कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाडा चौपाया संरक्षण गर्न गौशाला

लामो समयदेखि छाडा बस्तुभाउले मर्का परेको स्थानीयको गुनासोपछि गौशाला सञ्चालन गरिएको हो
नवीन पौडेल

परासी — छाडा पशुचौपायको व्यवस्थापन चुनौती बनिरहेका बेला त्यस्ता गाइवस्तुको संरक्षणका लागि पश्चिम नवलपरासीको रामग्राममा गौशाला सञ्चालन गरिएको छ । यस्ता चौपायले गाडी दुर्घटना बढ्नुका साथै स्थानीयको बाली खाइदिने समस्या थियो ।

छाडा चौपाया संरक्षण गर्न गौशाला

लामो समयदेखि छाडा वस्तुभाउले मर्का परेको स्थानीयको गुनासोपछि गौशाला सञ्चालन गरिएको हो ।

रामग्राम नगरपालिका ८ स्थित वडा कार्यालयलले शारदा गौशाला सञ्चालनमा ल्याएको हो । त्यहाँ नगरभित्रका चौपाया व्यवस्थापन सुरु गरिएको छ । उक्त वडाका अध्यक्ष महेन्द्र ठाकुरको प्रयासमा गौशाला सञ्चालन गरिएको हो । अहिले छाडा रहेका १० पशु राखिएको छ ।

पशु हाटबजारसँगैको डेढ बिगाहा सार्वजनिक जग्गामा दुई लाख रूपैयाँ खर्च गरेर तारबार गरिएको छ । त्यसभित्र वस्तुभाउ छाड्ने खाना र पानीका लागि कर्मचारी राखेर व्यवस्थापन गरिएको अध्यक्ष ठाकुरले बताए । ‘छाडा चौपायाले दुर्घटना बढाएको र बालीनाली खाएको गुनासोपछि हामीले व्यवस्थापन सुरु गरेका हौ,’ उनले भने,‘यसलाई थप बिस्तार गरेर दीर्घकालीन रूपमा समस्या समाधान गर्दै मलमुत्रबाट बायो ग्यास निकाल्ने योजनामा छौं ।’

गौशालाभित्र गाईवस्तुका लागि टहरा, खान र पिउनका लागि व्यवस्थित नाला निर्माण गरेर घाँस खेती गर्ने योजना छ । गोबरबाट बायोग्यास निकाल्ने, कम्पोस्ट मल तयार गरेर बेच्ने तयारी वडा कार्यालयले गरेको छ । गोवर ग्यास प्लान्ट सुरु भएपछि सडकका छाडा पशु मात्र नभएर गाउँमा किसानले पाल्न नसकेर गोठबाट धपाइएकालाई संरक्षण गर्ने जनाएको छ ।

रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुँवरले जिल्लामै नौलो सुरुवात गरिएको बताइन् । ‘राम्रो कामको सुरुवात वडाबाट भएको छ,’ उनले भनिन,‘अब यसको सञ्चालनका लागि नगरपालिकाले छुट्टै बजेट र योजना तर्जुमा गरेर स्वामित्व लिनेछ ।’ स्थानीयले भने गौशालाको निरन्तरता र व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

यहाँ मुख्य चोकमा चौपायाले सडक कब्जा गरेर बस्दा नगरको सुन्दरता गुमेको थियो । ‘आगामी दिनमा यिनको व्यवस्थापन संगै आम्दानी पनि लिन सक्नुपर्छ,’ स्थानीय सतिस चौधरीले भने, ‘खुल्ला चौरमा चरेका गाईवस्तुको मूत्रलाई प्रशोधन गर्न सकेमा बालीनालीमा जैविक विषादीका रूपमा प्रयोग गर्न सकिन्छ ।’ गौशालावरपरका स्थानीयलाई पाइप लाइनमार्फत ग्यास वितरण गर्न सकिने र गोबरलाई जैविक मलको रूपमा बिक्री गर्न सकिने कृषि ज्ञान केन्द्र प्रमुख राममिलन विकले बताए । ‘यो झन्झटिलो काम हो भन्दै सरोकारवालाले चौपाया व्यवस्थापनमा चासो देखाएका छैनन्,’ उनले भने, ‘यसबाट चौपायाको संरक्षणसँगै थप आम्दानी लिन सकिने भएकाले अन्य स्थानीय तहले सिको गर्न आवश्यक छ ।’

दुर्घटनाको जोखिम
जिल्लामा छाडा पशु चौपायका कारण दुर्घटनाको जोखिम छ । अहिले पनि पूर्वपश्चिम राजमार्गको बीचमा हूलका हूल चौपाय बसेको देखिन्छ । त्यसले दिनहुँ साना–ठूला दुर्घटना हुने गरेको प्रहरीले जनायो । यस्ता वस्तुभाउका कारण दुर्घटना हुँदा वैशाखदेखि असोज १५ गतेसम्म २ जनाको मृत्यु र ६ घाइते भएका छन् ।

रामग्राम, बर्दघाट र सुनवल नगरपालिकामा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताए । ‘पूर्वपश्चिम राजमार्ग र भित्री सडक ढाक्ने गरेर छाडा चौपाया बस्दा दुर्घटनाको जोखिम बढेको छ,’ उनले भने, ‘नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम अगाडि बढाएका छौ ।’ रातको समयमा सडकमा पशुचौपाय बस्दा दुर्घटना हुने तथा साना सवारी चालकले नियन्त्रण गुमाएर पल्टिने समस्या बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित : आश्विन २१, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?