कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैदेशिक रोजगारीमा ठगिादै युवा

ठाकुरसिंह थारू

नेपालगन्ज — खुट्टामा टुटेको चप्पल तर हातमा पर्यटन भिसा बोकेर वैदेशिक रोजगारीमा जानेहरू नेपालगन्ज सीमामा रोकिएका घटना थुप्रै छन् । भारतमा भिसा बनाएर वैदेशिक रोनजारीका लागि खाडी मुलुकमा पठाइएका उदहारण छन् ।

वैदेशिक रोजगारीमा ठगिादै युवा

पछिल्लोपल्ट भने मानव तस्करले ‘आजाद भिसा’ को प्रलोभनमा ठगी प्रयास गरेको खुलेको छ । आजाद भिसा लिएर जाने जोकोहीले खाडी मुलुकको कुनै पनि कम्पनीमा बिना रोकटोक काम गर्न पाउने प्रलोभन दिन थालिएको छ ।

मानव बेचबिखनका विरुद्व काम गर्ने अधिकारकर्मीका अनुसार मानव तस्करहरूले विदेश जान चाहने सर्वसाधारणलाई ठगी गर्न आजाद भिसाको भ्रममा फसाउन खोजिएको बताए । ‘पर्यटन, स्टुडेन्ट लगायतका भिसा देखाएर विदेश लैजान खोजी ठगी गरेका थुप्रै घटना हामीले देख्यौं । तर हाल गाउँ–गाउँमा आजाद भिसाको भ्रम फैलाइएको छ,’ वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नेपालीहरूका लागि कानुनी सहयोग गर्दै आएको संस्था मानव अधिकारका लागि जनमञ्च नेपालगन्जका अधिवक्ता सनत शर्मा भन्छन्, ‘केही युवाहरू आजाद भिसाबारे हामीसँग चासो रारखेपछि त्यसबारे जानकारी पाएका हौं ।’ उनका अनुसार उक्त भिसा लिन एजेन्टहरूले भारतकै बाटो भई विदेश जानुपर्ने सर्त तेस्र्याउने गरेका छन् ।

तर, वैदेशिक रोजगारीका क्रममा बेचबिखनमा पर्न सक्ने भन्दै नेपाल सरकारले भारतको बाटो भएर विदेश जान रोक लगाएको छ । जसका कारण दिल्ली विमानस्थलबाट भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई फिर्ता पठाउने गरेको छ । आजाद भिसामा कुनै पनि कम्पनीको नाम खुलाइएको हुँदैन । त्यसबारे जिज्ञासा राख्द एजेन्टले कुनै पनि कम्पनीमा काम गर्न पाइने जवाफ फर्काउने गरेका छन् ।

‘काम गर्न जाने कम्पनीको नाम उल्लेख नहुने भिसा नक्कली हुनसक्छ । त्यसैले सचेत हुन आवश्यक छ,’ अधिवक्ता शर्माले भने, ‘आजाद भिसाबारे बेलैमा सर्वसाधारणलाई सचेत गराउनुपर्छ ।’ त्यसो त वैदेशिक रोजगारीमा पठाउने कम्पनीहरूले बाँकेका गाउँ–गाउँमा एजेन्ट परिचालन गर्दै आएका छन् । एकजना विदेश जाने व्यक्ति खोजेबापत १० देखि १५ हजारसम्म कमिसन स्थानीय एजेन्टलाई दिने गरिएको छ । जसका कारण वैदेशिक रोजगारीमा जाने सर्वसाधारण स्थानीयबाटै ठगिने गरेका हुन । वैदेशिक रोजगारीमा भएको ठगीका घटनामा मुख्य व्यक्ति भने उम्किँदै आएका छन् ।

बाँके जिल्ला अदालत बार एसोसियसन अध्यक्ष मोहम्मद आयुब सिद्दिकीले छिमेकी मुलुक भारतमा आजाद कामदारको परम्परा रहेको बताए । तर वैदेशिक रोजगारीका लागि भने उक्त भिसा नहुने गरेको जनाए । हुँदै नभएको भिसाको प्रलोभनमा परेर विदेश जाने नेपालीहरू बेचबिखनमा पर्न सक्ने भन्दै सचेत रहन उनको आग्रह छ ।

मानव बेचबिखनविरुद्धको क्षेत्रमा क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार एक वर्षमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे सात सयभन्दा बढी नेपाली महिलाहरू सम्पर्कविहीन भएका छन् । हराएकामध्ये ६७ महिलाको उद्धार गरिएको छ । ७ सय ६७ महिला अझै पनि हराइरहेका छन् ।

नेपालगन्ज नाका भएर भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेका थिए । सबैभन्दा बढी बाँकेका महिलाहरू हराएका छन् । बाँकेका २ सय ८ महिला हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये चार महिलाहरूको उद्धार गरिएको छ । उनीहरूलाई भारतको रेडलाइट क्षेत्रबाट उद्धार गरिएको जनाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?