१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

गणमा सारिए गहना

तानसेन (पाल्पा) — रणउजिरेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिले मन्दिरका सबै गरगहना नेपाली सेनाको तानसेनस्थित गोरख दल गणमा सुरक्षित गर्न लगेको छ । तानसेन ३ टक्सार टोलस्थित पुजारीको घरमा रहेका भगवतीलाई चढाएका गहना सेनाको गणमा सारेको मन्दिर व्यवस्थापन समितिले जनाएको हो ।

गणमा सारिए गहना

व्यक्तिको घरमा रहेको भगवतीको सम्पत्ति असुरक्षित रहेको गुनासो बढेपछि गहना सेनाको ब्यारेकमा राख्ने निर्णय अनुसार लगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए । ‘विगतदेखि यस विषयमा कुरा चल्दै आएको थियो,’ उनले भने, ‘सबै अभिलेख राखेर गरगहना सुरक्षित गरिएको छ ।’ भगवती मन्दिरका मूल पुरोहित हिक्मतबहादुर वज्राचार्यको जिम्मामा सबै गहना थिए । व्यक्तिको घरमा सबै हिसाबले असुरक्षित हुने भएपछि तानसेन टुँडिखेलस्थित गोरख दल गणमा राखिएको उनले बताए । प्रहरी, प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, पुजारी, मूल पुरोहित, नगरपालिकालगायतको उपस्थितिमा गहना गणमा सारिएको छ ।


२०६६ साउन १० गतेको अभिलेख अनुसार रुजु गरी सोहीअनुसार सुरक्षित गरिएको हो । त्यसअघिको अभिलेख भेटिएको छैन । त्यसैको आस्था र विश्वासमै सबै गहनाको तथ्यांक राखेको अध्यक्ष उदयले बताए । विभिन्न धातुले बनेका ४६ किसिमका ६८ थान गहना रहेका छन् । तीन पक्षीय साँचो लगाएर सेनाको ब्यारेकमा गहना राखिएको उनले बताए ।


मुख्य गहनामा चाँदीको पातामा सुन मोडिएको मुकुट, विचबन तायोकोसासमेतको विचबन, सुनको छापे औंठी, कण्ठ श्रीमाला चाँदीको तारमा उनेको रहेका छन् । यस्तै, चार थान सुनका चुरा, चाँदीको सिक्रीमा मुण्डमाला १० मा सुनको पाताले मोगिएको माला रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । ३६ वटा मुण्डमाला बीचमा एक सुनको मुण्डा, चाँदीका चार थान मुण्डमाला, चाँदीकै गुर्जा, चाँदीको थाल, पाउजु, पञ्चपात्र, आचमानी, चन्दन खोरी, कम्मर पेटी, खप्परू, डम्बरू, झारी, आमखोर, आचमानी, जलदानी पनि छ । पित्तलको रथमा राख्ने गजुर, पित्तलको थाल, सुनको जलप भएको रथमा राख्ने पटार, चाँदीको किकम्पालगायत छन् । सुनको तिलहरी, सुनको असर्फी, औंठी, बिजबन्दी माला, चाँदीसहितका गरगहना छन् ।


गत वैशाख ११ गते बसेको बैठकले भगवतीका गहना पुजारीको घरबाट नेपाली सेनाको ब्यारेकमा सुरक्षितसाथ राख्ने निर्णय गरेको थियो । ‘बहुमूल्य यी गरगहना मन्दिर स्थापनाताकादेखि पछिल्लो समयमा भगवतीको दर्शन गर्ने क्रममा विभिन्न व्यक्ति तथा संस्थाले चढाएका हुन्,’ मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले भने । गहना रहेको सेफ, बाकस र ढोकाको साँचो समितिका अध्यक्ष, सचिव र प्रशासन कार्यालयमा राखिएको उनले बताए ।


बोर्लाङकाजीका सन्तान गणेशबहादुर थापा २०३० सालमा गुठी अवलोकन गर्न आएका थिए । त्यही बेला दक्षिणतिर काठको खिड्की काटेर भगवतीको गुठीका गहना चोरी भएका थिए । त्यो प्रकरणले प्रहरीमा मुद्दाको रूप ग्रहण गरेपछि केही व्यक्ति थुनामा परेका थिए । पछि छुटेका हुन् । त्यसपछि ०३३ सालमा गुठी संस्थानले मन्दिरमा रहेका ६९ किसिमका १ सय २५ थान गहना र ४५ थान चाँदीका सिक्का लगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उदयले बताए । गुठी संस्थानले लगेका गहनाहरू उजिरसिंह र विभिन्न व्यक्तिले चढाएका हुन् । सुन, चाँदी, मोती, तामा, पित्तलका समेत त्यसमा थिए । यी गहगहना अहिले कहाँ छन् र कुन अवस्थामा छन्, समितिको जानकारीमा छैन ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?