहाँका अधिकांश महिला नै बढी फाइदा लिनेमा पर्छन् । केहीले श्रीमान् विदेश पठाउन पनि विभिन्न बहानामा ऋण लिएका छन् । तर, उद्देश्य बाख्रापालन, किरानापसल, कुखरापालन देखिन्छ । गाउँमै बाख्रा पालेर वार्षिक ७० लाख रुपैयाँ गाउँमा भित्र्याएको सहकारीको तथ्यांक छ ।

बाख्रा, खसी र बोका सहकारीमार्फत नै संकलन केन्द्रबाट बिक्री गर्छन् । बेच्नलाई पनि समस्या छैन । सहकारीकै आफ्नो संकलन केन्द्र छ । सोहीमार्फत बुटवल, भैरहवा, स्याङ्जा, तानसेन, पोखरासम्मका व्यापारी सिलुवा आउँछन् । सहकारीको सहयोगबाट नै यहाँका महिला व्यावसायिक बन्न सफल भएको सिलुवा मन्नुङकी किसान केशरी थापाले बताइन् । व्यावसायिक किसानको गोठमा अहिले १५ देखि ९० वटासम्म बाख्रा छन् । बंगुरपालन पनि फस्टाएको छ । कुखुरापालन गर्ने पनि धेरै नै छन् ।

सहकारीले व्यावसायिक बाख्रापालनका लागि तालिम, घाँस, औषधिको समेत व्यवस्था गर्छ । किसानको मागअनुसार व्यावसायिक बाख्रापालनका लागि बिनाधितो एक लाख रुपैयाँसम्म ऋण लगानी गरेको छ ।

अहिले सहकारीले युवा स्वरोजगार कोषबाट ऋणसमेत लिएको छ । पहिलो किस्तामा २५ लाख सहकारीले ऋण लिएको छ । राम्रो काम गर्न सकेमा थप २५ लाख हुँदै एक करोडसम्म दिन सकिने कोषका जिल्ला सदस्य–सचिव कृष्ण दर्नालले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?