कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा क्लबद्वारा विद्यालयमा शिक्षक

हरि गौतम

रुकुमपूर्व — जिल्लास्थित एक युवा क्लबले स्थानीय विद्यालयका लागि शिक्षक उपलब्ध गराएको छ । भूमे गाउँपालिका २ गाबाङको सल्लेरी जनविकास युवा क्लबले आफैं तलब बेहोरेर स्थानीय हिमालय आधारभूत विद्यालयलाई शिक्षक उपलब्ध गराएको हो ।

युवा क्लबद्वारा विद्यालयमा शिक्षक

पर्याप्त शिक्षक नभएका कारण पठनपाठनमा समस्या भएपछि शिक्षक नियुक्त गरेर पठाइदिएको क्लबका अध्यक्ष दिलमान बुढाले बताए ।

‘विद्यालयमा शिक्षक अभाव हुँदा गाउँकै केटाकेटीले समस्या भोग्नुपरेपछि थोरै भए पनि सहयोग होस् भनेर शिक्षक नियुक्त गरेर पठाइदिएका छौं,’ बुढाले भने, ‘आशा छ, यसबाट पक्कै पनि विद्यालय र बालबालिकालको सिकाइमा टेवा पुग्नेछ ।’

बालशिक्षादेखि ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा रुजी बुढालाई मासिक ५ हजार रुपैयाँका दरले तलब बेहोर्ने गरेर पठाइएको छ । क्लबले देउसीभैलोबाट संकलित रकम, श्रम गरेर जम्मा गरेको रकम तथा विभिन्न ठाउँबाट क्लबलाई आएको सहयोग रकमको ब्याजबाट शिक्षकको तलब व्यवस्थापन गर्ने गरी योजना बनाएको छ ।

अहिले क्लबले तीन लाख रुपैयाँ लगानी गरेको छ । सोको ब्याजबाट विद्यालयमा शिक्षक खटाइएको हो । ‘पाँचवर्षे कार्ययोजना बनाएर विद्यालयमा शिक्षक नियुक्त गरिएको छ, विद्यालयको अवस्था सुधार हुँदै गएमा शिक्षकको तलब बढाउनेदेखि विद्यालयमा थप सहयोग गर्ने पनि क्लबले योजना बनाएको छ,’ अध्यक्ष बुढाले भने ।

पाँच जना शिक्षक कार्यरत रहेको यस विद्यालयमा अब शिक्षकको संख्या ६ पुगेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई शिक्षक उपलब्ध गराइएको क्लबले जनाएको छ ।

प्रधानाध्यापक झगबहादुर श्रेष्ठले सल्लेजरी जनविकास युवा क्लबले विद्यालयमा शिक्षक पठाइदिएको बताए । शिक्षकको संख्या थपिएपछि पठनपाठनमा सहजता हुने श्रेष्ठको भनाइ छ ।

क्लबले फोहोर व्यवस्थापन गर्न भन्दै विद्यालय परिसरका साथै गाउँमा पनि खाडल तयार पारेको छ । खाडलमा कुहिने र नकुहिने वस्तु राख्ने, कुहिनेबाट मल बनाउने र नकुहिने खाडलमा जम्मा भएको फोहोरलाई पुन: व्यवस्थापन गरिने क्लबका सचिव जयमान बुढा मगरले बताए ।

प्रकाशित : भाद्र १९, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?