कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँध मर्मत नहुँदा आकाशे पानीको भर

बाँध भत्किएपछि दुई सयभन्दा बढी किसानले सिँचाइ गर्न पाएका छैनन् 
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सरावलस्थित जीर्ण पेटबनियाँ कुलो र बाँध मर्मत नहँुदा स्थानीय मर्कामा परेका छन् । सरावल ३ गोइनीका स्थानीयले सिँचाइ गर्दै आएको कुलोको बाँध वर्षौं पहिले भत्किए पनि अहिलेसम्म मर्मत भएको छैन ।

बाँध मर्मत नहुँदा आकाशे पानीको भर

बाँध भत्किएपछि दुई सयभन्दा बढी किसानले सिँचाइ गर्न पाएका छैनन् । उत्तर चुरे पर्वतबाट बगेर आएको सालबास घोलको पानी स्थानीयले बाँध बाँधेर कुलोमार्फत सिँचाइ गर्दै आएका थिए । ‘पहिले स्थानीय आफैंले श्रमदान गरेर मर्मत गरेका थियौं,’ स्थानीय उमेश हरिजनले भने, ‘वर्षौं हुँदा पनि सरकारी निकायबाट ध्यान नदिँदा अहिले गाउँलेले पनि श्रमदान गर्न छाडे ।’ कृषिका लागि उर्वर मानिने सरावलमा व्यावसायिक रूपमा तरकारी तथा अन्य नगदेबालीको खेती हुने गर्छ ।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखे पनि जीर्ण रहेका कुलो तथा सिँचाइ आयोजनामा लगानी नगर्दा समस्या परेको हो । स्थानीयले छिटोभन्दा छिटो बाँध मर्मत गरेर भत्किएको कुलो पनि मर्मत गरिदिन माग गरेका छन् ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले गाउँपालिकाभरिको पोखरी र कुलोको लगत संकलन गरेर मर्मतसम्भार वा नयाँ बाँध निर्माण गर्नुपरे पनि आफूले सहयोग गर्ने बताए । ‘एकैपटक सबै कुलो तथा सिँचाइ आयोजना पूरा गर्न नसकिएला,’ उनले भने, ‘प्राथमिकताका आधारमा विस्तारै काम हुनेछ ।’ पेटबनियाँ कुलो तथा बाँध मर्मत गरेर सिँचाइ गर्न सकेमा यस क्षेत्रको करिब डेढ सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

खेतको डिलमा नै कुलो भए पनि पानी नआउने भएपछि स्थानीय आकाशे पानीको भरमा बस्नुपर्ने अवस्था छ । गाउँपालिको ध्यान उत्पादनमुखी कार्यक्रमभन्दा पनि बाटो निर्माण र अन्य भौतिक संरचना निर्माणमा मात्र केन्द्रित भएको छ ।

बर्सेनि कटान र बालीनाली डुबानको समस्यामा परेका पश्चिम नवलपरासीको सुनवल ८ शान्तिटोलका बासिन्दाको खेती यस वर्ष जोगिएको छ । डुबान हुँदा बर्सेनि धान बाली बगाउने र अन्य बाली पनि राम्रोसँग उत्पादन हुन नसक्ने समस्या भएपछि स्थानीयले आफैं पानीको निकास गराएपछि खेती डुबेको छैन । शान्तिटोल हुँदै बग्ने खपटे घोलामा अत्यधिक पानी जमेर भरिएपछि वरपरका खेतमा बाढी पसेर नोक्सान पुग्ने गरेको थियो ।

पानीको निकास गराएर अन्नपात लगाउने र सोही घोलालाई व्यवस्थित गरेर सिँचाइ गर्ने सोच बनाए पनि बजेट अभावका कारण वर्षौंदेखि हुन सकेको थिएन ।

नगरपालिका तथा अन्य निकायले विकट क्षेत्र भएकाले समस्या समाधानका लागि पहल नगरेको भन्दै किसान नगरपालिका पुगेका थिए । नगर प्रमुख भीमबहादुर थापालाई समस्या अवगत गराएपछि थापाले आफ्नै खर्चमा कुलो निर्माण गरेर पानीको निकास गराएका छन् । ‘किसानहरूको समस्यबारे यसअघि मलाई जानकारी थिएन, यस वर्षको बजेटमा वडा नम्बर ८ को कुलो तथा घोला व्यवस्थित गर्ने शीर्षकमा बजेट पनि विनियोजन भएको रहेनछ,’ उनले भने, ‘तत्काल पानीको निकास गराएर धान बाली जोगाउनुपर्ने भएकाले आफ्नै खर्चमा कुलो खनेर पानीको निकास गर्न सघाएको मात्र हुँ ।’

कुटो/कोदालोले खनेर पानीको निकास गराउन महिनाैं लाग्ने भएपछि डोजर लगाएर तत्कालै समस्या समाधान गरिएको स्थानीय शुकबहादुर तामाङले बताए ।

‘बर्सेनि वर्षाको समयमा घोलाको पानीले ५० आैं बिघा जमिनमा लगाइएको खेती नोक्सान हुने गरेको थियो,’ उनले भने, ‘अहिले घोलाको पानीलाई दुईवटा कुलामार्फत निकास दिएर केही व्यवस्थित गर्ने प्रयास गरिएको छ ।’

नगर प्रमुखले आर्थिक सहयोग गरेपछि स्थानीय पनि अग्रसर भएर कुलो निर्माणमा लागि परेका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?