कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर–पूर्व जोड्न पक्की सडक

हरि गौतम

रुकुमपूर्व — पुथाउत्तरगंगा गाउँपालिकाको नायगाडपुल–जामाबगर–त्रिवेणी सडक खण्ड पक्की हुने भएको छ । एसियाली विकास बैंक (एडीबी) र सरकारी लगानीमा १८ दशमलव ४ किलोमिटर सडकको असोजदेखि निर्माण सुरु हुन लागेको हो । बालुवा–नायगाड–जामाबगर–बगर त्रिवेणी सडक अन्तर्गत यो खण्ड रहेको छ ।

उत्तर–पूर्व जोड्न पक्की सडक

सडक निर्माणका लागि अधिकांश काम सम्पन्न भइसकेको छ । ग्रामीण सडक सन्जाल सुधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको हो । सडक सञ्जाल सुधार आयोजना इकाइ प्रमुख रामशरण आचार्यले २८ करोड ६९ लाख २८ हजार ६ सय १ रुपैयाँ ८० पैसामा ठेक्का सम्झौता भएको बताए । निर्माणका लागि पीएच/शंकरमाली निर्माण सेवा कम्पनीले ठेक्का सकारेको छ । सम्झौतालगत्तै ठेकेदार कम्पनीले आधारभूत सर्भेको काम गरिसकेको आयोजना प्रमुख आचार्यले बताए ।

दुई वर्षमा सक्ने गरी सम्झौता भएको छ । सडक निर्माणका लागि ठेक्का आह्वान केन्द्रबाटै भए पनि सडक निर्माणको अनुगमन, नियमन, मूल्यांकन, गुणस्तर निरीक्षण आयोजना कार्यालयबाटै हुने उनले बताए । उनका अनुसार सडक खण्डमा पर्ने जग्गाको स्वामित्व लिने, सामुदायिक वनसँग स्वीकृत लिनेलगायत काम अन्तिम चरणमा पुगेका छन् ।

प्राविधिक हिसाबले सडक उच्च गुणस्तरीय भएकाले महँगो परेको पनि उनले बताए । यही गुणस्तरको सडक यसअघि जिल्लामा निर्माण भएका छैनन् । ठेकेदार कम्पनीले सडक निर्माणको आधारभूत काम दुई वर्षमा र बाँकी सुधारको काम तीन वर्षमा गर्ने सम्झौता भएको छ ।

सडक निर्माणपछि सिस्ने गाउँपालिकाका सिस्ने र प्वाङ, पुथाउत्तरगंगा गाउँपालिकाका जाङ, राङ्सी, कोल, हुकाम र रन्मामैकोट सडक सञ्जालमा जोडिनेछन् । उक्त क्षेत्रमा यसअघि सडक निर्माण नभएकाले पनि यो सडकलाई महत्त्वपूर्ण मानिएको छ । सोलाबाङदेखि बालुवासम्मको सडक यसअघि नै निर्माण भए पनि त्यसपछिको सडक भने लामो समयदेखि निर्माण हुन सकेको थिएन ।

रुकुमपूर्वको उत्तर–पूर्वका गाउँलाई सदरमुकाम रुकुमकोट, रुकुमपश्चिम सदरकुकाम खलंगा तथा दाङ तथा काठमाडौं जोड्न उक्त सडक महत्त्वपूर्ण भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पहलबहादुर पुनले बताए ।

भूमे गाउँपालिकाको बालुवादेखि पुथाउत्तरगंगा गाउँपालिकाको त्रिवेणीसम्म १९ दशमलव ६ किलोमिटर लम्बाइ छ । ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना आयोजनाले यसमध्ये आठ किलोमिटर सडक निर्माण गरिसकेपछि बाँकी ११ दशमलव ६ किलोमिटर सडक पनि निर्माण हुनेछ ।

प्रकाशित : आश्विन २, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?