गाउँगाउँमा हरेरी पूजा

करिश्मा चौधरी

बाँके — संस्कृतिका धनी मानिने थारू समुदायमा चाडपर्वको रौनक सुरु भएको छ । केही दिनअघि मात्रै उक्त समुदायले गुरही पर्व मनायो ।

बााकेमा थारू समुदायमा मनाइने गुरही पर्वका लागि ढकियामा राखिएको भुटेको गेडागुडी र कपडाको टुक्राको गुडिया । तस्बिर : करिश्मा

गाउँगाउँमा हरेरी पूजाको चहलपहल सुरु भइसकेको छ । नजिकिँदै गरेको कृष्ण जन्माष्टमी, अटवारीको तयारी पनि तीव्र छ ।

गुरही पर्वबाट थारू चाडपर्वको सुरुआत भएको मानिन्छ । गुरही बालपर्व हो । गुडिया र भुटेको मकै, चना, धानलगायत गेडागुडी ढकियामा राखेर चोक या बडघरको आँगनमा भेला भएर रमाइलो गरी मनाउने गरिन्छ । यस पर्वमा आफू र आफ्नो साथीलाई सताउने शक्तिलाई लट्ठीले हानेर भगाउने गरिन्छ ।

Yamaha

गुरही पर्व मनाए बालबालिकालाई नराम्रो शक्तिबाट बचाउन सकिन्छ भन्ने थारू समुदायको विश्वास छ । खेतीपातीको काम सकिएपछि खेतमा धान, मकै राम्रो उब्जनी होस्, रोग किरा नलागोस् भनेर थारू समुदायमा मनाउने अर्को पर्व हो हरेरी । खेती गर्दा सबै ध्यान काममा मात्रै जाओस् भनेर गाउँमा नाचगान गरिँदैन ।

खेतीपातीको काम सकिएपछि नाचगानको अवसर खुलाउन गाउँका सबै मादल जम्मा गरेर गुर्वाले मन्त्र पढ्छन् । अनि, नाचगान सुरु हुन्छ । रमाइलो गर्ने पर्वका रूपमा यसलाई लिइन्छ । त्यसै दिन अग्निपूजा पनि गरिन्छ । यो पर्व गाउँअनुसार फरकफरक दिनमा मनाइन्छ ।

कृष्ण जन्माष्टमीका अवसरमा अष्टिम्की पर्व मनाइँदै छ । यो दिन थारू समुदायमा फरक रौनक हुन्छ । बिहानै नुहाएर व्रतालु आफ्नो पूजा सामग्री जुटाउँछन् । अष्टिम्की चित्र तयार गर्छन् । यसको खास रौनक त्यतिबेला सुरु हुन्छ, जब थारू महिला आफ्नो मौलिक वेशभूषामा पूजा गर्न निस्कन्छन् ।

पूजा गर्नुभन्दा पहिला आफ्नो घरको देउता कोठाबाट माटोको पालामा बत्ती बालेर निस्कन्छन् । थालमा चामल, पालाको बत्ती, वरिपरि घुन्यासर फूल र अमला अनि हातमा काँस अथवा पित्तलको लोटामा जल लिएर गाउँको बडघरको घरमा बनाएको अष्टिम्की चित्रमा पूूजा गर्छन् ।

मौलिक वेशभूषामा सजिएका बालिका, किशोरी, युवती अनि विवाहिता महिलाले अष्टिम्की पूजा गरिरहेको त्यो दृश्य निकै आकर्षक देखिन्छ । सिन्दूरले चित्रमा रहेका पात्रलाई टीका लगाइन्छ । लोटाको जल अनि घिउ आगोमा धुपाइन्छ । धुपाइ सकेपछि पहिलो दिनको पूजा सकिन्छ । अष्टिम्की गीतमा कृष्ण भगवानको जीवनका हरेक घटना समावेश गरिने थारू अग्रज रामलखन थारू बताउँछन् ।

गीतमा हलो बनाउनेदेखि सुरु गरेर कृष्ण जन्मँदाको पीडा, उनको बाल्यकालजस्ता सबै कुरा समावेश गरिने थारूले बताए । व्रतालुले रातभरि दियो बालेर गीत गाइरहन्छन् । उनीहरूले बालेको दियो रातभरि बलिरहनुपर्छ भन्ने मान्यता छ ।

थारू समुदायमा अष्टिम्कीलाई विशेष पर्व मानिन्छ । पहिले सबैले मनाउने गरे पनि अहिले विशेष गरी महिलाले मनाउँछन् । अष्टिम्की व्रत बसेपछि राधाकृष्णको जस्तै जोडी पाउने विश्वास गरिन्छ । अष्टिम्कीले थारू समुदायमा विशेष मान्यता राख्छ ।

तर, पछिल्लो समयका पुस्तामा भने अष्टिम्कीको मान्यताबारे थाहा नभएको थारू अग्रज रामकिसन थारूले बताए । ‘अचेलका बच्चा व्रत बस्छन् । पूजा गर्छन् । तर, अष्टिम्की किन मनाउँछौं भन्ने थाहा पाएका छैनन्,’ उनले भने, ‘अहिलेको पुस्ताले रहरै रहरले मात्रै अष्टिम्की मनाउने गरेका छन् ।’

केही दिनपछि अटवारी पर्व मनाइन्छ । जसमा सूर्यदेवको पूजा गरिन्छ । यस पर्वमा बिहानै उठेर नुहाइसकेपछि तामाको लोटाको पानी सूर्यदेवलाई चढाइन्छ । यस दिन थारू समुदायका महिला र पुरुष व्रत बस्छन् । विशेष गरी पुरुषले मनाउँछन् । अटवारीमा ५ वा ७ वर्ष नियमित व्रत बसेर पूजा गरे मागेको पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कक्षा दोहोर्‍याएर इन्जिनियरिङ

करिश्मा चौधरी

बाँके — जिल्लाको खजुरा गाउँपालिका ३ की पुनम शर्मा सानैदेखि इन्जिनियर बन्न चाहन्थिन् । अरूभन्दा फरक बनेर देखाउने चाहना थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले इन्जिनियरिङ पढ्ने सपना पूरा हुँदैनजस्तो लागेको थियो । घर नजिक सामुदायिक विद्यालयमै सिभिल इन्जिनियरिङको पढाइ सुरु भएपछि धोको पूरा भएको छ ।

ज्ञानोदय माध्यमिक विद्यालयमा इन्जिनियरिङको नि:शुल्क पढाइ हुन्छ । यस्तो पढाइ कक्षा ९ देखि सुरु हुन्छ । उनलाई सुरुमा जानकारी भएन । उनले ९ कक्षा उत्तीर्ण गरिसकेकी थिइन् । तर, कक्षा १० पढिनन् । फेरि कक्षा दोहोर्‍याएर इन्जिनियरिङ पढ्न थालिन् । ‘निजीमा पैसा तिरेर पढ्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘आफ्नै विद्यालयमा पढ्न पाउँदा खुसी छु ।’


खजुरा ५ का सरोज श्रीवास्तव पनि यही विषय पढ्दै छन् । सानैदेखि इन्जिनियर बन्ने सपना बोकेका उनले गाउँकै सामुदायिक विद्यालयमा पढ्न पाउँछु भन्ने कल्पना पनि गरेका थिएनन् । अवसर पाएपछि औधी खुसी छन् । ‘धेरै शुल्क तिरेर निजी कलेजमा पढ्न गाह्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले सजिलै पढ्न पाएँ । खुसी छु ।’ पुनम र सरोजलाई मात्रै होइन सामुदायिक विद्यालयमा सिभिल इन्जिनियरिङको पढाइ सुरु भएपछि यस क्षेत्रका धेरै विद्यार्थी तथा अभिभावकलाई सहज भएको छ । निजी शैक्षिक संस्थामा महँगो शुल्क तिरेर पढ्न नसक्ने विपन्न विद्यार्थीलाई सहयोग पुगेको छ ।


०७३ सालदेखि विद्यालयमा सिभिल इन्जिनियरिङको पढाइ सुरु भएको हो । कक्षा ९ देखि १२ सम्म चारवर्षे कोर्स सञ्चालन गरिएको छ । एक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विषय पढाउने विद्यालय भनिएपछि आफूहरूले सिभिल इन्जिनियरिङको माग गरेको प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए । सरकारको शिक्षा विभाग अन्तर्गत यहाँ यसको पढाइ सुरु भएको हो । जिल्लामा कुनै पनि सामुदायिक विद्यालयमा यस्तो विषयको पढाइ नभएकाले आफूहरूले माग गरेको उनले बताए । सिभिल इन्जिनियरिङ पढ्न स्थानीयसँगै सल्यान, हुम्ला, कालिकोटबाट विद्यार्थी आउने गरेको प्रधानाध्यापकको भनाइ छ ।


पढाइ सुरु गरेपछि विपन्न परिवारका विद्यार्थीले पनि पढ्न पाएको उनी बताउँछन् । विशेषगरी निजी कलेजमा महँगो शुल्क तिरेर पढ्न नसक्ने विद्यार्थीलाई सहयोगी भएको उनले बताए । ‘नि:शुल्क कक्षा, पढाउने दक्ष शिक्षक तथा पर्याप्त प्रयोगात्मक कक्षा हुने भएकाले विद्यार्थीमैत्री छ,’ प्रधानाध्यापक सापकोटाले भने, ‘सामान्य ल्याब चार्ज मात्रै लिन्छौं ।’ राम्रो विषय भए पनि सर्वसाधारणलाई जानकारी दिन नसकिएको विद्यालयका प्राविधिक विषय संयोजक खिमलाल बरालले बताए ।


‘सामान्यतया प्राविधिक विषय भनेपछि एसईई दिएपछि पढ्छन् भन्ने बुझाइ छ,’ उनले भने, ‘तर, यहाँ सिभिल इन्जिनियरिङको पढाइ ९ कक्षादेखि नै सुरु हुन्छ ।’ ९ कक्षामा भर्ना गर्दा ४८ जनाको कोटा थियो । अहिले यस विषयमा पाँच/सात जना कम रहेको उनले बताए ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT