झुक्याएर मानव अंग तस्करी

मिर्गौला प्रत्यारोपण गर्दा अंगदाता र ग्रहण गर्ने व्यक्तिको सम्पूर्ण कुरा जाँच गर्न आवश्यक भए पनि कतिपय अस्पताल र प्रत्यारोपणमा संलग्न चिकित्सकले सबै प्रक्रिया पूरा नगर्दा दुवै खतरामा
माधव ढुंगाना

भैरहवा — तस्कर तथा दलालले सर्वसाधारणलाई झुक्याएर र प्रलोभनमा पारेर मिर्गौलाको कारोबार गरिरहेको मानव अंग प्रत्यारोपण क्षेत्रमा कार्यरत चिकित्सकले बताएका छन् ।

नेपालमा मिर्गाैलाको अवैध कारोबार एवं त्यसको अवस्थाका बारेमा जानकारी दिने र सचेतना जगाउने उद्देश्यले शनिबार यहाँ एक कार्यक्रमको आयोजना गरियो ।


मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका सर्जन चिकित्सक प्रवीण जोशीले दलालले आर्थिक अभावले पिरोलिएका परिवार पत्ता लगाएर मिर्गौलाको अवैध कारोबार गरिरहेको बताए ।

Yamaha


‘२०७२ को भूकम्पपछि प्रलोभनमा परेर मिर्गाैला बिक्री गर्नेको संख्या बढेको छ,’ जोशीले भने, ‘यसको कारण गरिबी नै हो । दलालले समस्यामा परेका व्यक्ति तथा परिवारलाई पहिलो निशाना बनाउने गरेका छन् ।’ उनका अनुसार नेपालमा २५ हजार रुपैयाँमा मिर्गाैला बिक्री गर्ने गरेको पाइएको छ ।


मिर्गौलाको प्रत्यारोपण गर्दा अंगदाता र ग्रहण गर्ने व्यक्तिको सम्पूर्ण कुरा जाँच गर्न आवश्यक भए पनि कतिपय अस्पताल र प्रत्यारोपणमा संलग्न चिकित्सकले सबै प्रक्रिया पूरा नगर्दा दुवै जना खतरामा पर्ने गरेका छन् ।


अंगदाताबाट मिर्गौला
झिकेपछि नियमित रूपमा घाउको जाँच गर्नुपर्नेमा दलालको प्रलोभनमा बिक्री गर्ने अंगदाताले घाउ जाँच नगराउनाले अन्य रोग बल्झेर समस्यामा पर्ने गरेको जोशीले बताए । दलालले अंगदातालाई सुरुमा धेरै पैसाको प्रलोभन दिने तर मिर्गौला निकालिसकेपछि कम रकम दिने र अंग ग्रहण गर्नेबाट अत्यधिक रकम असुल्ने गरेका छन् ।


कतिपयलाई मिर्गौला निकाल्ने जानकारी नै नगराई दलालले कागजात तयार पारी प्रत्यारोपण गराउन बेडमा सुताइएको बेलामा चिकित्सकले ‘तपाईं मिर्गौला दिन तयार हुनुहुन्छ ?’ भनेर सोध्दा अंगदाता झस्केर आफूलाई झुक्याइएको बताउने गरेको जोशीले बताए । ‘अन्तिम अवस्थामा अंगदान गर्न भनिएको व्यक्तिलाई सोध्दा फर्जी कागजात तयार पारेको पोल खुलेका घटना मुलुककै अस्पतालमा पाइन थालेका छन्,’ जोशीले भने, ‘यसरी पोल खुलेपछि गत वर्ष कानुनी प्रक्रिया अनुरूपको कारबाही अघि बढाइँदा ६ जनामाथि कारबाही भएको छ ।’ वैदेशिक रोजगारीबाट फर्केका कतिपय नेपाली र अपहरणमा परेका कतिपय व्यक्तिको स्वास्थ्य जाँचका क्रममा एउटा मिर्गौला झिकिसकेको पाइएको उनले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ १०:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वडाले लियो बेसहाराको जिम्मा

माधव अर्याल

पाल्पा — बिचल्लीमा परेका यहाँका तीन बालक हुर्काउने र पढाउने जिम्मा सम्बन्धित वडा कार्यालयले लिएको छ । रैनादेवी छहरा ४ को वडा कार्यालयले जिम्मा लिएको हो ।

पाल्पाको रैनादेवी छहरा ४ सल्लेरीस्थित प्राविमा अध्ययनरत तीनजना दलित विद्यार्थीलाई वडा कार्यालयबाट प्रदान गरिएको सहयोग हस्तान्तरण गरिँदै । तस्बिर : माधव

अमलावास, बिसौनाका १० वर्षीय विशाल, ८ वर्षीय सुसान र ६ वर्षीय सुशील बिटालुलाई वडा कार्यालयले जिम्मा लिएको वडाध्यक्ष विष्णु पोखरेलले बताए । बा–आमाको मृत्यु भइसकेको र ओत एवं सहाराको अभाव खेपिरहेकाले जिम्मा लिएको पोखरेलले जानकारी दिए ।


उमेर बढी भए पनि बेसहारा भएकालाई अमलावासको सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । उनीहरूका बाबु खिमबहादुरको गत वर्ष र आमा टेककुमारीको केही दिनअघि निधन भएको थियो । अलपत्र परेका उनीहरूका बारेमा छिमेकीबाट थाहा पाएपछि वडा कार्यालयले जिम्मा लिएको वडाध्यक्ष पोखरेलले बताए । ‘सबै हिसाबबाट सहाराविहीन थिए,’ छिमेकी मानबहादुर बुढाथोकीले भने, ‘वडा कार्यालयले जिम्मा लिएर राम्रो गर्‍यो ।’ उनीहरूका सात भाइ छन् । कसैले पनि पढेका छैनन् । ‘तीन भाइले पहिलो पटक विद्यालयको मुख देखे,’ वडाध्यक्ष पोखरेलले भने, ‘हामीले केही काम गर्नुपर्छ भन्ने लाग्यो र विद्यालयमा भर्ना गर्‍यौंं ।’ विद्यालय भर्ना गर्न कापी, किताब, पोसाक, घरमा ओढ्ने, ओच्छ्याउनेलगायत सामग्री किनिदिएको उनले बताए ।


कान्छाबाबु चन्द्रबहादुरलाई सहाराविहीन बालकका लागि एउटा कोठा उपलब्ध गराउन अनुरोध गरिएको छ । त्यहीँ बस्ने तर खाना, लत्ताकपडा, विद्यालयमा लाग्ने खर्च वडा कार्यालयले बेहोर्ने भएको छ । यिनका तीन दाजुले बुटवलमा जुत्ता सिलाउँछन् । एक जना भारत पुगेका छन् । ‘आर्थिक अवस्था कमजोर भएकाले समस्या परेको हो,’ रैनादेवी छहराका स्रोतव्यक्ति झलकबहादुर रायमाझीले भने, ‘वडाले यस्ता बालकलाई शिक्षाको पहुँचमा पुर्‍याएर राम्रो काम गर्‍यो ।’ उनका अनुसार विपन्न बालबालिकालाई विद्यालय पुर्‍याउने शिक्षाको पनि नीति हो ।


गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले अपांगता भएका, दलित र विपन्न बालबालिकालाई खोजी गरेर विद्यालय भर्ना गर्ने नीति लिएको बताए । ‘वडाले गरेको काम सराहनीय छ,’ उनले भने, ‘अन्य वडामा पनि यस्तै बालबालिका भए खोजी गरेर विद्यालयसम्म पुर्‍याउनु जरुरी छ ।’ आमाबुबा गुमाएर आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई सहयोग गर्नु जरुरी देखिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत ठानेश्वर पराजुलीका अनुसार यसअघि पनि गाउँपालिकाले तीन बालकलाई सहयोग गरेको छ ।


छहराका कक्षा ८ मा पढ्ने अपांगता भएका विजय सोमैलाई मासिक ६ सय रुपैयाँ भत्ता प्रदान गर्दै आएको छ । कक्षा १० का पदम रास्कोटीलाई पनि विद्यालय भर्ना गर्दै आर्थिक सहयोग गरेको अधिकृत पराजुलीले बताए । छहराकै सल्लेधारामा अध्ययन गर्ने विद्यान पोखरेललाई पनि वडाले पोसाक, कापी, कलम सहयोग गरेको छ । उनीहरूलाई दुई जोर पोसाकसहित झोला र कापी सहयोग गरेको वडाध्यक्ष पोखरेलले बताए । ‘घरमा च्यातिएको पोसाक भएका कारण विद्यालय पढ्न जान नमानेकालाई सहयोग गरेका हौं,’ उनले भने।

प्रकाशित : भाद्र २५, २०७५ १०:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT