कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमानको कमाल

वीरेन्द्र केसी

अर्घाखाँची — काम गर्ने उपाय जानेपछि जग्गा धेरै चाहिँदैन । शीतगंगा नगरपालिका ३, ठाडादहका कमानसिंह दर्लामीको घर अग्लो स्थानमा छ । घरको गेट खोलेर भित्र पस्दा मगमग बास्ना आउने ५० थरीका रंगीचंगी फूलले स्वागत गर्छन् ।

कमानको कमाल

उनले एक रोपनी जग्गामा फलफूलका बिरुवा, तरकारी, लहरेबाली, च्याउ खेतीदेखि कुखुरा, बंगुर र खरायो पालन पनि गरेका छन् । औषधिका रूपमा प्रयोग हुने जडीबुटी पनि छन् । सिँचाइका लागि आकाशे पानी संकलन पोखरी छ । प्लास्टिक टनेलभित्र तरकारी र पोखरीको डिलभरि फूल फुलेका छन् । यस्तो मनोरम वातावरण देखेपछि यहाँ आउने हरेकले तस्बिर खिच्न छुटाउँदैनन् ।

‘पहिला यही बारीमा ढुंगैढुंगा थिए,’ दर्लामीले भने, ‘अहिले फलदेखि फूल सबै छन् ।’ उत्पादन भएका सबै बस्तु सजिलै घरबाटै बिक्री हुने गरेको उनले बताए । अन्य उत्पादन खासै नहुने बारीमा उनले सुरुमा रहरले फूल लगाएका थिए । माग बढै गएपछि अन्य खेती पनि सुरु गरेका थिए । ‘अहिले त ५० थरीका फूल मात्रै उत्पादन गर्छु,’ उनले भने, ‘सहरका ठूला होटल सजाउन फोनबाटै फूलको अर्डर आउँछ ।’ बुटवल, कपिलवस्तु, दाङ, सन्धिखर्कमा हुने मेला/महोत्सवमा गमलासहित लगेर बिक्री गर्छन् । ठाडा आन्तरिक पर्यटकीय स्थल पनि हो । घुम्न आउनेले फूल किन्छन् । दिनभर बगैंचामा डुल्छन् ।

जिल्लामै व्यावसायिक फूल खेती गर्ने उनी एक्ला हुन् । उनको बगंैचामा बेगमवली, बेलिया, गुलाफ, जगेणा, रुद्राक्ष, पारिजातलगायतका फूल फुलिरहेका छन् । फूल, तरकारी, बंगुर, कुखुरा सबै बिक्रीबाट वर्षमा आठ लाख रुपैयाँ हाराहारीमा बचत भएको उनले सुनाए । बोडी, सिमी, घिरौंला, साग, तोराय, खुर्सानी, काउली, भान्टालगायत तरकारी पनि बाह्रै महिना उत्पादन हुन्छ । पातपतिंगर, झार, सडेगलेका तरकारी, खाद्यवस्तु खाडलमा कुहाएर बनाएको कम्पोस्ट मल बिरुवामा राख्छन् ।

जिल्लाका धेरै ठाउँमा खेतीयोग्य जमिन बाँझिने क्रम बढो छ । धेरै जग्गा भए पनि वर्षदिन खान पुग्दैन भन्दै वैदेशिक रोजगारमा जाने र बस्ती नै छाडेर जानेको संख्या कम छैन । तर, दर्लामीले एकै रोपनीमा पनि अन्तरवाली खेती प्रणाली अपनाएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाएको ठाडाका मोती बेल्बासेले बताए । ‘जग्गा धेरै हुने हामीलाई पनि चुनौती भएको छ,’ उनले भने, ‘जाँगर गरे जग्गा धेरै नचाहिने रहेछ ।’

५० वर्ष उमेर पार गरेका उनी दैनिक बगैंचामै रमाउँछन् । फूलको बगैंचासँगै लोकल कुखुरा पनि पालेका छन् । अहिले लोकल कुखुराको माग धेरै बढेको छ । ‘तराईबाट फोन गरेरै लोकल कुखुरा सोध्छन्,’ दर्लामीले भने, ‘पाल्न सके जति पनि बिक्छन् ।’ फर्ममा तीन सयभन्दा बढी तीन जातका कुखुरा छन् । करिब दुई घन्टामा कपिलवस्तुबाट उनको घरमा पुगिन्छ ।

पछिल्लो समय च्याउ खेती विस्तार जताततै छ । खाने पनि धेरै भए । अग्र्यानिक, त्यसमा पनि स्वास्थ्यका लागि राम्रो मान्दै च्याउमा धेरैको रुचि छ । एउटा कोठाभित्र उत्पादन हुने भएकाले धेरै जग्गा चाहिँदैन । च्याउबाट राम्रो आम्दानी भएको उनले बताए । हराउँदै जान थालेका जडीबुटीलाई पनि उनले बचाइरहेका छन् ।

सामान्य बिरामी पर्दा बाबुबाजेले वन र खरबारीमा भएका जडीबुटी खाए पनि निको हुन्थ्यो । औषधिले यसको महत्त्व घटेको छ । सामान्य ज्वरो, रुघाखोकी, शरीरमा चोटपटक लागेमा जडीबुटी खोज्न आउने गरेको उनले बताए । उनको काममा श्रीमतीले सघाउँछिन् । सबै कामका लागि तीन जनालाई रोजगारी दिएका छन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?