कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै पञ्चेबाजाको धुन

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १८, ढोडेनीका चामबहादुर दमाई कुनै बेला गाउँका हरेकजसोको घरमा दमाहा बजाउन पुग्थे । चाडपर्व, विवाह, व्रतबन्ध, मलामीजस्ता संस्कारमा बाजाको अनिवार्य आवश्यकता हुन्थ्यो ।

हराउँदै पञ्चेबाजाको धुन

उनी दमाहा बजाउन नगएर सुखै थिएन । केही वर्षयता भने उनको दैनिकी फेरिएको छ । बजारमा हुने जुलुस, सभा र औपचारिक कार्यक्रममा मात्रै उनी दमाहा बजाउन पाउँछन् ।

‘अचेल गाउँघरमा पञ्चेबाजाको महत्त्व छैन । चाडपर्व र विवाहमा पनि गीत बजाएर नाच्न थाले,’ दमाईले भने, ‘यो बाजाको भाउ घट्न थाल्यो । नेताहरू आएपछि र बजारमा कार्यक्रम भएपछि मात्रै हाम्रो माग हुन्छ, नत्र खाली नै बस्छौं ।’ १२ वर्षको हुँदा नै बुबाको पछि लागेर दमाहा बजाउन थालेका दमाईले ५७ वर्षसम्म निरन्तर यही पेसा गरे ।

तीन पुस्तादेखि परिवारले पञ्चेबाजासँगै जीवन बिताइरहेको अनुभव उनले सुनाए । ‘मेरो त अझै रहर मरेको छैन । ज्यान पाल्ने मात्रैभन्दा बाजाको पनि माया लाग्छ । यो बाजालाई बचाउन पाए हुन्थ्योजस्तो लाग्छ,’ उनले भने, ‘गाउँघरमा यसको प्रयोग हुन छोडेपछि कसले बचाउला ? सबैतिर क्यासेट र भिडियो मात्रै बज्छन् । पञ्चेबाजाको धुनै बचाउन गाह्रो भो ।’

पञ्चेबाजाको धुनले मौलिक संस्कृतिको रक्षा गर्ने ढोडेनीकै महेन्द्र नेपालीले बताए । बाजाको उपेक्षा हुँदै गएकामा उनले दु:ख पोखे । ‘यो बाजा बजाउँदा गाउँको शोभा बढ्छ । धुन नै मौलिक खालको हुन्छ । डेग बजाएर आउने धुनले हाम्रो संस्कृतिलाई चौपट पार्‍यो,’ उनले भने, ‘यो बाजा बचाउन अब सबैले ध्यान दिनुपर्छ । सबैले हेला गर्न थाले भने एक दिन यसको अस्तित्व नै समाप्त हुनेछ ।’

अरू समुदायको सोचाइ र व्यवहार अझै पनि विभेदकारी नै रहेको उनले गुनासो गरे । बाजा बजाउन जाँदा पनि सीप र कलाको सम्मान हुन नसकेको उनले बताए । ‘बाजा बजाउन जाँदा पनि दमाई भनेर हेपाहा प्रवृत्तिले हेरिन्छ । यति ठूलो बाजा बोकेर बजाउँदै घामपानीमा हिँड्नुपर्छ तर श्रमको उचित मूल्य पाइँदैन,’ उनले भने, ‘हामीलाई एकछिनका लागि मात्रै प्रयोग गरिन्छ । नयाँ पुस्ताले त झन् पुरानो बाजाबारे थाहा पाएकै छैन । उनीहरूलाई मोबाइलमा बज्ने गीत मात्रै थाहा छ ।’

पञ्चेबाजा बजाउन धेरै मानिस चाहिने भएकाले यसलाई निरन्तरता दिन समस्या भइरहेको नेपालीले बताए । अहिले घरपरिवारकै सदस्यहरू मिलेर बजाउनुपर्ने बाध्यता रहेको उनले बताए । अरू कोही नभएपछि श्रीमती र छोराछोरीलाई पनि बाजा बजाउन लगाएको उनले सुनाए ।

अहिले बाजा बचाउने जिम्मेवारी परिवारमा सीमित भएको मेहन्द्रकी श्रीमती राजकुमारीले बताइन् । ‘अरू कोही पनि बाजा बजाउन चाहँदैनन् । परिवारकै सदस्य मिलेर बाजाको मर्म पूरा गरेका छौं,’ उनले भनिन्, ‘छोरी निशालाई पनि बाजा बजाउन हिँडाइरहेका छौं । वर्षौंदेखि गर्दै आएको पेसाको माया लाग्छ । छोड्न पनि सकिएको छैन ।’

प्रकाशित : भाद्र १२, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?