कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

व्यक्तिगत लगानीमा भ्यू टावर

दाङ — व्यक्तिको ४० लाख लगानीमा घोराही उपमहानगरपालिका १४ ढोडेनीमा भ्यु टावर निर्माण गरिएको छ । नमछु बौद्ध गुम्बा परिसरमा बनाइएको टावरबाट दाङ उपत्यकाको अवलोकन गर्न सकिन्छ ।

व्यक्तिगत लगानीमा भ्यू टावर

बेलायती सेनाका अवकाशप्राप्त क्याप्टेन मनबहादुर र श्रीमती दिलमाया पुनको नाममा उनीहरूको परिवारले ‘मन दिल भ्युटावर’ निर्माण गरेका हुन् । टावरको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार उद्घाटन गरे ।

उद्घाटनपछि पोखरेलले व्यक्तिगत लगानीमा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने संरचना निर्माण गर्नु उदाहरणीय काम भएको बताए । ‘बेलायती सेनामा भर्ती भएर नेपाली पहिलोपटक युरोप यात्रामा गए । नेपाल बाहिरको समाज बुझ्न पाए,’ उनले भने, ‘युवा अवस्थामा कमाएको रकम समाजसेवामा लगाउनु निकै सराहनीय काम हो । यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ।’

दाङमा सांस्कृतिक र धार्मिक पर्यटनको प्रशस्तै सम्भावना रहे पनि त्यसको उपयोग हुन नसकिरहेको गुनासो मुख्यमन्त्री पोखरेलको थियो । ‘हामीसँग नाथ सम्प्रदायको महत्त्वपूर्ण गन्तव्य रतननाथ मन्दिर छ । स्वर्गद्वारीजस्तो महत्त्वपूर्ण स्थान दाङको सिरानमा छ,’ उनले भने, ‘एउटा व्यक्तिले यति ठूलो काम गर्न सक्छन् भने सबै लागेर यी क्षेत्रको प्रचारप्रसार गर्न सके पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।’

भ्यु टावरबाट दाङ उपत्यकाको दृश्य अवलोकन गर्दै दर्शक ।तस्बिर : दुर्गालाल केसी

प्रदेशका पर्यटन मन्त्री लीला गिरीले भ्युटावरले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘हामीसँग अपार सम्पदा छन् तैपनि विपन्नजस्तो भएका छौं । हाम्रो प्राकृतिक स्रोत साधनलाई चिन्न सकेका छैनौं,’ उनले भने । पाँच वर्षमा यस क्षेत्रका मुख्य पर्यटकीय क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य बनाएर मुहार फेर्ने लक्ष्य रहेको उनले बताए । दाङमै दंगिशरण थारू राजाको दरबार रहेको स्थलमा थारू संग्रहालय निर्माण गर्ने तयारी भइरहेको उनले जनाए ।

भ्युटावर निर्माण गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको पूर्वक्याप्टेन मनबहादुरले बताए । ‘मैले समाजले सम्झिरहने केही काम गर्ने चाहना राखेको थिएँ, त्यो आज पूरा भएको छ,’ उनले भने, ‘उमेर छँदा विदेशमा सेवा गरियो । अहिले समाजले सम्झनलायक काम गर्न पाउँदा सन्तुष्टि मिलेको छ ।’

टावर चढ्न विद्यार्थीका लागि ३० र अन्यलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । टिकटबाट प्राप्त रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुदजस्ता क्षेत्रमा लगानी गरिने मनबहादुरका छोरा नरेन्द्रले बताए । टावरका लागि नियमित दुई कर्मचारी खटिने उनले जानकारी दिए । टावर क्षेत्रमा इन्टरनेटको समेत व्यवस्था गर्न थालेको उनले सुनाए ।

घोराहीको उत्तरतर्फ अग्लो भूभागमा रहेको गुम्बामा भ्युटावर निर्माण भएकाले दाङको सुन्दर दृश्य हेर्न सहज हुने नमछु गुम्बा व्यवस्थापन समिति अध्यक्ष सतबहादुर रोकाले बताए ।

नेपाल मगर महिला संघले जुटाएको जग्गामा गुम्बा निर्माण भएको हो । टावरको उचाइ ६१ फिट र भार क्षमता एक पटकमा १२ जना रहेको रोकाले जानकारी दिए ।

प्रकाशित : भाद्र ७, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?