कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाको पानीले हिउँदको जोहो

पहिलेका वर्षायाममा घैंटा भरिभराउ हुन्थे । अहिले पानी कम पर्‍यो । घैंटा आधा मात्रै भरिए
वीरेन्द्र केसी

अर्घाखाँची — घरनजिकै धारा र कुवा छैनन् । आकाशे पानीकै भर छ उनीहरूलाई । वर्षामा पानी संकलन गरेर घैंटा भर्ने र हिउँदभरि त्यही पानीले गर्जो टार्छन् छत्रदेव गाउँपालिका २, बल्कोटका अधिकांश बासिन्दा ।

वर्षाको पानीले हिउँदको जोहो

बल्कोटकी सुनीता खनाललाई अहिले वर्षामा घैंटा नभरिएको चिन्ताले सताइरहेको छ । ‘वर्षा सकिनै लाग्यो । ४० हजार लिटरका दुई घैंटामा पानी आधा मात्रै छ,’ उनले भनिन्, ‘खै कसरी हिउँद पार लगाउने हो ?’


हिउँदका दिनमा एक गाग्री पानी ल्याउन कुवासम्म पुग्दा बिहानभरिको समय जान्छ । पानी नखाई कसरी बाँच्ने ? डोकोमा पानी बोक्दा डाढ र घुँडा दुख्ने उनले बताइन् । ‘औषधि खाइरहेकी छु,’ उनले भनिन्, ‘कुवामा पनि घण्टांै पालो पर्खनुपर्छ । जाडोको बेला घुँडा दुखेर पाइलै सार्न सक्दिनँ ।’


पहिलेका वर्षामा घैंटा भरिन्थे । अहिलेको वर्षामा भने पानी कम पर्‍यो । घैंटाको ढकनी खोलेर हेर्दा पानी आधा छ । अघिल्लो वर्षाका दु:ख सम्झँदा उनी चिन्तित छन् । ‘चार दिन भयो, कुवाबाट ६ गाग्री पानी बोकेर घैंटामा राखें,’ उनले भनिन्, ‘घैंटा भरिएका भए फागुन/चैतसम्मलाई पुग्थ्यो । बरू एक छाक अन्न नखाई भोकै सुत्न सकिएला तर पानी नखाई बस्नै सकिँदैन ।’


छत्रदेवका १, २, ३ र ४ वडाका बल्कोट, केरुंगा, चिदीका गाउँमा ०३२ सालमा छत्रगन्जको मढेलचौर मुहानबाट पानी ल्याइएको थियो । टोलैपिच्छे धारा थिए । १० वर्षअघि मुहानमाथिबाट डोजर लगाएर मोटरबाटो खनेपछि पानी सुक्यो ।


गाउँपालिकाका सबै वडामा घैंटा निर्माण भएका छन् । यहाँ फिनिडा नामक संस्थाले सबैका घरमा घैंटा निर्माण गरिदिएपछि गाउँलेलाई राहत मिलेको हो । वर्षा लागेपछि खुसी हुने बासिन्दा घैंटा नभरिँदा भने चिन्तित छन् । ‘वर्षाभरि डोकोमा पानी बोक्नु पर्दैन,’ बल्कोटकी सुनीता पौडेलले भनिन्, ‘आकाशको पानी भाँडोमा थाप्छौं, खान, कपडा धुन र भैंसी, बाख्रालाई खुवाउन पुग्छ । अब दु:खका दिन आए ।’


अचेल कुवामा धेरै महिला मात्रै देखिन्छन् । धेरैजसो घरका पुरुष रोजगारका लागि देशबाहिर र स्वदेशमै छन् । घरको जिम्मा महिलाको काँधमा छ । यसपालिको वर्षामा पानी कम पर्‍यो, त्यसैले घैंटा भरिन पाएनन् । बिरामी पर्दा, थकाई लाग्दा र काममा व्यस्त भएको दिन घैंटाको पानी चलाउन सजिलो होस् भनेर अहिले कुवाबाटै बोकेर घैंटामा पानी थपेको उनले बताइन् ।


वर्षामा आकाशे पानी घर र गोठका छानोबाट घैंटामा संकलन हुन्छ । घैंटाको पानी पिउँदा मिठो नहुने र स्वाद अर्कै भएपछि उमालेर खाने गरेको उनले बताइन् । ‘नउमाली खाँदा झाडापखाला लाग्छ । पेट दुख्छ,’ उनले भनिन् । पानी अभावले पशुपालन कम छ । केरुंगामा पुनाराम खनालले जवानीमा दिनको चार गाग्रीसम्म कुवाबाट पानी बोक्थे ।


उमेरले ७० नाघेपछि गाह्रो भएको छ । ग्यालिनमा बोकेर निर्वाह गरेका छन् । ‘छोरो विदेशमा छ । घरमा हामी बुढाबुढी मात्रै छौं,’ उनले भने, ‘कुवा नधाई पानी खान पाइँदैन ।’ ग्यालिनमा ५ लिटर पानी बोक्दा उनका हात दुख्छन् । ‘थकाइ मार्न दुई ठाउँ बस्छु, फेरि जाँगर चलेपछि बोकेर हिँड्छु,’ उनले भने, ‘बिरामी पर्दा कहिलेकाहीँ छिमेकीले ल्याइदिन्छन् । कहिले केटाकेटीलाई ५/१० रुपैयाँ दिएर पानी लिन पठाउँछु ।’


जिल्लाको पूर्वी क्षेत्रको यो बस्तीमा पानी ल्याउन सरकारी निकायबाट पहल नभएको होइन । तर, यहाँ पाइपबाट सीधै पानी ल्याउन सकिने मुहान छैन । जंगलसहितका अग्ला पहाड छैनन् । सबै भूभाग समथर छ । त्यसैले मुहानको अभाव छ । ‘सीधै पानी ल्याउने मुहान भेटिएन,’ बल्कोटका स्थानीय एवं कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले भने, ‘बस्तीदेखि १०/१५ किमि टाढा मुहान छैनन् । करिब २० हजार जनसंख्यालाई पुग्ने पानी चाहिन्छ । ठूला मुहानै भेटिएनन् ।’


जिल्लास्थित सरकारी निकाय र सम्बन्धित मन्त्रालयमा वैकल्पिक उपायबाट योजना सञ्चालन गर्न बारम्बार धाइरहेको उनले बताए । त्यो उपाय हो, खोलाको पानी लिफ्ट प्रविधिबाट डाँडोमा तान्ने । पानी बोक्दा धेरै महिला ढाड, कम्मर, घुँडा दु:ख्ने समस्याले पीडित भएको उनले बताए । केही घरलाई पुग्ने गरी कुवाबाट लिफ्ट प्रविधिबाट पानी तान्ने काम भइरहेको छ ।


छत्रदेव गाउँपालिकालाई नै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको अध्यक्ष लेखनाथ पोखरेलले बताए । ‘मुहानको खोजी कार्य जारी छ,’ उनले भने, ‘डाँडोमा पानी तान्ने, ठूला ट्यांकी बनाउने र त्यसमा पानी संकलन गरेर वितरण गर्ने गरी योजना बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ ।’

प्रकाशित : आश्विन १८, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?