कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयो दसैं: घर पोत्ने चटारो

माडी क्षेत्रका बर्जिबाङ, बेलवास, गोठीबाङ र प्यूठान नगरपालिकाका सेपुङ, आरनेटा र फूलघाटलगायत क्षेत्रका महिलाको रातोमाटो लिन चाल्नेटारमा भीड

प्यूठान — चाडपर्व नजिकिँदै गर्दा जिल्लाका गाउँघरमा महिलालाई रातोमाटो र कमेरो जोहो गर्ने चटारो बढेको छ । वर्षाको पानीले पखालेका घरका भित्ता पोतेर रंगीन तुल्याउन उनीहरू टाढाटाढा पुगेर रातोमाटो र कमेरोको जोहो गर्छन् । यहाँका प्राय: घरले दसैंअघि नै घर पोतेर चिटिक्क तुल्याउँछन् ।

आयो दसैं: घर पोत्ने चटारो

प्रत्येक वर्ष दसैं/तिहारका लागि घर पोतेर आकर्षक बनाउने गरेको स्वर्गद्वारी नगरपालिका ८ बर्जिबाङकी सीता खड्काले बताइन् । ‘वर्षाको पानीले गत वर्षको माटो पखालेको हुन्छ,’ उनले भनिन्, ‘वर्षा रोकिएपछि हिउँद लाग्नुअघि पोतिसक्छाैं ।’ चाल्नेटारको रातोमाटो राम्रो भएकाले माडी क्षेत्रका धेरै महिला यहीं आउने गरेको खडकाले बताइन् । माडी क्षेत्रका बर्जिबाङ, बेलवास, गोठीबाङ र प्यूठान नगरपालिकाका सेपुङ, आरनेटा, फूलघाटलगायतका स्थानबाट रातोमाटो लिन चाल्नेटार आउँछन् ।


चाल्नेटारको रातोमाटो खन्नका लागि सजिलो भएकाले धेरै महिला यतै आउने गरेको स्थानीय पार्वती थापाले बताइन् । ‘अन्यत्र ठूला ढिस्को भएकाले पुरिने डर हुन्छ,’ उनले भनिन्, ‘चाल्नेटारमा जताततै समथर छ । खन्न पनि उत्तिकै सजिलो छ ।’ यहाँको माटो बजारमा पाइने गेरुभन्दा राम्रो रहेको उनले बताइन् । ‘यहाँको माटोले पोतेको घर देख्दा सबैले गेरुजस्तो माटो रहेछ भन्छन्,’ उनले भनिन्, ‘त्यसैले सधैं घर पोत्ने माटो खोज्न चाल्नेटार नै आउने गर्छौं ।’


अहिले जिल्लाभर घर पोत्ने चटारो छ । रातोमाटो, कमेरो खोजेर घर पोत्ने काम महिलाले नै गर्ने चलन हरेक गाउँमा परम्पराजस्तै बनेको प्यूठान नगरपालिका ३ सेपुङका मीनबहादुर कुँवरले बताए । गाउँका महिलाले बर्जिबाङको चाल्नेटारबाट रातोमाटो ल्याएर घर पोत्न सुरु गरिसकेको उनले बताए । ‘पुरुषले बारी जोत्न थालेका छन्,’ उनले भने, ‘महिलालाई रातोमाटो र कमेरोको जोहो गरेर घर लिपपोत गर्ने चटारो छ ।’ ढुंगाले छाएका घरमा रातोमाटो र कमेरोले पोतेपछि निकै राम्रो देखिने उनले बताए ।


जिल्लाका ४५ हजारमध्ये ३५ हजार घरमा रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन रहेको जिल्ला समन्वय समिति संयोजक केशवराज आचार्यले बताए । ‘कुनै समुदायमा रातोमाटो मात्रै त कुनैमा कमेरो मात्रै पनि लगाउने चलन छ,’ आचार्यले भने, ‘धेरैले रातोमाटो र कमेरो दुवै लगाउने गर्छन् ।’ गाउँका घरहरू रातोमाटो र कमेरोले सजिएपछि मात्रै दसंै–तिहार आयो भन्ने झल्को दिने उनले बताए ।

प्रकाशित : आश्विन ९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?