कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुम्चिँदै घर्ती गाउँको विरासत

रोल्पा — एक समय थियो, जिल्लाको राजनीतिमा घर्ती गाउँको दबदबा थियो । जनप्रतिनिधिमा घर्तीमगरकै बाहुल्य हुन्थ्यो । उनीहरूको एकताले चुनावमा हार बेहोर्थेनन् । वडादेखि गाउँ तहका प्राय: पदमा घर्तीमगर चुनिन्थे ।

खुम्चिँदै घर्ती गाउँको विरासत

तर, अहिले उनीहरूको विरासत खुम्चिँदै छ । घर्तीगाउँमै उनीहरूको उपस्थिति न्यून बनेको छ ।

दशक लामो द्वन्द्व सकिएर राज्यको पुन:संरचना भइसक्दा पनि घर्तीमगरको राजनीतिमा प्रभावकारी पुनरागमन भएन । माडी गाउँपालिका १ को वडाध्यक्षमा ललित घर्ती निर्वाचित भए । गोपाल घर्तीमगर साबिक घर्तीगाउँ गाविसका पूर्वअध्यक्ष हुन् । उनी गाउँपालिका अध्यक्षमा उम्मेदवार बने पनि निर्वाचित भएनन् । उनलाई छिमेकी कोर्चाबाङ गाउँका नन्दबहादुर पुनले पराजित गरे । उपाध्यक्षमा प्रेम घर्तीमगरलाई पराजित गर्दै छिमेकी ओतकी धनीकला बुढामगर विजय भएकी थिइन् ।

बाक्लो बसोबास भएकाले गाउँ र गाविसको नामै घर्तीगाउँ थियो । राणा शासनदेखि घर्तीमगरले राजनीतिक नेतृत्वको अवसर पाएका थिए । ओसे घर्तीमगरले ०१८ मा तत्कालीन पञ्चायतको नेतृत्व गर्ने मौका पाएका थिए । उनी कालाशेष र थुम मौजाको अगुवाइ गर्दै कोटगाउँस्थित खोलाबाङको कार्यालयबाट ६ र १२ गाउँकै मुखिया र जिम्मावालको अध्यक्ष बनेका थिए ।

पञ्चायतदेखि बहुदलसम्म अमृतबहादुर, पत्रबहादुर, सन्तवीर, हरिप्रसाद, कृष्णबहादुर र गोपाल घर्तीमगरले निर्वाचित भएर घर्तीगाउँ पञ्चायत र गाउँ विकास समितिको नेतृत्व गर्ने अवसर पाए । अमृतबहादुर ओसेका छोरा हुन् भने कृष्णबहादुर नाति । घर्तीगाउँमा उनीहरूका ४ पुस्ता नेतृत्वमा रहँदै आएका थिए । कांग्रेस जिल्ला समितिका पूर्वसभापति कृष्णबहादुर घर्तीमगरका अनुसार लामो समयसम्म नेतृत्वमा घर्तीमगर नै थिए । ‘बहुदल आएपछि त्यो क्रम टुट्यो,’ उनले भने ।

आस्थामा विभाजित
साबिक जुगार, ओत, तालाबाङ, भाबाङ र कोर्चाबाङ गाविसको बीचमा घर्तीगाउँ छ । पहिले एकजुट घर्तीमगर अहिले विभिन्न राजनीतिक आस्थामा विभाजित छन् । ०५४ को निर्वाचनमा गाविस अध्यक्ष जितेका गोपालले अहिले समय फेरिएको बताए । ‘हामी राजनीतिबाट पाखा लागेजस्तो भयो,’ उनले भने, ‘हामीबीच एकता रहेन ।’ घर्तीगाउँको प्रधानपंच र अध्यक्षमा अमृतबहादुर र सन्तवीरले दुई–दुई पटक निर्वाचित भए । ‘धेरै पटक निर्विरोध निर्वाचित हुने अवसर पायौं,’ सन्तवीरले सम्झे, ‘साबिक गाविसको केन्द्र गाउँ भएकाले हाम्रो प्रभाव पर्नु स्वाभाविक थियो । विकासमा हाम्रो भूमिका महत्त्वपूर्ण छ ।’

पंचायत र बहुदलमा गरी अमृतबहादुर दुईपटक साबिक जिविस सभापति भए । उनी सभापति भएका बेला तत्कालीन माओवादीले उनका छोरा विजयलाई अपहरण गरे । विजय पछि माओवादी कार्यकर्ता बने । माओवादी फुटपछि मोहन वैद्य नेतृत्वमा लागेका विजय पुर्खा र बाबुको पार्टी कांग्रेसमा फर्किएका छैनन् । कांग्रेसमा गोपाल, गणेश र नेकपामा इन्दबहादुर, सन्तवीर, ललितलगायत सक्रिय छन् ।

व्यवसायी पशुपति घर्तीमगरले आफैं विभाजित भएकाले दु:ख पाएको बताए । पञ्चायत र बहुदलमा कांग्रेस राजनीतिमा सक्रिय उनीहरू माओवादीले ०५२ फागुन १ मा जिल्लाबाट सशस्त्र द्वन्द्व सुरु गरेपछि विभाजित भएका थिए । पञ्चायतमा दुईपटक घर्तीगाउँ प्रमुख भएका सन्तवीर माओवादीमै लागे ।

बहुदलपछि ०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा कृष्णबहादुर निर्विरोध गाविस अध्यक्ष बनेका थिए । गाउँमा घर्तीमगरको संख्या २ हजारभन्दा बढी छ ।

प्रकाशित : भाद्र १०, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?