कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाले लियो बेसहाराको जिम्मा

माधव अर्याल

पाल्पा — बिचल्लीमा परेका यहाँका तीन बालक हुर्काउने र पढाउने जिम्मा सम्बन्धित वडा कार्यालयले लिएको छ । रैनादेवी छहरा ४ को वडा कार्यालयले जिम्मा लिएको हो ।

वडाले लियो बेसहाराको जिम्मा

अमलावास, बिसौनाका १० वर्षीय विशाल, ८ वर्षीय सुसान र ६ वर्षीय सुशील बिटालुलाई वडा कार्यालयले जिम्मा लिएको वडाध्यक्ष विष्णु पोखरेलले बताए । बा–आमाको मृत्यु भइसकेको र ओत एवं सहाराको अभाव खेपिरहेकाले जिम्मा लिएको पोखरेलले जानकारी दिए ।


उमेर बढी भए पनि बेसहारा भएकालाई अमलावासको सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । उनीहरूका बाबु खिमबहादुरको गत वर्ष र आमा टेककुमारीको केही दिनअघि निधन भएको थियो । अलपत्र परेका उनीहरूका बारेमा छिमेकीबाट थाहा पाएपछि वडा कार्यालयले जिम्मा लिएको वडाध्यक्ष पोखरेलले बताए । ‘सबै हिसाबबाट सहाराविहीन थिए,’ छिमेकी मानबहादुर बुढाथोकीले भने, ‘वडा कार्यालयले जिम्मा लिएर राम्रो गर्‍यो ।’ उनीहरूका सात भाइ छन् । कसैले पनि पढेका छैनन् । ‘तीन भाइले पहिलो पटक विद्यालयको मुख देखे,’ वडाध्यक्ष पोखरेलले भने, ‘हामीले केही काम गर्नुपर्छ भन्ने लाग्यो र विद्यालयमा भर्ना गर्‍यौंं ।’ विद्यालय भर्ना गर्न कापी, किताब, पोसाक, घरमा ओढ्ने, ओच्छ्याउनेलगायत सामग्री किनिदिएको उनले बताए ।


कान्छाबाबु चन्द्रबहादुरलाई सहाराविहीन बालकका लागि एउटा कोठा उपलब्ध गराउन अनुरोध गरिएको छ । त्यहीँ बस्ने तर खाना, लत्ताकपडा, विद्यालयमा लाग्ने खर्च वडा कार्यालयले बेहोर्ने भएको छ । यिनका तीन दाजुले बुटवलमा जुत्ता सिलाउँछन् । एक जना भारत पुगेका छन् । ‘आर्थिक अवस्था कमजोर भएकाले समस्या परेको हो,’ रैनादेवी छहराका स्रोतव्यक्ति झलकबहादुर रायमाझीले भने, ‘वडाले यस्ता बालकलाई शिक्षाको पहुँचमा पुर्‍याएर राम्रो काम गर्‍यो ।’ उनका अनुसार विपन्न बालबालिकालाई विद्यालय पुर्‍याउने शिक्षाको पनि नीति हो ।


गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले अपांगता भएका, दलित र विपन्न बालबालिकालाई खोजी गरेर विद्यालय भर्ना गर्ने नीति लिएको बताए । ‘वडाले गरेको काम सराहनीय छ,’ उनले भने, ‘अन्य वडामा पनि यस्तै बालबालिका भए खोजी गरेर विद्यालयसम्म पुर्‍याउनु जरुरी छ ।’ आमाबुबा गुमाएर आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई सहयोग गर्नु जरुरी देखिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत ठानेश्वर पराजुलीका अनुसार यसअघि पनि गाउँपालिकाले तीन बालकलाई सहयोग गरेको छ ।


छहराका कक्षा ८ मा पढ्ने अपांगता भएका विजय सोमैलाई मासिक ६ सय रुपैयाँ भत्ता प्रदान गर्दै आएको छ । कक्षा १० का पदम रास्कोटीलाई पनि विद्यालय भर्ना गर्दै आर्थिक सहयोग गरेको अधिकृत पराजुलीले बताए । छहराकै सल्लेधारामा अध्ययन गर्ने विद्यान पोखरेललाई पनि वडाले पोसाक, कापी, कलम सहयोग गरेको छ । उनीहरूलाई दुई जोर पोसाकसहित झोला र कापी सहयोग गरेको वडाध्यक्ष पोखरेलले बताए । ‘घरमा च्यातिएको पोसाक भएका कारण विद्यालय पढ्न जान नमानेकालाई सहयोग गरेका हौं,’ उनले भने ।

प्रकाशित : भाद्र २५, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?