कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिकमा कम्प्युटर इन्जिनियरिङ

करिश्मा चौधरी

बाँके — अहिले विद्यार्थी र अभिभावकको रोजाइमा प्राविधिक विषय पर्न थालेका छन् । उनीहरूले प्राविधिक विषयलाई स्वरोजगारीको अवसर मानेका छन् ।

सामुदायिकमा कम्प्युटर इन्जिनियरिङ

बहुआयामिक भनेर यस्ता विषय पढ्नेको संख्या बढिरहेको छ । विद्यार्थी र अभिभावकको रुची बढेपछि सरकारले सामुदाियक विद्यालयमा पनि प्राविधिक विषय पढाउन थालेको हो ।

नेपालगन्ज उपमहानगरपालिका १ स्थित धम्बोजी माविमा पाँच वर्षदेखि कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको छ । प्राविधिक विषयको माग बढ्दै गएकाले विद्यालयले कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरेको सहायक प्रधानाध्यापक वामदेव सुवेदीले बताए । माग भएपछि शिक्षक र विद्यालय व्यवस्थापन समितिको पहलमा पढाइ सुरु गरिएको हो । ‘अहिले प्रविधिको युग भएकाले यो विषय छनोट गरिएको हो,’ सुवेदीले भने, ‘पढाइ सुरु भएपछि सामान्य परिवारका विद्यार्थीलाई पढ्न सजिलो भएको छ ।’

सरकारी लगानीमै कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरेकाले सशुल्क हुने गरेको छ । विद्यार्थीबाट मासिक पाँच सय रुपैयाँ प्रयोगात्मक शुल्क मात्रै लिइरहेको सुवेदीले बताए । विद्यालयले छात्रवृत्ति अक्षयकोषमार्फत वार्षिक पाँचजना विपन्न र जेहेन्दार विद्यार्थीका लागि नि:शुल्क शिक्षाको व्यवस्था गरेको छ । विद्यार्थीलाई सशुल्क प्राविधिक शिक्षा दिनका लागि आफूहरूले यसको पढाइ सुरु गरेको उनले बताए । ‘सक्नेले त जहाँ पनि पढाउँछन्,’ उनले भने, ‘यहाँ पढाउन थालेपछि विपन्न परिवारका विद्यार्थीलाई सहयोग भएको छ ।’

सामुदायिक विद्यालयतर्फ चारवर्षे कम्प्युटर इन्जिनियरिङ पढाइ हुने पहिलो र एक मात्र विद्यालय हो । यो विषयको पढाइ ९ देखि १२ कक्षासम्म हुन्छ । ४८ जना विद्यार्थी भर्ना हुन सक्छन् । सुरुका वर्षमा जानकारी नभएर विद्यार्थी कम आएपछि पछिल्लो समय एक सयभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएको प्रशिक्षक प्रहिपश्री अधिकारीले बताए ।

प्रविधिको समयमा कम्प्युटर शिक्षाको माग र अवसर बढ्दो भएकाले पनि विद्यार्थीको संख्या बढिरहेको उनले बताए । ‘यस्तै विषयमा उच्च शिक्षा लिन र जागिर खान तथा स्वरोजगार बन्न यो विषय पढेर सजिलो हुन्छ,’ उनले भने । यसको पढाइका लागि प्रशिक्षक, सहायक प्रशिक्षक र ल्याब (प्रयोगशाला) सहायक गरी नौ जना छन् । अत्याधुनिक ल्याबमा विद्यार्थीले अभ्यास गर्न पाउँछन् । प्रत्यक विद्यार्थीका लागि पुग्ने कम्प्युटर छन् ।

यसले पनि विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने प्रशिक्षक अधिकारीले बताए । कक्षा ५ देखि यसै विद्यालयमा पढ्दै आएकी मनीषा शाही कक्षा १० मा कम्प्युटर इन्जिनियरिङ पढिरहेकी छन् । आफैंले पढिरहेको विद्यालयमा आफ्नै रोजाइको विषय पढ्न पाउँदा निकै खुसी छन् । चार वर्षसम्म पढ्ने र विद्यालयमै पर्याप्त ल्याब रहेकाले सिकाइ राम्रो हुने शाही बताउँछिन् ।

‘आफ्नै नजिकको स्कुलमा थोरै पैसामा राम्रो विषय पढ्न पाउनु हाम्रा लागि राम्रो हो,’ उनले भनिन्, ‘मैले त छात्रवृत्ति पाएकाले नि:शुल्क पढ्न पाएकी छु ।’ कक्षा ९ मा पढ्ने भावना उपाध्याय घरै बसेर मन परेको विषय पढ्न पाउँदा खुसी छन् । भविष्यमा सफ्टवेयर इन्जिनियर बन्ने भावनाको इच्छा छ । आफूले नि:शुल्क पढ्न पाउँदा आमाबुबालाई पनि सजिलो भएको उनले बताइन् ।

सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सुरु भएपछि विद्यार्थी र अभिभावक खुसी छन् । विद्यालयमा करिब दुई हजार विद्यार्थी छन् । हरेक कक्षामा दुई र कुनै कक्षामा तीनवटासम्म सेक्सन छुट्याइएको छ । स्थायी, अस्थायी तथा निजी स्रोतका गरी ५३ जना शिक्षक छन् ।

प्रकाशित : आश्विन ६, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?