१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

फेसबुक अभियानले गाउँमा एम्बुलेन्स

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गको पीपलडाँडाबाट कालीगण्डकी बेंसीमा गाडी चल्न थालेको १० वर्ष भयो । अहिले पनि सडकका कारण नियमित सवारी साधन सञ्चालन हुँदैनन् । वर्षा लागेपछि अधिकांश समय बन्द हुन्छ ।

फेसबुक अभियानले गाउँमा एम्बुलेन्स

गाउँका धेरै मानिस दिउँसोमा बिरामी पर्दा भाडाका गाडी रिजर्भ गर्न पनि नपाउने अवस्था थियो । तानसेनबाट आलोपालो प्रणालीमा पुगेका गाडी रिजर्भ गर्नसमेत रातिको समय कुर्नुपर्ने बाध्यता थियो । कोही बिरामी पर्‍यो भने कम्तीमा ५/६ हजार रुपैयाँ तिरेर तानसेन, बुटवल, पोखरा बिरामी लैजान यस भेगका बासिन्दा बाध्य थिए ।


गाउँको यस्तै दु:ख देखेर खाडी मुलुक कतार पुगेका रम्भा १ हुँगी साठीगाउँका ईश्वर काफ्लेको फरक सोच आयो । उनले गाउँबाट एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाए । आफैं कामको खोजीमा कतार पुगेका उनलाई यति धेरै रकम कहाँबाट ल्याउने भन्ने चिन्ता लाग्यो । यस्तो सपना उनको केही वर्षअघिको हो । यतिबेला भने उनको त्यो अचम्मको सपना पूरा भएको छ । फेसबुकमा राखेको स्ट्याटसले उनको गाउँमा एम्बुलेन्स जुटेको छ । ‘मैले फेसबुकमा एम्बुलेन्स चलाउने योजनासहित सहयोगका लागि आग्रह गरेको थिएँ,’ उनले आइतबार एम्बुलेन्सको चाबी हस्तान्तरण कार्यक्रममा भने, ‘अहिले त्यो सपना पूरा हुँदा आफैंलाई विश्वास लागेको छैन ।’


थ्रीस्टार युवा क्लब हुँगीका अध्यक्षसमेत रहेका उनले फेसबुकबाटै अभियान चलाएका थिए । अभियानमा सबैले उनलाई साथ दिए । देश र विदेशमा बस्ने सबैको धेरैथोरै सहयोगबाट गाउँमा एम्बुलेन्स जुटेको छ । ‘थोरैथोरै सबैको सहयोगबाट अहिले एम्बुलेन्स चलाउन पाउने अवस्थामा पुगेका छौं,’ उनले भने, ‘यस भेगका बासिन्दा मात्र होइन, छिमेकी स्याङ्जा जिल्लाकालाई समेत यसले फाइदा पुग्नेछ ।’


मुलुकभित्रै गाडी किन्दा निकै महँगो पर्ने भएपछि सरकारबाट भन्सार छुटको प्रक्रिया अघि बढाए । दर्तावाला संस्थामार्फत भन्सार छुटमा गाडी ल्याउन पहल गरे । विभिन्न सहयोगीमार्फत योजना सफल बनाएर छाडेको काफ्लेले सुनाए ।


‘एम्बुलेन्स यस क्षेत्रका सबै बासिन्दाका लागि आएको हो,’ उनले भने, ‘जसले गर्दा भोलिका दिनमा दु:ख बिमार हुँदा सबैले प्रयोग गर्न पाऊन् भन्ने चाहना हो ।’ फेसबुकबाट ६ लाख ३० हजार रुपैयाँ जुटेको थियो । बाँकी रकम आफंैले खर्च गरेको उनले बताए ।


संघीय सांसद गगन थापाले रम्भा गाउँपालिका १ हुँगीका अध्यक्ष कृष्णप्रसाद रेग्मीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । ‘विदेशमा बस्ने युवाले गास कटाएर दिएको रकमबाट एम्बुलेन्स खरिद भएको रहेछ,’ उनले भने, ‘ईश्वरले जस्तै अन्य युवाले पनि आफ्नो गाउँका विषयमा सोचेर काम गर्ने हो भने मुलुकलाई फाइदा नै पुग्छ ।’


संघीय सांसद थापाले
रेमिट्यान्सले मुलुक धान्नुपर्ने अवस्था रहेको बताए । युवाले खाडी र अन्य मुलुकमा गएर काम गरेर पठाएको पैसाले मुलुक धानिन परेको अवस्थामा विदेशमा बस्ने युवामा आएको सोच अतुलनीय रहेको उनले बताए । सांसद थापाले एम्बुलेन्स खरिद गर्नु मात्र ठूलो कुरा नभएकाले यसलाई सही व्यवस्थापनका साथ सञ्चालन गर्नु अर्को चुनौती रहेको बताए ।


प्रदेशसभा सांसद वीरबहादुर रानाले गाउँगाउँबाट एम्बुलेन्सले सुविधा दिँदा जनताको स्वास्थ्यमा धेरै फाइदा पुग्ने बताए । रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले विदेशमा बस्ने युवामा आएको नयाँ सोचले यस क्षेत्रका जनताले फाइदा पाउने बताए । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनताको सेवा सुविधाका लागि आएको एम्बुलेन्स सञ्चालनमा गाउँपालिका सदैव सहयोग गर्न तयार रहेको बताए ।


रम्भा गाउँपालिका १ हुँगीका वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एम्बुलेन्सले गर्दा यस क्षेत्रका बिरामीले धेरै फाइदा पाउने बताए ।


क्लबका सल्लाहकार नारायण भट्टराईले हुँगीबाट विभिन्न मुलुकमा गएका युवा र अन्य समुदायले पनि एम्बुलेन्सका लागि सहयोग गरेको बताए ।

प्रकाशित : आश्विन ९, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?