कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वच्छ खानेपानी ‘चुनौती’

बाँके — वर्षातको समयमा स्वच्छ खानेपानी पिउनु यहाँ चुनौती बनेको छ । जताततै जलाम्मे भएकाले पाइपमा भल वा ढल मिसिने सम्भावना बढी छ । ढल र भलबाट पाइप बचाउन सके मात्रै पानी स्वच्छ राख्न सकिन्छ ।

स्वच्छ खानेपानी ‘चुनौती’

सर्वसाधारणलाई दूषित पानीका कारण हुने झाडापखाला, हैजाजस्ता रोगबाट बचाउन सकिन्छ । नेपालगन्जमा एकछिन वर्षा हुँदा पनि पानी जम्छ । त्यसैले यहाँ पानी र पाइपलाई सुरक्षित राख्न धेरै चुनौती भएको छ । यहाँ पानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान शाखाले पानी स्वच्छ राख्न ट्यांकीदेखि नै सुरक्षा अपनाएको जनाएको छ ।


वर्षातमा ब्लिचिङ पाउडरको मात्रा बढाएर हाल्ने गरेको कार्यालय प्रमुख आशिष कार्कीले बताए । ‘ट्यांकीको दैनिक रेखदेख गर्ने र खानेपानीका पाइप चुहिने छन् कि भनेर समय–समयमा अनुगमन गर्ने गरिरहेका छौं,’ उनले भने, ‘चुहिने अवस्थामा देखिए तुरुन्त मर्मत गर्दै आएका छौं ।’ यसबारे उपभोक्तालाई सचेत गराएको उनले बताए ।


उपभोक्तालाई पाइप फुटेको देखे वा पानी धमिलो आए खबर गर्न र पानी शुद्धीकरण गरेरमात्रै पिउन सार्वजनिक रूपमा आग्रह गरिएको छ । यसपटक पानीबारे गुनासो कम आएको खानेपानी कार्यालयले जनाएको छ ।


घरघरमा धारा
संस्थानले नेपालगन्ज उपमहानगरपालिकाका प्रत्येक घरमा धारा पुर्‍याउने अभियान सुरु गरेको छ । अहिले ४ हजार ६ सय उपभोक्ताका घरमा मात्रै धारा जडान गरिएको छ । तर, नगरभरि पानी पुर्‍याउन दुईवटा नयाँ आयोजनाको काम भइरहेकाले छिट्टै लक्ष्यमा पुग्ने प्रमुख कार्कीले बताए ।


अहिले संस्थानले दिनमा ३६ लाख लिटर पानी वितरण गर्दै आएको छ । यसका लागि चारवटा बोरिङ छन् । ४ लाख ५० हजार लिटर क्षमताका ट्यांकी छन् । उपमहानगरपालिका बनेसँगै सबै घरमा पानी पुर्‍याउन लागेको कार्यालयले जनायो । ‘यहाँका सबै घरमा पानी पुर्‍याउनु हाम्रो दायित्व हो,’ उनले भने, ‘यसका लागि काम गरिरहेका छौं ।’


संस्थानले अहिले कारकाँदोमा ४ लाख २० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरेको छ । पाइपलाइन भने जोड्न बाँकी छ । वाटरपार्क र रानीतलाउमा गरी दुईवटा बोरिङको काम पनि भइरहेको छ । यो ट्यांकी सञ्चालनमा ल्याउन दुई महिना लाग्ने उनले बताए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?