कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाको अवैध चोरी निकासी

मनोज पौडेल

कपिलवस्तु — जिल्लाका विभिन्न खोला नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । ठेक्का नलाग्दा चोरी बढेको हो । चोर र तस्करले रातारात खोलाबाट बालुवा र मिस्कट चोरेर निकासी गर्ने गरेका छन् । सबैभन्दा धेरै वाणगंगा नदीका नाकाबाट बालुवा र मिस्कट चोरी भइरहेको स्थानीयले बताए ।

बालुवाको अवैध चोरी निकासी

वाणगंगा नदीको पुलको उत्तरी जंगल क्षेत्र, दक्षिणी क्षेत्र, बालापुर, कोइली वनगाई र कुश्मालगायतका क्षेत्रबाट चोरी बढेको हो ।


कपिलवस्तु नगरपालिका ९ कुश्मास्थित बैरेनी घाटबाट दिनहुँ रातिमा बालुवा र मिस्कट चोरी भइरहेको वडा सदस्य खगेश्वर पौडेलले बताए । गाउँ जोखिममा परेपछि स्थानीयले नदीजन्य पदार्थ निकाल्न दिएका थिएनन् । त्यहाँ नदीजन्य पदार्थको थुप्रो लागेको छ ।


वर्षौंदेखि गाउँलेले ठेक्का लाग्न नदिएपछि थुप्रिएको बालुवा र गिट्टीमा तस्करका आँखा परेका हुन् । ‘ठेक्का पनि लागेको छैन, चारैतिर बालुवा र गिट्टीको अभाव छ,’ वडा सदस्य पौडेलले भने, ‘यही मौका छोपी तस्करले त्यहाँबाट रातारात चोरी गरेर लाने गरेका छन् ।’ दुई सातायता दैनिक १० देखि १५ ट्रयाक्टर/ट्रलीले रातिमा बालुवा र मिस्कट ओसार्ने गरेको उनले बताए ।


एक दिन पिछा गर्दै जाँदा तस्करले लु३त ९१३७ नम्बरको ट्रयाक्टरबाट रातारात बालुवा निकालेर नदीसँगै सटेर रहेको वाणगंगा नगरपालिका ६ वनकसियास्थित क्रसरमा लगेर झारेको उनको दाबी छ । रातारात नदीबाट बालुवा चोरी हुँदा पनि स्थानीय प्रहरी मौन बसेको कपिलवस्तु नगरपालिका ९ का अध्यक्ष शिवबहादुर वाग्लेले बताए । ‘प्रहरी नै चोरी नियन्त्रण गर्न सक्रिय हुनुपर्छ,’ उनले भने, ‘चोर्नेमाथि कडा कारबाही पनि हुनुपर्छ ।’


तस्करले चोरी गरेको बालुवा, मिस्कट क्रसर र बालुवा संकलन केन्द्रमा लग्ने गरेका छन् । कतिपय अवस्थामा उनीहरूले नदीजन्य पदार्थ बिक्री गर्ने व्यवसायीलाई बिक्री गर्छन् । नभए व्यवसायीको भ्याट बिल प्रयोग गरेर अन्यत्र बिक्री गर्ने गरेको उनले बताए ।


अहिले नदीजन्य पदार्थको ठेक्का नलाग्दा बालुवा र गिट्टीको अभाव छ । माग बढदा भनेअनुसार मूल्य पाइन्छ । त्यही भएर अहिले जताजतै चोरी बढेको वडाध्यक्ष वाग्लेले बताए । हाकाहाकी भइरहेको चोरी निकासीका बारेमा प्रहरीलाई जानकारी दिँदा पनि नियन्त्रणको प्रयास नभएको स्थानीय कमल खनालले बताए । ‘रातभर नदीजन्य पदार्थ लिन ट्रयाक्टर हिँडेका हिँड्यै गर्छन्,’ उनले भने, ‘हामी मुकदर्शक भएर बसेका छौं ।’


थोरै जनशक्ति धेरै ठाउँ खटिनु पर्दा समस्या भइरहेको इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक चन्द्रबहादुर केसीले बताए । ‘स्थानीयले पनि चासो दिनुपर्छ,’ उनले भने, ‘हामी सहयोग गर्न तयार छौं ।’ चोरी नियन्त्रणमा नगरपालिकाले सक्रियता देखाउनुपर्ने उपरीक्षक मनोजकुमार यादवले बताए । ‘प्रहरीलाई चोरी निकासी नियन्त्रण गर्न कडा निर्देशन दिएको छु,’ उनले भने, ‘वाणगंगा नगरपालिका पनि समन्वय गरेर अघि बढ्नुपर्छ ।’


नदीजन्य पदार्थको चोरी निकासी बढेपछि वाणगंगा नगरपालिकाले चासो देखाएको छ । धेरै गुनासो बढेपछि नगरपालिकाले अनुगमन गर्दा चोरी हुने गरेको भेटिएको उपप्रमुख चक्रपाणि अर्यालले बताए । अनुगमन समितिले खोलानजिक अवैध रूपमा चोरी निकासी गरी संकलन गरिएको नदीजन्य पदार्थ नियन्त्रणमा लिएको उनले बताए । नगरपालिकाको राजस्व फाँटका अनुसार ३ साताको अवधिमा १ लाख ७८ हजार रुपैयाँ बराबरको नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको छ ।


नदी आसपास विभिन्न क्षेत्रमा अवैध रूपमा डम्पिङ गरी राखिएको सामग्री नियन्त्रणबाट उक्त रकम उठेको राजस्व फाँटका प्रमुख शान्तराज आचार्यले बताए । यस्तै इप्रका पिपराले भदौ अन्तिम सातासम्म चोरी निकासी गर्ने सवारी साधनलाई नियन्त्रणमा लिँदा १ लाख २० हजार रुपैयाँ जरिवाना उठेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन १०, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?