कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा चितुवा आक्रमण

५ वर्षमा चितुवाले १९ जना बालबालिकामाथि आक्रमण गर्‍यो भने १३ को ज्यान गयो
वीरेन्द्र केसी

अर्घाखाँची — तीजको दर खान मामाघर जाँदा सबै बालबालिका रमाउँछन् । खुसी हुन्छन् । सन्धिखर्क नगरपालिका १० करनढुंगाकी पाँच वर्षीया सदीक्षा राना आमासँगै मामाघर पकले जान घरबाट हिँडेकी थिइन् ।

गाउँमा चितुवा आक्रमण

भाञ्जी कति बेला आइपुग्लिन् भनेर मामा र माइजूले बाटो हेरिरहेका थिए । हाँस्दै, खेल्दै रमाइलो गर्दै आधा बाटो पुग्दा सदीक्षाकी सानीआमाको घर आइपुग्न थाल्यो । उकालो हिँड्दा उनलाई भोक लाग्यो । पसलबाट चाउचाउ किनेर सानीआमाको घरनजिकै चौरमा बसेर खेल्दै खाँदै थिइन् । एक्कासि चितुवाले झम्टियो । मामाघर पुग्ने सपना बीचमै तुहियो । पछि सुरक्षाकर्मीसहित स्थानीयले उनलाई जंगलमा मृत भेट्टाए ।


अघिल्लो भदौमा सन्धिखर्कनजिकै भालुखोलामा चार वर्षीय मनीष केसीको चितुवाको आक्रमणबाट ज्यान गयो । साँझपख घरभित्रबाट निस्केर आँगनमा पिसाब फेर्दै गर्दा उनीमाथि आक्रमण भएको थियो । घटनापछि सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि आएर शोकाकूल परिवारलाई चितुवा मार्ने आश्वासन दिए । चितुवा खोज्न राष्ट्रिय प्रकृति संरक्षण कोषका एक जना सुटरसहित सुरक्षाकर्मी, स्थानीय र वन्यजन्तु विशेषज्ञको टोली परिचालन भयो । तर, सात दिनसम्म पनि फेला नपरेपछि यत्तिकै फर्कियो । महिना दिनअघि आठ वर्षीया अस्मिता खनाल पनि चितुवाको आक्रमणबाट घाइते भएकी थिइन् ।


दुई वर्षको अवधिमा खाँचीकोट गाउँमै ६ बालबालिकालाई चितुवाले आक्रमण गर्‍यो । तीन जनाको मृत्यु भयो । ०७१ सालमा कुर गाउँमा चार वर्षीय सुशान्त नेपालीको चितुवाको आक्रमणबाट ज्यान गयो । उनी आमासँगै मामाघर आएका थिए । सुरुमा नौ महिनाको अवधिमा नुवाकोटका तीन वर्षीय नारायण नेपाली, ६ वर्षीय उमेश नेपाली, किमडाँडाका २० महिने युवराज मरासिनी, कुरका दुई वर्षीय सुरेश आचार्य, किमडाँडाकी सात वर्षीय सुजाता विक चितुवाको आक्रमणबाट मारिए । कुरका दुई वर्षीय जीवन सुनार घाइते भए ।


सदरमुकामनजिकैका कुर, खाँचीकोट, फुदबाङ, किमडाँडालगायतका गाउँमा चितुवाले त्रास फैलाएको छ । २०७० सालदेखि सदरमुकाम सन्धिखर्कनजिकैका यी बस्तीमा चितुवाले १० वर्षमुनिका बालबालिकालाई आक्रमणको निसाना बनाइरहेको छ । बर्सेनि बालबालिकाको ज्यान लिएको छ । यो अवधिमा १९ जना बालबालिका चितुवाको सिकार भए । जसमध्ये १३ जनाको ज्यान गयो । ६ जना घाइते भएको तथ्यांकमा उल्लेख छ ।


सोमबार आक्रमणमा ज्यान गुमाएकी सदीक्षाकी सानीआमाको घरनजिकै जंगल थियो । सदीक्षाको आक्रमणपछि गाउँ त्रस्त छ । ‘सदीक्षा बसेको ठाउँ झाडी जंगल थियो,’ प्रहरी नायव उपरीक्षक नवराज मल्लले भने, ‘ठूला रूख खासै थिएनन् । काँडैकाँडा, मान्छे नै छिर्न नसकिने जंगल थियो । चितुवा त्यसमै लुकेर बसेको हुन सक्छ ।’ चितुवा खोज्दा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय परिचालन भएको उनले बताए ।


अघिल्लो वर्ष खाँचीकोटका मनीषको घरमा जस्तै सदीक्षाको घरमा पनि सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि पुगेर चितुवाको खोजी गरी नियन्त्रणमा लिने आश्वास दिए । गाउँलेले नरभक्षी चितुवालाई नियन्त्रणमा लिन र ढुक्कसँग बस्ने वातावरण मिलाइदिन सुरक्षाकर्मीसँग माग गरेका छन् । स्थानीय विष्णु ढुंगानाले धेरैपटक मोटरसाइकलमा हिँडदा बाटो छेकेको बताए । फरक–फरक रंगका देखिएकाले चितुवाको संख्या यहाँ धेरै हुन सक्ने उनले बताए । साँझ परेपछि उनीहरू घरभित्रै बस्छन्, राति दिसापिसाब लागे पनि डरले बाहिर निस्कन सक्दैनन् ।


सदीक्षाको आक्रमणस्थल नजिकै पनि जंगल सफा थिएन । अघिल्लो दिन पनि सदीक्षाकी सानीआमाको घरबाट चितुवाले कुखुरो लगेको रहेछ । ‘दोस्रो दिन देखेर लखेटेका रहेछन्,’ वन अधिकृत दीपक ज्ञवालीलले भने, ‘तेस्रो दिन त सदीक्षालाई नै आक्रमण गर्‍यो ।’ चितुवा त जिल्लाका अन्य ठाउँमा पनि छन् । तर, एउटै गाउँमा बर्सेनि किन आक्रमण गर्छ त ? ‘जंगलमा आहारा सकिएपछि गाउँ पस्छ । जंगली जनावरलाई दौडेर सिकार गर्नुपर्‍यो, मान्छे, कुखुरा र घरपालुवा जनावरलाई आक्रमण गर्न सजिलो भयो,’ ज्ञवालीले भने, ‘चितुवा बस्ने जंगलमा डोजर लगाएर बाटो खनिएपछि चितुवालाई पनि गाउँ पस्न सजिलो भएको छ ।’


प्राय: पोथी चितुवाले आफ्ना बच्चालाई आहार नपुगेपछि यसरी आक्रमण गर्ने विज्ञहरू बताउँछन् । ‘चितुवा लुक्न सक्ने झाडी जंगल नबनाउन भनेर धेरै पटक सूचना प्रवाह गर्‍यौं तर गाउँलेले जंगल सफा गर्न चासो नै दिएनन्,’ ज्ञवालीले भने । भदौ १५ गते नरपानीका स्थानीयले पोथी चितुवा नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएका थिए । वर्षामा बारीमा मकै, खरबारी र वनमा घाँसले ढपक्कै ढाक्ने भएकाले चितुवालाई लुकेर आक्रमण गर्न सजिलो हुने सहायक वन अधिकृत मोतीराम पौडेलले बताए ।

प्रकाशित : भाद्र २८, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?