कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताजियाले जोडिदैँ हिन्दु–मुस्लिम

परासी — हिन्दु र मुस्लिम समुदायका आफ्नै चाडपर्व र मौलिक परम्परा छन् । उनीहरू एक–अर्काका चाडमा विरलै रमाएको देखिन्छ । तर, पश्चिम नवलपरासीमा प्रत्येक वर्ष दुवै धर्मावलम्बीलाई मोहर्रमले जोड्ने गरेको छ ।

ताजियाले जोडिदैँ हिन्दु–मुस्लिम

धार्मिक सहिष्णुताको उदाहरणका रूपमा रहेको यो पर्वमा विशाल ताजिया निर्माण गरिन्छ । मोहर्रम अर्थात् ताजिया मेला शनिबारदेखि सुरु भएको छ ।

मोहर्रम मुस्लिमको मुख्य पर्व हो । त्यसको अवसरमा अहिले जिल्ला झकिझकाउ बनाइएको छ । मेला स्थल दुलहीजस्तै सजाइएको छ । अरबी क्यालेन्डर अनुसारको पहिलो महिना मोहर्रमको १० गते अर्थात् असोज ६ गतेका दिन इस्लाम धर्मका संरक्षक हजरते इमाम हुसैनको सम्झनामा ताजिया बनाई मेला भर्ने गरिन्छ । यस वर्ष जिल्लाका महेशपुर, भुजहवा र अन्य स्थानमा विशाल ताजिया निर्माण गरेर मेला आयोजना गरिएको छ । मेलामा हिन्दु धर्मावलम्बीको समेत घुइँचो लागेको छ ।

इस्लाम धर्मका संरक्षक हजरत इमाम हुसैन रदीअल्लाहो तआला परिवारसहित ७२ जना लिएर तत्कालीन यजिदसँग लडाइँ गर्न इराकको बगदादस्थित करबला पुगेका थिए । इस्लाम बचाउन पुगेका इमाम हुसैनले सहादत प्राप्त गरे । त्यसैले उनको सम्झनामा ताजिया बनाउने गरिएको हो । यस दिन मुस्लिमले व्रत बस्ने, दान गर्ने, फातिहा खानी गर्ने, नमाज र कुरान पढ्नेजस्ता काम गर्छन् । हिन्दु धर्मावलम्बीले पनि आत्माको शान्तिको कामना गर्दै मेलामा भाकल तथा वर माग्ने चलन छ ।

सरावल गाउँपालिका ७ भुजहवामा बाँस र कागज प्रयोग गरेर ५० फिट उचाइ र २५ फिट चौडाइको ताजिया बनाइएको कालिगढ मोहम्मद हुसैनले बताए । १८ खण्डको ताजिया एक वर्ष लगाएर निर्माण गरिएको हो । हुसैनको सम्झनामा निर्माण गरिएको ताजिया मेला तीन दिनसम्म सञ्चालन हुन्छ ।

प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले मेलाले हिन्दु र मुस्लिम समुदायबीचको आत्मीयता प्रगाढ बनाउनुका साथै धार्मिक सहिष्णुताको राम्रो उदाहरण प्रस्तुत गरेको बताए । ‘सबै धर्मको सार अरूलाई दुस्ख नदिने र विश्व शान्ति नै हो,’ मेला हेर्न आएका उनले भने, ‘यस मेलाले वर्षौंदेखि यस क्षेत्रका हिन्दु र मुस्लिम समुदायलाई जोड्ने काम गरेको छ ।’

मेलामा मुस्लिमजत्तिकै अन्य समुदायका मानिसको पनि भीड लाग्ने गर्छ । तिनले आत्मा शान्तिको कामना गर्दै प्रार्थनामा सहभागी हुने गरेको फैजने अहले बैत्त संस्थाका अध्यक्ष एसजी हुसैनले बताए ।

‘ऐतिहासिक मेलामा नेपालका हजारौं भक्तजन आउने गर्छन्,’ उनले भने, ‘दुवै धर्मका स्थानीय बासिन्दाको सहयोगमा बर्सेनि मेला सञ्चालन भइरहेको छ ।’ धार्मिक आस्थासँगै विभिन्न प्रतियोगिता सञ्चालन गरेर मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ । मौलिक संस्कृति जगेर्ना हुनुका साथै धार्मिक सहिष्णुता कायम गर्ने यस मेलालाई विशेष रूपमा मनाइने गरिन्छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?