कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामकाजीको तीज कार्यस्थलमै

दुई दर्जन सञ्चारकर्मीले तीजमा बिदा पाएनन् । उनीहरूको चाड सञ्चार माध्यममै बित्यो । तिर्सना मेटाउन कार्यालयमै दर खाए । तीज विशेष कार्यक्रम चलाए । धेरैजना प्रत्यक्ष प्रसारणमै खटिए ।
अमृता अनमोल

बुटवल — स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ पटुकाकी अस्मिना पाण्डेलाई तीज रमाइलो लाग्छ । सानोमा गाउँमा नाचगानमा भाग लिन्थिन् । उनलाई कसैले जित्दैनथे । अस्मिनाले पछिल्लो समय तीज मनाउन पाएकी छैनन् ।

कामकाजीको तीज कार्यस्थलमै

‘बेलुकि ८ बजेसम्म अफिसमै हुन्छु, कसरी तीज मनाउनू ?’ रेडियो मुक्तिकी समाचार प्रमुख उनले सुनाइन्, ‘पेसा नै यस्तो रहेछ, पर्व पनि मनाउन नपाइने !’ महिलाले मात्र सञ्चालन गरिरहेको यो रेडियोमा दुई/दुई घण्टाको अन्तरमा समाचार प्रसारण हुन्छ ।

समाचारमा मात्र ध्यान दिएर पुग्दैन । सूचना केन्द्रित कार्यक्रम पनि उनकै जिम्मामा छन् । यसैले छुट्टी होइन, घटना/दुर्घटना होला कि भनेर चनाखो हुनुपर्ने अस्मिनाले बताइन् । ‘दर खाने कार्यक्रमको दिन पनि रातिसम्म समाचार कक्षमै काम गरेर बिताएँ,’ उनले दुखेसो पोखिन्, ‘तीजको दिन पनि दिउँसोदेखि साँझसम्म ड्युटीमै खट्नुपर्ने छ ।’

अहिले सार्वजनिक यातायातमा तीज मनाउन माइती जानेको भीड छ । एक सातादेखि यो क्रम जारी छ । यसरी जानेहरू आफन्तसित भेटघाटमा मस्त छन् । नाचगान गरिरहेका छन् । तर, कामकाजी महिलाले यो अवसर पाएका छैनन् । अस्मिनाजस्तै यहाँका दुई दर्जन सञ्चारकर्मीले बिदा पाएनन् । उनीहरूको चाड सञ्चार माध्यममै बित्यो । तीजको तिर्सना मेटाउन कार्यालयमै दर खाए । तीज विशेष कार्यक्रम चलाए । धेरैजना प्रत्यक्ष प्रसारणमै खटिए ।

‘हामीलाई बिदा नलिने बानी भइसक्यो,’ रेडियो रिपब्लिककी स्टेसन म्यानेजर उषाकिरण पन्थले भनिन्, ‘पछिल्लो समय मिडियामा प्रवेश गरेका दिदीबहिनीले दु:ख नमानून् भनेर रेडियोमा दर खुवायौं ।’ माइत वा आफन्त भेट्न जान नपाए पनि केही बेर कार्यालयमा नाचगान गरेर रमाइलो गरेको उनले बताइन् । ‘तीजको दिन रमाइलो गर्ने समय हुँदैन,’ उषाले भनिन्, ‘बिहानैदेखि शिवालयदेखि चोकमा हुने क्रियाकलापको प्रत्यक्ष प्रसारणमा खट्नुपर्छ ।’

सञ्चारकर्मीजस्तै अधिकांश सुरक्षाकर्मी महिला पनि कार्यस्थलमै काम गरेर तीज मनाउन बाध्य छन् । बिदाको दिन पनि काममा खट्नुपर्दा यस्ता महिलाको तीज निरस बन्ने गरेको छ । नेपाली सेनाको २२ नम्बर बाहिनीमा कार्यरत सविता चौधरीले सेनामा आएपछि तीज मनाउने संस्कार नै भुल्नुपरेको बताइन् । ‘तीज होस् या दर खाने दिन, हाम्रा लागि सधैं उस्तै छ । माइती र आफन्त भेटेर रमाइलो गर्न पाउँदैनौं,’ उनले दुखेसो पोखिन्, ‘यस्तोमा सानी छँदा मनाएको तीज सम्झँदै आफ्नो ड्युटी गर्छौं ।’ तीजको समयमा महिला प्रहरी विशेष खटिनुपर्छ । यो दिन बिदा होइन, उनीहरू दोहोरो–तेहरो ड्युटीमा हुन्छन् ।

बिहान शिवालयहरूमा खट्नुपर्छ । त्यता मान्छेको चाप कम भए तीज विशेष कार्यक्रममा खटिनुपर्छ । महिलाको चाड र धेरै महिला रामरमितामा सक्रिय हुने भएकाले महिला प्रहरी बढी खटिनुपर्ने भएको हो । ‘आज तीज हो भनेर मनमा लिने हो,’ इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान जमुना पुलामीले भनिन्, ‘तर, तीज मनाउन माइतीघर वा आफन्त भेट्न जान पाइँदैन ।’ गुल्मी ठूलो लुम्पेककी जमुनालाई आफूले मनाउन नपाए पनि तीज भने निकै लाग्छ । सानोमा नाचगान गरेको र रमाएको याद आउँछ । ‘आफन्तकहाँ गएर रमाउन मन लाग्छ,’ उनले भनिन्, ‘तर, प्रहरीमा भर्ती भएपछि कहिल्यै त्यस्तो अवसर जुरेको छैन ।’

पछिल्लो समय महिला प्रहरीका लागि एक दिन कार्यालयका तर्फबाट दर खुवाउने र एकछिन नाचगानको अवसर जुटाइदिने गरिएको छ । ‘चाडपर्वमा प्रहरी धेरै नै सक्रिय हुनुपर्ने भएकाले तीजमा महिला प्रहरीलाई बिदा दिन सकिएन,’ इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले भने, ‘तीज नजिकिँदै गर्दा एक साँझ दर भने खुवायौं ।’ दर खाने दिनमा केही बेर कार्यालय परिसरमै नाचगान गरेर महिला प्रहरीले तीजको रहर मेटाएको उनले बताए ।

तीजको दिन बिदा पाउने अन्य धेरै महिला कर्मचारी पनि यसपटक तीजमा माइत जान वा आफन्तकहाँ जानबाट वञ्चित भए । सरकारले एक दिन मात्रै बिदा दिँदा तीजलाई खुलेर मनाउन नपाएको उनीहरूको दुखेसो छ । ‘यसअघि तीज र तीजको पर्सिपल्ट हुने ऋषिपञ्चमी गरी दुई दिन महिलाका लागि बिदा हुन्थ्यो । यसपालि ऋषिपञ्चमीको बिदा काटिएको छ,’ प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्की कर्मचारी अम्बिका बेल्बासेले भनिन्, ‘यसले गर्दा माइत जाने अवसर खोसिएको छ ।’

प्रकाशित : भाद्र २७, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?