कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै गुइँठाकै भर

नवीन पौडेल

परासी — दाउरा अभावमा पश्चिम नवलपरासीका ग्रामीण क्षेत्रका स्थानीयले गुइँठा (गोबर र भुस मिलाए बनाइने) को भरमा खाना पकाउनु परेको छ ।

अझै गुइँठाकै भर

राष्ट्रिय तथा सामुदायिक वनको पहुँचमा नभएका विपन्न समुदायका स्थानीयले गुइँठाबाटै दैनिकी चलाइरहेका छन् । आर्थिक रूपमा सम्पन्न भएकाले एलपी र गोबर ग्यासको प्रयोग गर्छन् । तर, यहाँका विपन्न समुदायका परिवारले भने दाउरासमेत पाएका छैनन् ।

सरावल गाउँपालिका, भुजहवाकी बासमती मुसहरले वर्षौंदेखि गुइँठाकै भरमा भान्सामा आगो बालिरहेकी छन् । पहिले–पहिले गुइँठा जाडो महिनामा आगो ताप्नका लागि मात्रै प्रयोग हुने गथ्र्यो । अहिले जंगलमा स्थानीयलाई प्रवेश निषेध गरिएपछि गुइँठाको भरमा चुलो बलिरहेका छन् । ‘गुइँठाबाट धेरै धूवाँ आउने गर्छ, स्वास्थ्यमा असर परे पनि गरिबीका कारण वर्षौंदेखि यसरी खाना पकाइरहेका छौं,’ उनले दुखेसो गरिन्, ‘सुधारिएको चुलो वितरण गर्ने भन्ने हल्ला चुनावका बेला सुनेकी थिएँ तर अहिलेसम्म केही भएन ।’ स्थानीयले विपन्न परिवारलाई सुधारिएको चुलो वा दाउरा उपलब्ध गराइदिन माग गरेका छन् ।

हिउँदमा गाईबस्तुको गोबर, भुस र उखुको सुकेको पात मिसाएर बनाइएको गुइँठा वर्षामा बढी प्रयोग हुने गर्छ । वर्षातमा पानीका कारण चुलो ओसिने हुनाले घरभित्र सुरक्षित स्थानमा राख्ने गरिन्छ । किन्न सक्ने परिवारले दाउरा वा ग्यासको प्रयोग गरे पनि यहाँका धेरैजसोले गुइँठालाई नै मुख्य इन्धनका रूपमा प्रयोग गरिरहेका छन् ।

जिल्लाको प्रतापपुर, भुजहवा, प्रसौनी, महेशपुर, कुश्मा, सनई, गेर्मी, ठूलोखैरटहवा, हरपुरलगायत मधेसी समुदायको बाहुल्य रहेका क्षेत्रमा यसको प्रयोग भइरहेको छ । उनीहरूले विकल्पमा अन्य ऊर्जाका स्रोत पाएका छैनन् । आर्थिक रूपमा सम्पन्न केही परिवारले समेत गुइँठाको प्रयोग गर्ने गरेका छन् ।

परम्परागत रूपमा गुइँठाको प्रयोग गर्दै आएका कारण कतिपयले आर्थिक अवस्था राम्रो भए पनि यसैको प्रयोग गर्दै आएका छन् । प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले भने गुइँठा प्रयोग गर्ने स्थानीयको संख्या कम भएको बताए । ‘सीमाक्षेत्रमा यसको प्रयोग बढी हुने गथ्र्यो,’ उनले भने, ‘केही विपन्न परिवारले पुरानै शैलीबाट गुइँठा प्रयोग गरेकाले सुधारिएको चुलो विस्तार गर्ने विषयमा छलफल भइरहेको छ ।’

गुइँठा अभाव भएको समयमा यस क्षेत्रका स्थानीयले उखुको पातलाई खाना पकाउनका लागि इन्धनका रूपमा प्रयोग गर्दै आएका छन् । मुख्य आम्दानीको स्रोत नै उखु खेती भएकाले पातलाई सुरक्षित स्थानमा राखेर त्यसैलाई गुइँठासँगै खाना पकाउन प्रयोग गर्ने गरेको सनहीका बच्चु कोइरीले बताए ।

गुइँठा प्रयोगले यस क्षेत्रका महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ । गर्मी मौसममा ससाना झुपरा घरमा गुइँठा बाल्दा आगलागी पनि हुने गरेको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?