गोठबाटै खेदिए गाई

ठाकुरसिंह थारु

नेपालगन्ज — पहिले जति धेरै गाई पालिन्थे त्यति नै धेरै धनीमा गनिन्थे । दूधका लागि र खेतीपातीमा प्रयोग गर्ने मल बनाउन धेरै गाई पाल्ने चलन थियो तर हाल समय फेरिएको छ ।

नेपालगन्ज—कोहलपुर फोरलेन सडकमा छाडा गाई । तस्बिर : कान्तिपुर

सहरमा मात्रै होइन गाउँघरमा पनि गाई पाल्न छाडिएको छ । नि:शुल्क दिए पनि कोही लिन तयार छैनन् । तिहारमा गाईलाई लक्ष्मीका रूपमा पूजा गरिन्छ । राष्ट्रिय जनावर गाईलाई नै मानिएको छ ।

मर्नुअघि वैतरणी तर्न गाईकै पुच्छर समाउने हिन्दु परम्परा छ । विवाहमा दान गर्ने चलन थियो तर त्यही गाई गोठबाट खेदिएका छन् । छाडा भएपछि किसानका अन्नबालीमा नोक्सानी हुन थाल्यो । जताजतै लखेटालखेट छ । जंगलमा लगेर छाडिए पनि गाउँमा बसेको बानीले फेरि फर्किने गरेका छन् ।

Yamaha

बाँके र बर्दियाका सहर र गाउँमा छाडा गाई–गोरुको आतंक छ । छाडा गाई धपाउनैका लागि गाउँहरूले आलोपालो लगाएका छन् । केहीले पारिश्रमिक दिएर कर्मचारी राखेका छन् । ‘पहिले गाई पाल्दा किसानले गौरव गर्थे । धार्मिक कारणले पनि सम्मान जनाउँथे,’ बाँके कोहलपुर नगरपालिका पिपरीका सुन्दर चौधरी भन्छन्, ‘पहिले एउटै घरमा सयभन्दा बढी गाई पालिन्थे । हाल गाई पाल्ने चलन हरायो ।’ उनका अनुसार गाई कौडीको भाउमा पनि बिक्री हुँदैन । जसका कारण किसानले गोठबाट विस्थापित गरेका हुन् ।

जथाभावी बस्ती विस्तारले चरण क्षेत्र खुम्चिएको छ । रासायनिक मल बजारभरि पाइन थालेको छ । दूधका लागि विकासी गाई–भैंसी पाल्न थालिएको छ । जसका कारण रैथाने (लोकल) गाईको अस्तित्व नै संकटमा परिसक्यो । हिन्दु धर्मको लक्ष्मी र राष्ट्रिय जनावरको सम्मान हुनुपर्नेमा बालीनाली खाइदिएको भन्दै धारिलो हतियारले काटिएका छन् ।

कतिपयले घरनजिकबाट लखेट्न भन्दै तातो पानीसमेत खन्याइदिने गरेका छन् । राष्ट्रिय जनावरको बेहाल छ । जति नै यातना सहे पनि लखेटिएको गाई फेरि गाउँ फर्किने गरेको छ । ‘पहिले सहरमा मात्रै छाडा पशुको समस्या थियो । हाल गाउँ–गाउँमा छाडा पशुचौपायाको आतंक छ,’ कोहलपुर रझेनाका राधेश्याम चौधरी भन्छन्, ‘छाडा गाईबाट धान जोगाउन खेतमै बास भएको छ ।’ उनले चार/पाँच वर्षअघि आफ्नै घरमा ७० भन्दा बढी गाई पालेको सुनाए । ‘चराउने ठाउँ छैन । सामुदायिक वन र निकुञ्जमा पस्नै पाइँदैन,’ उनले भने, ‘त्यसैले होला गाई पाल्ने चलन हरायो ।’

लोकल गाईले त्यति धेरै दूध पनि दिँदैन । खेतमा गोबर मल राख्ने चलन हरायो । त्यसैले गाईको महत्त्व पनि घट्दो छ । कसैले नि:शुल्क लैजान नमान्ने र बिक्री नहुँदा व्यवस्थापनमा जटिलता थपिँदै गएको छ । एउटा गाउँबाट अर्को गाउँमा गाई धपाउँदा स्थानीयबीच विवादसमेत हुन थालेको छ । केही दिनअघि नेपालगन्ज उपमहानगरपालिकाले बाँके राष्ट्रिय निकुञ्जमा गाई–गोरु छाड्न जाँदा कर्मचारीहरू पक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख मदन भुजेलले छाडा गाई–गोरु व्यवस्थापनको काम निकै चुनौतीपूर्ण रहेको बताए । उनले गाई–गोरु बिक्री नहुँदा समस्या भएको जनाए ।

‘छाडा पशुचौपायालाई पक्राउ गरेर कान्जी हाउसमा राख्यो । लिलाम गर्न खोज्यो । अनि बिक्री हुँदैन,’ उनले भने, ‘यसका लागि छुट्टै नीति ल्याएर व्यवस्थापन गर्न आवश्यक छ ।’ त्यसो त पश्चिम तराईबाट गाई–गोरु खरिद गरी झापासम्म लैजाने एक समूह सक्रिय थियो । तर धार्मिक कारण देखाई गाई–गोरु लैजान स्थानीयले रोकेपपछि उक्त समूह पनि निष्क्रिय भएको छ ।

विभिन्न स्थानमा खोलिएका गौशालाहरू पनि प्रभावकारी हुन नसक्दा गाई व्यवस्थापनमा समस्या भएको हो । बाँके र बर्दियाका सबै स्थानीय तहमा छाडा गाई–गोरुको आतंक छ । किसानले पाल्ने गाई र उनीहरूबीच हाल द्वन्द्व बढेको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ ०९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छाडा चौपायाले हैरानी

कान्तिपुर संवाददाता

बुटवल — बजार आसपासका बासिन्दाले बाछा र बूढा बस्तुभाउ सडकमा छाड्ने प्रचलनले सास्ती बढेको छ । रूपन्देहीको पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गमा छाडा चौपायाले यात्रुलाई हैरान बनाएका छन् ।

हुल बाँधेर उभिँदा सडक पार गर्नै मुस्किल पर्छ । यसले पैदल यात्रु, सवारी चालकदेखि व्यवसायीले समस्या भोगेका छन् । सवारी दुर्घटना बढाएको छ भने ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधबकुमार बुढाथोकीले यो क्षेत्रमा हुने कुल दुर्घटनामध्ये १५ प्रतिशत छाडा चौपायाका कारण हुने बताए । ‘दुर्घटनाका कारण क्षति हुने मात्रै होइन सवारीलाई सहज बनाउन पनि समस्या छ,’ उनले भने ।

यहाँका राजमार्ग चौराह, मिलनचोक, बसपार्कअगाडिको फराकिलो सडक, ट्राफिकचोक र नेपालगन्ज रोडमा चौपाया बस्ने मुख्य अड्डा जस्तै छ । यिनै चौपायाका कारण सवारी चालक र त्यसका मजदुरसमेत हैरान भएका छन् ।

तौलिहवा–काठमाडौं रुटका रात्रिबस चालक मोहन थापाले रूपन्देहीबाट नवलपरासी नकट्दासम्म छाडा चौपायाको निकै त्रास हुने बताए । ‘कता चौपाया ठोक्किने हो भन्ने डर लाग्छ । यो क्षेत्र काटेपछि बल्ल ठूलो सास फेर्छु’ उनले भने, ‘कहिले त बसबाटै झरेर चौपाया धपाउनुपर्छ ।’

बुटवल उपमहानगर, तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापनका लागिसमेत योजना बनाएका छन् । व्यवस्थापनकै लागि बर्सेनि रकम पनि छुट्याएका छन् । तर छाडा चौपाया व्यवस्थापनको काम व्यवस्थित हुन सकेको छैन । समस्या बढेपछि तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न जरिवानासहितको दुर्घटना अभियान सुरु गरेको छ ।

नगरपालिकाले पालिएका गाईबस्तु छाडा रूपमा नछाड्न सबै पशुपालक किसानहरूलाई अनुरोध गरेको छ । गाईबस्तुलाई सडक वा वनमा छाडेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने नीति बनाएको छ ।

त्यसमा गाई, गोरु, बाच्छाबाच्छी बेवारिसे छाडिएमा ३ हजार, राँगा, भैंसी, पाडापाडीको ७ सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर, बंगुरको ५ सय रुपैयाँ जरिवाना गर्ने नियम बनाएको छ ।

कसले छाडेको हो भन्ने सूचना दिने व्यक्ति, संघसंस्थालाई त्यस्तो चौपायाधनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कार स्वरूप उपलव्ध गराउने व्यवस्था छ । छाडा चौपायाका कारण नगरमा समस्या बढेपछि त्यसलाई रोक्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ जारी गरेर नागरिककै सहमतिमा यस्तो नियम बनाएको नगरप्रमुख घिमिरेले बताए । ‘छाडा चौपायाले सडक दुर्घटना बढाउने, खेतबारीका बालीनाली खाने र संरक्षित वन–जंगलमा नोक्सानी भएकाले नियन्त्रण अभियान थालिएको हो ।’नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

सडक वा नगर क्षेत्रमा भएका छाडा चौपायालाई गौशालासम्म पुर्‍याउने नगरको नीति छ । यसका लागि शंकरनगर र करहिया सामुदायिक वनको चार बिघा क्षेत्रफलमा गौशाला छ । नियन्त्रण नीति र गौशाला सञ्चालनमा रहे पनि सबै छाडा चौपायालाई त्यहाँसम्म पुर्‍याउन भने सकेको छैन ।

बुटवल उपमहानगरले छाडा पशु चौपायाको नियन्त्रण र व्यवस्थापन कार्यदल गठन गरेको छ । गत आर्थिक वर्षमा छाडा चौपाया नियन्त्रणका लागि भन्दै १५ लाख रकम विनियोजन गरेको थियो । व्यवस्थापनको दीर्घकालीन योजना नहुँदा भरपर्दो काम गर्न र रकम खर्च गर्न भने सकेन ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT