कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा गुन्जियो सखिया

सखिया संरक्षणमा विद्यार्थी
कमल पन्थी

बर्दिया — दसैं नजिकिएपछि जिल्लास्थित बारबर्दिया नगरपालिका ११ बेलभारका थारू समुदायका किशोरकिशोरी परम्परादेखि चलिआएका आफ्ना मौलिक संस्कृति जोगाउन जुटेका छन्  । उनीहरू संस्कृति लोप हुन थालेपछि जिल्लाभर अभियान सञ्चालन गर्ने तयारीमा छन्  ।

गाउँमा गुन्जियो सखिया

रोजागारीका लागि जिल्ला र मुलुकबाहिर रहेका आफन्त मुलुक फर्किन थालेपछि यहाँ दसैंको रौनक सुरु भइसकेको छ । गाउँघरमा मादल बजेको सुनिन्छ । दिनहँु महाभारतमा आधारित सखिया नाचलाई निरन्तरता दिन थालेका छन् । यहाँ मिश्रित संस्कृतिले ठाउँ लिएपछि समुदायमा प्रचलित सखिया नाच हराउन थालेको थियो । रौनकता हराउन नदिन यहाँका विद्यार्थी लागेका छन् ।


दसैंको पूर्णिमासम्म सञ्चालन हुने सखिया नाचले गाउँमा रौनक हुन्छ । स्थानीय युवा, युवतीदेखि वृद्धसम्म उत्साहित छन् । वडा नम्बर ११ का अध्यक्ष अजय चौधरीले अन्य गाउँबाट थारू संस्कृति हराए पनि यहाँ चाडपर्वलगायत विशेष कार्यक्रममा नाच प्रस्तुत गर्ने गरेको बताए । संस्कृति बचाउन वडा कार्यालयले यहाँका युवायुवतीलाई आर्थिक सहयोग गरेकाले उत्साह बढेको उनले जनाए । दिनभर खेतमा काम सकिएर आएका किसान राति खाना खाएर नाच हेर्न जम्मा हुन्छन् । दिनहुँ गाउँमा रमाइलो हेर्नेको भीड लाग्छ ।


गाउँमा कृष्ण जन्माष्टमीमा हरेरी पूजाबाट सुरु गरिने नाच लगातार दसंैको पूर्णिमासम्म चल्छ । दाङबाट यहाँ आएर बसेका दंगाहा थारूले परम्परालाई जीवित राखेको नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले बताए । अहिले दसंैलाई मध्यजनर राख्दै थारू पहिचानको पोसाकमा दिनहुँ नाच्ने गरेका छन् । ‘१५ दिनभित्र महाभारतमा कथामा आधारित सखिया नाच सकिनुपर्ने हुन्छ,’ उनले भने,’ दसैंको टीकाको दिन विशेषरूपमा थारू युवायुवती सजिएर गाउँका सबै घरमा गई सखिया नाच नाच्ने गरेका छन् ।’


सखिया नाच्ने महिलाले विशेष पहिरनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने जनाएको छ । सेतो रङको धोती वा फरिया र रातो रङको चोली र गरगहना लगाउनुपर्छ । गाउँका युवायुवतीले दसंैमा घर फर्केपछि परम्परालाई अन्य ठाउँमा पुर्‍याउने लक्ष्य लिएको स्थानीय राजकुमारी थारूले बताइन् ।

चाडपर्वमा गरिने थारू कला संस्कृति धार्मिक आस्थामा आधारित हुन्छन् । स्थानीय निमा दहितले दसैं र तिहारलाई सीमित नराखी अन्य समयमा पनि जिल्लाका अन्य ठाउँमा विस्तार गरी थारू संस्कृतिलाई निरन्तरता दिँदै जाने बताइन् । जिल्लाको सूर्यपटुवाको डल्ला र राजापुरको भिम्मापुरमा भीम नाट्य समूहले आफ्नो संस्कृति र परम्परालाई जोगाइराख्न विशेष समारोहमा आफ्नो कला प्रस्तुत गर्ने गरेका छन् ।


नेपालगन्जमा सस्तो बजार
बाँके– यहाँका उपभोक्ताको रुपैडिहा–मोह रोक्न उपभोक्ता जागरणका लागि नेपालगन्जमा दसंै सस्तो बजार सुरु भएको छ । नेपाली बजारमै सस्तो र गुणस्तरीय उपभोग्य सामान पाइन्छ भन्ने सन्देश फैलाउने उद्देश्यले दसंै सस्तो बजार सुरु गरिएको आयोजक नेपालगन्ज वितरक संघले जनाएको छ ।


उपभोक्ता जागरणलाई मुख्य उद्देश्य मानेर दसंै सस्तो बजार आयोजना गरिएको नेपालगन्ज वितरक संघका अध्यक्ष अमितकुमार बस्नेतले बताए । ‘नेपालमै पनि रुपैडिहाको बजारभन्दा सस्तोमा पाइने सामान छन्,’ अध्यक्ष बस्नेतले भने, ‘तर, हामीले उपभोक्तालाई भन्न सकेका छैनौं ।’ सामान बेच्नेभन्दा पनि उपभोक्तालाई जनचेतना दिन सस्तो बजार आयोजना गरिएको नेपालगन्ज वितरक संघले जनाएको छ ।


दसंै सस्तो बजारमा स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित खाद्य, किराना तथा कस्मेटिक्स सामान राखिएको छ । सस्तो बजारमा सामान हेरेर ५ देखि २० प्रतिशतसम्म छुटमा सामान किन्न सकिने नेपालगन्ज वितरक संघका अध्यक्ष बस्नेतले बताए । बहुराष्ट्रिय कम्पनीबाट उत्पादित साबुन, सर्फ, कस्मेटिक्स सामान तथा डाबरका विभिन्न उत्पादन भारतीयभन्दा नेपाली बजारमा सस्तो पाइन्छन् ।

‘उपभोक्तालाई नेपाली बजारमै सस्तो सामान पाइन्छ भन्ने जानकारी गराउन दसैं सस्तो बजारको आयोजना गरिएको हो,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘सीमापारि भन्दा सीमावारि सामान सस्तो छ । गुणस्तरीय छ । तर, उपभोक्तामा जनचेतना पुर्‍याउन सकिएको छैन ।’


एक/दुई सामान सीमापारि सस्तो पाइयो भनेर सधैं त्यतै जाने प्रवृत्तिले नेपालगन्जको बजार धराशायी बन्दै गएको अध्यक्ष वैश्यले बताए । कमाइ बाँकेमा गर्ने तर खर्च किन अरूको देशमा गर्ने ?,’ उनले भने, ‘आफ्नो देशको अर्थतन्त्र बलियो बनाउन पनि उपभोक्ताले नेपाली बजारमा सामान खरिद गर्नुपर्छ ।’


घटस्थापनाका दिनदेखि सुरु भएको दसैं सस्तो बजार असोज ३० गतेसम्म चल्नेछ । सस्तो बजारमा १४ हजारले अवलोकन गर्ने र ५ हजारले किनमेल गर्ने अपेक्षा नेपालगन्ज वितरक संघले लिएको छ । पहिलो दिन १ हजार ५ सय जनाले किनमेल गरेको वितरक संघको जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?