गाउँमा पानीको पिरलो

मनोज पौडेल

कपिलवस्तु — बुद्धभूमि नगरपालिका १० देवपुराकी ७० वर्षीया मुरली केवटले ४ दिनदेखि नुहाएकी छैनन् । ‘जीउ चिलाएर खपी नसक्नु भयो,’ उनले भनिन्, ‘अब के गर्ने, कता जाने तनावमा छु ।’ उनीजस्तै लौहरौलाका गोरख केवटका बस्तुभाउ पनि प्यासैमा छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० झलवास्थित एक चापाकलमा पानी नआएको गुनासो गर्दै स्थानीय । तस्विर: मनोज

‘आफूलाई पिउन पानी छैन,’ उनले भने, ‘बस्तुलाई कहाँबाट ल्याऊँ पानी †’ पानी नपाएर गाईभैंसी दिनभर कराउने गरेको उनले बताए ।

पिपरहवास्थित तिलौराकोट अर्थात् सोनी इँटा उद्योगछेउमा डिप बोरिङ सञ्चालन गरिएपछि स्थानीय ३ गाउँका १ सय घर प्रभावित भएका हुन् । ५ सय फिट तल गाडिएको बोरिङ सञ्चालन गर्नासाथ छेउछाउका देवपुरा, लौहरौला र सकुम्बासी बस्तीका ट्युवबेल सुकेका हुन् । शनिबारबाट ट्युवबेलमा पानी नआएपछि जीवन कष्टकर बनेको छ ।

देवपुराका गोरख केवटको (ट्युवबेल) नल पहिले सुक्यो । त्यसको दुई घण्टापछि गाउँका सबै नलबाट पानी आउन छाडेको स्थानीय उमेश केवटले बताए । ‘प्रचण्ड गर्मीका बेला गाउँमा पानी नआउँदा समस्या भयो,’ स्थानीय बुबालाल केवटले भने, ‘एक गिलास पानीका लागि पनि तड्पनु पर्ने भयो ।’

उनीहरूका अनुसार चापाकल जति चलाए पनि पानी आउँदैन । थोपा मात्र चुहिन्छ । देवपुराका सुभास र केदार केवटको नल चलाउँदा चलाउँदै फुट्यो । ‘हाम्रो पीडा कसले सुन्ने ? पानी नपाएरै मर्ने बेला भयो,’ केदारले भने, ‘सत्रुलाई पनि यस्तो पीडा दिइँदैन ।’

समस्याबारे स्थानीयले इँटा उद्योगमा पनि गुनासो सुनाए । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । उद्योगले बोरिङबाट पानी तानिरहेको छ । गाउँलेको दैनिकी पानीबिना चल्दैन । साँझ–बिहान पानी नभई हुँदैन । चुलोचौकादेखि कपडा धुन, शौचालय जान र नुहाउन पनि पानी नै चाहिन्छ । पानी नभएपछि कुन्ती केवटले एक हल गोरुलाई दाना मात्र खुवाइरहेको बताइन् । ‘चौपाया बाहिर छाड्न पनि मिल्दैन,’ उनले भनिन्, ‘खेतमा धान र तरकारी छ ।’

स्थानीयले ३ सय फुटभन्दा गहिराइमा गाडेका नल पूर्णत: सुकेका छन् । कम गहिराइ भएका दुई/तीन नलमा भने थोरै पानी आउँछ । त्यसबाट एक घण्टामा मुस्किलले एक बाल्टिन भरिन्छ । माथिल्लो भागमा पाइने पानीको सतह धेरै शक्ति भएको मोटरबाट तानिएपछि छेउछाउका चापाकल सुक्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख युद्धप्रसाद गुप्ताले बताए । समस्या समाधानका लागि त्यहाँ गाडिएको डिप बोरिङ थोरै समय मात्र चलाउन सकिने उनले बताए ।

पानी सुकेपछि धानबाली डढ्न थालेको छ । तरकारीका बेर्ना ओइलाएका छन् । तीन कट्ठामा फूलगोभी, टमाटर र खुर्सानी रोपेका गोरख केवट निराश छन् । सिँचाइ गर्न नपाउँदा बेर्ना सुकेको उनले बताए । ‘१५ हजार रुपैयाँको लगानी डुब्ने भयो,’ उनले भने, ‘यो पीडा कसलाई सुनाउने ?’ सिँचाइ नभएपछि गाउँमा १ सय हेक्टरभन्दा बढीमा लगाएको तरकारी बाली डढ्न थालेको छ ।

गाउँलेले बुद्धभूमि नगरपालिकालाई समस्याबारे जानकारी गराए पनि सुनुवाइ नगरेको बताए । इँटा उद्योगका सञ्चालक महबुव मियाले बोरिङले समस्या नपारेको दाबी गरे । कृषकको उपभोक्ता समूह बनाएर आफूले उद्योगका लागि उक्त बोरिङ गाडेको उनले बताए ।

प्रकाशित : आश्विन ११, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

नमुना बन्यो जेठो विद्यालय

काशीराम डाँगी

रोल्पा — जिल्लाकै जेठोमध्येको बालकल्याण उच्च माविमा अध्ययन गरेका थुप्रै विद्यार्थी अहिले राजनीतिको माथिल्लो तहमा पुगेका छन् ।

पटकपटक मन्त्री भइसकेका सघीय संसदका सभामुख कृष्णबहादुर महराले सदरमुकामस्थित यही विद्यालयमा अध्ययन गरेर अध्यापनसमेत गरेका थिए । माओवादीको भूमिगत राजनीतिमा लाग्नुअघि उनी करिब १२ वर्षसम्म यस विद्यालयमा विज्ञान विषयको शिक्षक रहे ।


घरदेखि विद्यालय एक दिन टाढा भए पनि हालका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यही विद्यालयमा पढेका थिए । नेकपाका महासचिव नेत्रविक्रम चन्द, मन्त्रीहरू वर्षमान पुन, कुलप्रसाद केसी, पूर्वसभामुख ओनसरी घर्ती, नेताहरू जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी, जोखबहादुर महरा, दीपेन्द्र पुन, जिसस संयोजक राजबहादुर बुढालगायत दर्जनौंले यही विद्यालयमा अध्ययन गरेका हुन् ।


अहिलेका थुप्रै नेताले अध्ययन गरेको विद्यालय भएकाले उनीहरू सत्ता र शक्तिमा पुगेपछि यस विद्यालयको भौतिक उन्नति र विकासका सघाउ पुगेको जो कसैले अडकल काट्न सक्छ । तर, यो यत्तिमै सीमित छैन । यस उच्च माविलाई सरकारले नमुना विद्यालय पनि घोषणा गरिसकेको छ । शैक्षिक गुणस्तर, भौतिक अवस्था तथा विद्यार्थी संख्याका आधारमा विद्यालय जिल्लाकै अग्रणीमा पर्छ । यहाँ भर्ना हुने विद्यार्थीको संख्या वृद्धि भइरहेको छ । अहिले ४ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये छात्रा ५३ प्रतिशत छन् ।


रोल्पा नगरपालिकाभित्रको यस विद्यालयमा भर्ना हुनका लागि जिल्लाका अन्य ९ वटा गाउँपालिकाबाट विद्यार्थी आउँछन् । व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेका अनुसार विद्यालयको भौतिक, शैक्षिक एवं बाहिरी वातावरणलाई उचित बनाउन योजना अघि सारिएको छ । आफैंले अध्ययन गरेको विद्यालयमा मधुसुदन पोखरेल २०६५ यता प्रधानाध्यापक छन् । उनले ०५२ देखि अध्यापन गर्दै आएका हुन् ।


विद्यालयका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीको संख्या १ हजार ५ सय छ । कक्षा ११ र १२ तथा छुट्टाछुट्टै २ वटा प्राविधिक शिक्षाअन्तर्गतका कक्षामा गरी करिब २ हजार ५ सय विद्यार्थी भर्ना हुने गरेका छन् । विद्यालयमा कक्षा १ देखि ८ सम्म अंग्रेजीमा समेत पढाइ हुन्छ । प्राविधिकतर्फ ३ वर्षे र १८ महिने गरी छुट्टाछुट्टै पढाइ भइरहेको छ । ०५२ देखि कक्षा ११ र १२ को पढाइ थालिएको उक्त विद्यालयमा ०६७ मा १८ महिने र ०७२ मा ३ वर्षे प्राविधिक विषयको पढाइ सुरु गरिएको थियो ।


प्रधानाध्यापक पोखरेल विद्यालयको शैक्षिक गुणस्तर कायम राख्नैपर्ने चुनौती झन् थपिएको बताउँछन् । कडा अनुशासन कायम गरिएकाले अधिकांश अभिभावकले आफ्ना छोराछोरी यहाँ भर्ना गर्ने गरेका छन् । नियमित विद्यालय खुल्नुका साथै पढाइ हुनु, पारदर्शी एवं प्रभावकारी परीक्षा प्रणाली भएकाले विद्यार्थीको संख्या वृद्धि भएको पोखरेलले बताए ।


उनका अनुसार विद्यालयमा शैक्षिक वातावरण कायम गर्नुका साथै शिक्षक, अभिभावक, व्यवस्थापन समिति पदाधिकारी र विद्यार्थीबीच नियमित समन्वय भएकाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको हो । गत वर्षको एसईई परीक्षामा उक्त विद्यालयबाट नियमिततर्फ ९० विद्यार्थी उत्तीर्ण भएका थिए । मौका परीक्षासमेत गरी उक्त वर्षको एसईई परीक्षामा करिब ३ सय विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रकाशित : आश्विन ११, २०७५ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्