कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

पोखरी संरक्षणमा प्रदेश सरकार

सिमसार क्षेत्र वृद्धि गर्न प्रदेश ५ सरकारले ‘एक गाउँ एक पोखरी’ निर्माण र संरक्षण अभियान सुरु गरेको छ
घनश्याम गौतम

रूपन्देही — गुल्मीको चन्द्रकोट ४ शान्तिपुरमा रहेका पोखरी सुक्दै गएका छन् । यहाँका ७ वडा कर्कलेपोखरी, साउपोखरी, म्यालपोखरी, लाँकुरीपोखरा, सेतीपोखरा, आरूपोखरा गैरीपोखराका नामले चिनिन्थे ।

पोखरी संरक्षणमा प्रदेश सरकार

पोखरी सुक्दै गएपछि पहिचान मेटिँदै गएको छ । सुकेका पोखरीका बीचबाट सडक खनिएका छन् ।


गाई–गोरुदेखि चराचुरुंगीसम्मका लागि पोखरीको पानीले राहत दिन्थ्यो । स्थानीयले तिनै पोखरीको पानीले घरका करेसाबारी सिँचाइ गर्थे । पोखरीका वरिपरि हुने बरपीपलसहितका चौपारीले गाउँकै सुन्दरता बढाउँथ्यो । पानी खान आउने चराचुरुंगीको चिरबिर–चिरबिर आवाजले छुट्टै आनन्द दिन्थ्यो । तर, अहिले यी सबै कथाजस्तै बनेका छन् । डाँडा र पहाड सुक्खा र उजाड बन्दै छन् ।


पहाडी जिल्लाका गाउँमा जथाभावी निर्माण गरिने सडकले सार्वजनिक स्थलका चौपारी र प्राकृतिक पोखरी नष्ट भएका छन् । बरपीपल रोप्ने, भएका संरक्षण गर्ने र पोखरीमा पानी जम्मा गर्ने भन्ने त अहिले कहानीजस्तै बनेको चन्द्रकोट गाउँपालिका ४ का ८२ वर्षीय हरिनारायण गौतमले बताए । ‘अहिले पीपल र पोखरी देख्नै छाडियो,’ उनले भने, ‘बरपीपल रोप्ने, पोखरी खन्ने र जोगाउने भन्ने त सबै हरायो ।’ अक्सिजन दिने र भगवान् विष्णुको रूप मानेर पूजा गर्ने पीपल गाउँमा देखिनै छाडेको उनले सुनाए । बाबुबाजेले पीपलको रूखलाई भगवान् विष्णुको रूप मानेर पूजा गर्ने गरेको भए पनि अहिले सबै काटेर र उखेलेर फाल्न थालेको उनले बताए ।


गाउँबाट हराउँदै गएका यस्ता प्राकृतिक पोखरी संरक्षण गरेर सीमसार क्षेत्र वृद्धि गर्न प्रदेश ५ को सरकारले भने ‘एक गाउँ एक पोखरी’ निर्माण र संरक्षण अभियान सुरु गरेको छ । अनियन्त्रित सडक निर्माण रोक्ने, पोखरी संरक्षण गर्ने, प्राकृतिक पर्यावरण जोगाउने र सिमसार क्षेत्र वृद्धि गर्ने प्रदेश सरकारको उद्देश्य छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले साना र प्राकृतिक पोखरी हराएर जमिनमा पानीको मात्रासमेत कम हुन थालेकाले संरक्षण अभियान सुरु गरिएको बताए । ‘अहिले जमिन पानीले रिचार्ज हुनै छाड्यो,’ उनले भने, ‘पानीका मुहान सुक्दै छन् ।’ पोखरी संरक्षणले पानीका मुहान बढ्ने, पोखरी आसपासको जमिन सिमसार बन्ने, वातावरण हरियाली र सुन्दर बनाउने गरी हरेक गाउँमा पोखरी निर्माण र संरक्षण अभियान सुरु गरिएको उनले बताए ।


प्रदेश सरकारले वातावरणका क्षेत्रको विकास र संरक्षणका लागि चालु वर्षमा मात्र झन्डै २२ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमा पनि ‘एक गाउँ एक पोखरी’ का लागि मात्र ४ करोड ३६ लाख रुपैयाँ छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट भाषणमै पोखरी संरक्षण र निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजाने घोषणा गरेका थिए ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव शरदबाबु पंगेनीका अनुसार तालतलैया तथा सिमसार क्षेत्रको संरक्षणका लागि १ करोड २० लाख, जैविक स्रोत तथा वनस्पतिको परम्परागत ज्ञानको अभिलेखीकरणका लागि २५ लाख, जलवायु अनुकूलित गाउँयोजना निर्माणका लागि २४ लाख, जलवायु परिवर्तनले पारेको असरको अध्ययन–अनुसन्धानका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘पोखरी, तालतलैया र जैविक विविधता संरक्षणमा पर्याप्त रकम छ,’ उनले भने, ‘बजेट प्रभावकारी कार्यान्वयनका लागि अहिले मन्त्रालय कार्यविधि निर्माणमा जुटेको छ ।’ कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको र संगठन संरचनासमेत निर्माणको तयारीमा रहेकाले कात्तिक पहिलो सातादेखि नै बजेट कार्यान्वयन सुरु हुने उनले बताए ।


स्थानीय तह र गाउँस्तरमा रहेका क्लबदेखि वातावरणसँग सम्बन्धित सबै क्षेत्रको सहभागितामा बजेट र कार्यक्रम कार्यान्वयन गर्ने गरी मन्त्रालयले कार्यविधि बनाइरहेको छ । गोष्ठी, छलफल र अध्ययन अनुसन्धान पनि हुनेछन् । रूपन्देहीका वातावरण विज्ञ युवराज कँडेलले अहिलेको विकास वातावरणमैत्री हुन नसक्दा सुक्खा क्षेत्र बढदै गएको बताए । ‘पोखरी, ताल र सिमसार क्षेत्र सबै संकटमा छन्,’ उनले भने, ‘सुक्खा क्षेत्र कम गर्न विकासलाई वातावरणमैत्री बनाउनु जरुरी छ ।’ पोखरीसँगै पानीका मुहान र बचेको सिमसार क्षेत्र पनि संरक्षण गर्नुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?