सडक किनारमा हरियाली

बुटवलमा बिरुवा, तिलोत्तमामा फूलसँगै सरसफाइ
घनश्याम गौतम, अमृता अनमोल

रूपन्देही/बुटवल —  अभियानका रूपमा सुरु गरिएको तिलोत्तमा नगरपालिकाको सरसफाइ अभियानले सोमबार २५ औं शृंखला पूरा गरेको छ । समुदायमा आधारित हरियाली सहरअन्तर्गतको अभियानले बस्ती र सडक किनार फूल/बगैंचाले सिंगारिएर चिटिक्क परेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नगरपालिकाले ‘ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा’ अभियान सुरु गरेको थियो । सोमबार २५ औं पटक पुग्दा अभियानले दैनिक ५ हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने दुवै सडक किनार हरियालीसँगै सफा भएको र त्यसले वातावरण संरक्षणमा महत्त्वपूर्ण सहयोग पुगेको नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत सोमबार जानकीनगरदेखि कोटिहवासम्मको मुख्य राजमार्गका दुवै किनारमा हजारौं सर्वसाधारण सरसफाइमा सहभागी थिए । मुख्य सडकबाट छुट्टिएका शाखा सडकमा हरेक शनिबार सरसफाइ हुन्छ ।


नगरपालिकाले हरेक महिनाको १ र १५ गते अभियान सञ्चालन गर्छ । नगरपालिकाका सबै वडाका जनप्रतिनिधि, टोल विकास संस्था, सहकारी संस्थाका सदस्य सरसफाइमा सहभागी हुन्छन् । सडक छेउमा जम्मा हुने फोहोर व्यवस्थापनदेखि नाली सफा गर्ने, सडक किनाराका रूखका पात र हाँगा काटछाँटसम्मका काम सबैले एकैसाथ गर्छन् । अभियानकै क्रममा सडक किनारमा झन्डै १६ हजार फूलका बिरुवा रोपिएका छन् । सडक छेउको झाडी फाँडेर रोपेका फूलसँगै बस्ती र सडककै सुन्दरता बढेको तिलोत्तमा २ जानकीनगरकी दुर्गा केसीले बताइन् । ‘सबैका घरअघि झाडी र फोहोरले दुर्गन्धित थियो,’ उनले भनिन्, ‘अहिले सडकमा फुलेका फूलसँगै घरवरिपरि पनि सफा र सुन्दर छ ।’ आफ्नै घरअघि समेत सरसफाइ नगर्ने गरेका टोलवासीलाई नगरपालिकाले सामूहिक जागरुकता गराएको उनले बताइन् ।


सोमबार झन्डै ६ किलोमिटर लामो बाटो सरसफाइ अभियानमा ४ हजारभन्दा बढी सर्वसाधारण सहभागी थिए । नगरपालिकाको हरियाली प्रवद्र्धन अभियानमा विभिन्न टोल विकास संस्था, सहकारी, खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, क्लब, आमा समूह, शिक्षण संस्थालगायतको सक्रियता रहेको नगरप्रमुख वासुदेव घिमिरेले बताए । हरेक अभियानमा उनी, उपप्रमुख जागेश्वरी चौधरी र सबै वडाका वडाध्यक्षको उपस्थिति अनिवार्य छ । अभियानले घरमा उत्पादित फोहोर घरमै व्यवस्थापन गर्न पनि सिकाएको छ ।


‘यो सबै नगरवासीको साझा अभियान हो,’ नगरप्रमुख घिमिरेले भने, ‘नगर सफा गर्न स्थानीयको सक्रियतापछि अहिले नगरपालिकाले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना तयार गर्दैछ ।’ सुरुमा कडाइका साथ अनिवार्य उपस्थिति गरिएको अभियानमा अहिले सबै सर्वसाधारण स्वस्फूर्त सहभागी हुने उनले बताए ।


नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले चालु वर्षका लागि वातावरणीय हरियाली प्रवद्र्धन गर्न मात्र आन्तरिक स्रोतबाट १ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । त्यसबाहेक हरेक टोल विकास संस्थाले आफ्नो टोल सरसफाइ र सुधारका लागि उनीहरूकै योजनाअनुसार अनुदान दिन ८० लाख रुपैयाँ छ । ‘हरियाली प्रवद्र्धनअन्तर्गत तारबार, वृक्षरोपण, नर्सरी व्यवस्थापन, फूल बगैंचा व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने, ‘सामुदायिक वनमा गार्डेन निर्माणदेखि सडकमा तारबारसम्मका योजना र सामग्रीका लागि अनुदान छ ।’ सबै टोलमा गठन भएका टोलविकास संस्थाले समूहगत छलफलबाटै योजना छनोट गर्ने गरेकाले हरियाली प्रवद्र्धनसँगै सामुदायिक सद्भाव र सहकार्यको समेत विकास भएको उनले बताए ।


‘१ घर २ बिरुवा’ अभियान
हरियाली मासेर कंक्रिटका घरले बुटवल कुरूप बन्दै गएपछि बुटवल उपमहानगरपालिकाले हरियाली जोगाउन ‘१ घर २ बिरुवा’ अभियान सुरु गरेको छ ।


अभियानअन्तर्गत हरेक घरअघि २ वटा बिरुवा अनिवार्य हुर्काउनुपर्ने भएको छ । घरैघरले भरिएको बुटवलको सहरी सौन्दर्य बढाउन र हरियाली कायम राख्न सडक वृक्षरोपण अभियान थालेको प्रमुख शिवराज सुवेदीले बताए । ‘हरेक घरअगाडिको सडकमा बिरुवा रोप्दा दीर्घकालीन रूपमा वातावरण संरक्षण गर्न र कार्बनको सट्टा अक्सिजन उत्सर्गन गर्नसमेत सहयोग गर्नेछ भन्ने अपेक्षा छ,’ उनले भने, ‘यसैले पनि १ घर २ बिरुवालाई सबै घरमा पुर्‍याउने नीति बनाएका हौं ।’


बुटवलमा १२ वर्षअघि राजमार्ग क्षेत्र हरियाली बनाउन राजमार्गका घरअगाडि वृक्षरोपण सुरु भएको थियो । त्यतिबेला रोपिएका रूख ६ लेन सडक विस्तारमा फालिए । शुक्रपथसहित धेरै भित्री सडकमा पनि लहरै रूख थिए । नगरले कडाइका साथ अभियान नचलाएपछि रूख रोप्न पनि छाडियो । त्यसले धेरै सडक उजाड र उराठ बने । त्यही उजाड र उराठ अवस्था हटाउन यसै वर्षदेखि पुन: १ घर २ बिरुवा अनिवार्य गरिएको हो । नयाँ बन्ने घरको सम्पन्नता प्रमाणपत्र लिँदा २ बिरुवा हुर्केको हुनुपर्ने मापदण्ड नै छ । पुराना घरका लागि टोल विकास समितिमार्फत १ घर २ बिरुवा अनिवार्य छ । ‘अहिलेसम्म नागरिकको स्वेच्छामा मन लागे मात्रै रोपिएको थियो । यसो गर्दा प्रभावकारी भएन,’ उनले भने, ‘अब भने नगरभित्र घर बनाउने जो कोहीले १ घर २ बिरुवा अनिवार्य रोप्नु पर्नेछ ।’ वृक्षरोपणका लागि चालु वर्षमा ५९ लाख २५ हजार रुपैयाँ छुट्याएको छ । यसबाहेक उपभोक्ता सहभागितामा खर्च हुने गरी ४ करोड बजेट छ । मागका आधारमा यो रकमबाट समेत लागत साझेदारीमा वृक्षरोपण र व्यवस्थापनको काम हुने उनले बताए ।


बिरुवा हुर्कंदै जाँदा सडक र टोलको मात्र नभई घरको सौन्दर्य पनि बढ्छ । त्यस्तो सुन्दरता बुटवल ८ का उपभोक्ताले देखाइसकेका छन् । वडा नं. ४ को लक्ष्मीनगर क्षेत्र पनि सुन्दर छ । शुक्रपथ, त्रिभुवनपथ, पारिजात, अक्सफोर्ड, मिलन, शान्ति, लुम्बिनी, कुसुमलगायतका पथमा हरेक घरअघि २ बिरुवा हुर्केका छन् । वडाध्यक्ष नारायण ज्ञवालीले चालु आवमा थप ४ पथमा वृक्षरोपण गर्ने बताए । धर्मपथ सडकमा कालोपत्रे र वृक्षरोपणका लागि ५० लाख छुट्याइएको छ । खाली स्थान नभएपछि वडा नं. ५ मा भने १ घर १ गमला व्यवस्थापन थालिएको छ । त्यसमा लागत सहभागितामा ५ लाख रकम विनियोजन छ । अन्य वडाका लागि पनि बजेट छ ।


न्यूनतम सर्त मापनका लागि नगरपालिका तथा उपमहानगरपालिकाको १० प्रतिशत क्षेत्र हरियाली भए २ अंक थपिन्छ । लगातार उत्कृष्ट बनेको उपमहानगरले नम्बर बढाउन र अनुदान थप्न पनि अभियानलाई प्राथमिकता दिएको हो । ‘उपमहानगरले मात्रै दबाब दिँदा यो काम गर्न सकिँदैन,’ वरिष्ठ अधिकृत दामोदर ज्ञवालीले भने, ‘त्यसैले टोल विकास समितिलाई नै बिरुवा रोप्ने र हुर्काउनेजिम्मा दिएका छौं ।’


१ घर २ बिरुवाका लागि उपमहानगरले छुट्टै मापदण्ड बनाएको छ । इँटाको २ फुट चौडा र २ फुट उचाइको गमलामा जालीले सुरक्षित गरेर अशोका, धूपीलगायतका बिरुवा रोप्नुपर्छ । प्रत्येक गमलाको दूरी २० देखि २५ फुट हुनुपर्छ । १ बिरुवा रोप्दाको लगानी करिब ९ हजार लाग्छ । यसको ३० प्रतिशत उपमहानगरले टोल विकासमार्फत उपभोक्तालाई उपलब्ध गराउँछ । ७० प्रतिशत आफंैले लगाउनुपर्छ । नागरिक अगुवा माया गौतमले १ घर २ बिरुवाले बुटवल धेरै सुन्दर बन्ने बताइन् । ‘तर कतिपय सडक निकै साँघुरा छन् । कतिपय मिचिएका छन् । कतिमा नालीको क्षेत्रमै रूख रोपिएका छन्,’ उनले भनिन्, ‘यसले लामो समय बिरुवा राख्न सकिँदैन ।’ यस्तोमा सडक क्षेत्र र नाली कायम राखेर मात्रै बिरुवा रोप्न र हुर्काउन सहजीकरण गर्नुपर्ने उनले बताइन् ।

प्रकाशित : आश्विन १६, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

विदेश बिर्सेर गाउँमै च्याउ खेती

१६ हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका सुनार अहिले १ करोड रुपैयाँभन्दा बढीको लगानी जुटाउन सफल भएका छन् 
करिश्मा चौधरी

बाँके — ६ वर्ष विदेशको गर्मीमा बिताए । ६ वर्ष आफ्नै गाउँमा च्याउखेती गरे । बराबर समय । उस्तै मिहिनेत । खजुरा गाउँपालिका ३ के गाउँका लालबहादुर सुनारलाई आम्दानी र सन्तुष्टि भने स्वदेशमै धेरै मिल्यो । अहिले उनी व्यावसायिक च्याउ खेतीमा रमाएका छन् ।

‘अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,’ उनले भने, विदेशको दु:ख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएको हुँ ।’ ६ वर्ष कुवेतमा बिताएका सुनारले विदेशमा बस्नु आफ्नो मजबुरी भएको बताए । साहूको ऋण तिर्न भनेरै उनी विदेश हान्निएका थिए ।


विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन । उनले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाए । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत ६० हजार रुपैयाँबाट तरकारी खेती सुरु गरे । तरकारी खेती गर्दा ०६९ सालमा टहरा बनाएर १६ हजार रुपैयाँको लगानीमा च्याउ खेती सुरु गरे ।

सुरुमा १ सय २० पोकाबाट च्याउखेती सुरु गरेका उनी उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन् । १६ हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका सुनार अहिले १ करोड रुपैयाँभन्दा बढीको लगानी जुटाउन सफल भएका छन् । दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए । ‘लक्ष्मी बैंकबाट ३५ लाख रुपैयाँ ऋण लिएँ,’ उनले भने, ‘यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।’


टहराबाट च्याउखेती सुरु गरेका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाए । अहिले च्याउ लगाउनका लागि ८ वटा ठूला कोठा निर्माण गरेका छन् । पराल राख्ने, पराल पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ बनाएका छन् । उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गरेका छन् । च्याउ फर्ममा ५ जनाले नियमित रोजगारी पाएका छन् । सिजनमा २० जनाभन्दा धेरै हुन्छन् ।

आवश्यकताअनुसार दैनिक कामदार लगाउँछन् । कन्य च्याउको उत्पादन गर्दै आएका सुनारले यस सालदेखि गोब्रे च्याउको पनि उत्पादन सुरु गर्ने बताए । सुनारले च्याउ फर्मबाट राम्रो आम्दानी गर्छन् । च्याउको सिजन सुरु भइरहेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेचेका सुनारले यस वर्ष यसलाई बढाउने लक्ष्य लिएका छन् ।


उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालिमबिना नै च्याउ खेती सुरु गरेका सुनार अचेल आफैं तालिम दिन्छन् । मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा अनुभव भयो ।

आत्मविश्वास बढ्यो । यसैमा लागिपरे । कर्म गरे । रात दिन भनेनन् । ‘कर्म गरे अवश्य फल पाइन्छ,’ उनले भने, ‘हिजो १०/१५ हजारका लागि अरूसँग हात जोड्नु पथ्र्याे । आज २/४ लाख दिने मान्छे छन् ।’ व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । तर, उनी च्याउखेतीमै लागिपरे र सफल भए । ‘०७३ सालमा खोर नै सखाप भएको थियो । १७ लाखको लगानी खेर गयो । तर, हिम्मत हारिनँ,’ उनले भने, ‘साथीभाइको साथले फेरि सुरु गरें ।’ समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनले बताए ।


सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाएका छन् । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उनी बताउँछन् । ‘आफ्नो काममा खुसी र सन्तुष्ट छु,’ उनले भने, ‘तर, अझै धेरै गर्न बाँकी छ ।’

प्रकाशित : आश्विन १६, २०७५ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्