कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासे संस्थालाई पारदर्शी र जवाफदेही बन्न आग्रह

बुटवल — सरोकारवालाले विकासमा साझेदारी गर्ने संस्थालाई पारदर्शी र जवाफदेही हुन आग्रह गरेका छन् ।

विकासे संस्थालाई पारदर्शी र जवाफदेही बन्न आग्रह

सामाजिक विकास मन्त्रालय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बुधबार बुटवलमा आयोजना गरेको विकास संवाद कार्यक्रमका सहभागीले नतिजा देखाउने काम र तथ्यांक आए मात्रै विकासे संस्थाप्रति सरकारी संयन्त्र र नागरिक सकारात्मक हुने बताए ।

प्रभावकारी विकासका लागि सरकार र साझेदार संस्थाले समन्वयमा काम गर्ने भन्दै मन्त्रालयले कार्यक्रम आयोजना गरेको हो । प्रदेश सरकारले अगाडि सारेका महत्त्वाकांक्षी योजना पूरा गराउन साझेदारी संस्थाको आवश्यकता रहेको बताउँदै सामाजिक विकासमन्त्री सुदर्शन बरालले सरकारसितको समन्वयमा सहजताभन्दा आवश्यकता हेरेर काम गर्न निर्देशन दिए । ‘सही सूचना प्रवाह र सरकारी निकायसँगको समन्वयमा अभाव देखिएको छ,’ मन्त्री बरालले भने, ‘परिणामामुखी कामका लागि काम सकेपछि मात्रै होइन, सुरुदेखि नै सरकारी निकायसित समन्वय गर्नुपर्छ ।’

आन्तरिक मामिला मन्त्रालयका उपसचिव जनार्दन पौडेलले साझेदार संस्थाले मुलुकको विकास र नागरिक चेतनाको क्षेत्रमा ठूलो भूमिका खेलेको बताए । ‘कतिपयले भएको उपलब्धि गुम्ने र राष्ट्रियता मर्ने गरी पनि विदेशी दातृनिकायबाट सहयोग माग्ने गरेको सुनिन्छ,’ उनले भने, ‘साझेदार संस्थाले यस्तो गर्नु हुँदैन ।’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका सचिवालय सदस्य भोलाप्रसाद दाहालले विकासमा साझेदार गर्ने संस्था सरकारसित लुकेर नभई समन्वय गरेर काम गर्न खोजेको बताए । ‘सुशासन, जवाफदेही र पारदर्शी हुन अनुगमन र समन्वयमा काम गर्न सकिन्छ,’ दाहालले भने, ‘तर, विकासमा सहयोग गर्ने संस्थासित व्यापारिसितजस्तै लिने कर हटाउनुपर्छ ।’

प्रदेश ५ का १२ जिल्लामा १२ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कार्यरत छन् । तिनले महिला बालबालिका, स्वास्थ्य, शिक्षा, प्रकोप व्यवस्थापनलगायत १० क्षेत्रमा काम गरिरहेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव पुष्करराज पन्तले सबै साझेदार संस्थाका काम र परिणाम हेरेर सरकारले थप सहकार्य र समन्वयका योजना बनाउने बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?