कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खसी भन्दै बाख्रीको मासु बिक्री

सुपर ग्लुले खसीका केही अंग बाख्रीको मासुमा टाँसेर बिक्री
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको परासी हाटबजारको एक मासु पसलमा खसीका केही अंग सुपर ग्लु (गम) ले बाख्रीको मासुमा टाँसेर बिक्री भइरहेको पाइएको छ  । बजार अनुगमन टोलीले बुधबार त्यस्तो फेला पारेको हो  ।

खसी भन्दै बाख्रीको मासु बिक्री

अनुगमन टोलीले सटरमा सञ्चालन गरिएका पसलमा मात्र अनुगमन गर्दै आएकामा एक्कासि हाटबजारमा अनुगमन गर्दा त्यस्तो रहस्य फेला पारेको छ । अनुगमन टोलीले खाद्यान्नमा मिसावट भएका, तराजुमा ठगी र म्याद नाघेका खानेकुरा नष्ट गरेको छ ।


खोला किनारमा लाग्ने हाटमा हिलो पानीले धोएको मासु परीक्षण गर्दा सुपर ग्लु (गम) ले टाँसेको पाइएपछि पसल सञ्चालक भीडमा हराएका थिए । यस्तो देखेपछि अनुगमन समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालय रामग्रामका प्रमुख नन्दलाल पौडेल अचम्मित परे ।

करिब १० किलो मासुमा तीन किलो खसीको र सात किलो बाख्रीको मासु मिसाएको भेटिएपछि अनुगमन टोलीले तत्काल उक्त मासु नष्ट गरेको थियो । ‘मासुका टुक्रा गम लगाएर टाँसेको भेटियो, पछि बुझ्दै जाँदा बाख्रीको मासुलाई खसी भन्दै हाटबजारमा सधैं बेच्दा रहेछन्,’ प्रमुख पौडेलले भने, ‘केही अंग खसीको राखेर धमाधम मापदण्डविपरीत हानिकारक मासु बिक्री भइरहेको रहेछ ।’


सुपर ग्लुले टाँसेको मासु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले उपभोक्ता पनि सचेत हुन सरोकारवालाले आग्रह गरेका छन् । सबै पसलमा समितिले मात्र ध्यान पुर्‍याउन नसक्ने भन्दै उपभोक्ताले पनि पसलमा मूल्यसूची र तौलमा एकरूपता नभेटिए एवं हानिकारक तत्त्व भेटिएमा जिल्ला प्रशासन कार्यालय, प्रहरी वा अनुगमन समितिलाई खबर गर्न आग्रह गरिएको छ । परासी हाटबजारमा मात्र एक दर्जनभन्दा बढी मासु पसल छन् ।

तर, अधिकांश मासु पसलले मापदण्ड पूरा नगरी अस्वस्थ मासु बिक्री गर्दै आइरहेका छन् । व्यावसायिक रूपमा मासु बेच्नका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने भए पनि परासी आसपासका मासु पसलले स्वास्थ्यलाई प्रतिकूल असर गर्ने गरी खुला रूपमा बिक्री गर्दै आएका छन् । फ्रेस हाउसका लागि कोल्ड स्टोर, सरसफाइ तथा पशुपन्छीको क्वारेन्टाइन गरेको हुनुपर्नेमा यहाँ सञ्चालित अधिकांश मासु पसलले मापदण्ड पूरा गरेका छैनन् ।


मापदण्डविपरीत खसी, कुखुरा, राँगा, बंगुर र माछा खुलमखुला बिक्री वितरण हुँदा उपभोक्ता अस्वस्थ मासु खान बाध्य छन् । पशु बध गर्ने व्यवस्थित स्थानको अभाव छ । पसल नजिकै पशुपन्छी बध गर्दा फोहोर हँुदा मासुमा झिंगा बसेको सजिलै देख्न सकिन्छ । मासुलाई स्वस्थ राख्न कुनै पनि उपायको प्रयोग नगरी धूवाँ र धूलो मिसिने गरी खुला रूपमा बिक्री भइरहेको छ । मासु पसलअगाडि पशु बध गर्न नपाइने कानुनी प्रावधान भए पनि खुला रूपमा त्यसको उल्लंघन गरिएको छ ।


पसल सञ्चालनका निम्ति पर्याप्त क्षेत्रफल हुुनुपर्ने, सजिलै फोहोर देख्न मिल्ने गरी सेतो मार्बल तथा टायल लगाउनुपर्ने, निकासी तथा फोहोर व्यवस्थापनको उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु विक्रेताले छुट्टै पोसाक लगाउनुपर्ने, स्टिलको हुकको व्यवस्था, चिस्याउनका लागि डिप फ्रिज हुनुपर्ने नियम अधिकांशले पालना गरेको पाइँदैन । उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष रामजी ज्ञवालीका अनुसार जिल्ला स्तरीय अनुगमन समितिले हानिकारक गम प्रयोग गरेर मासु बेचेको भेटिएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भएको बताए ।


‘मुख्य बजारमा मात्र अनुगमन केन्द्रित थियो । अहिले हाटबजार र भित्री गाउँमा पनि सचेत बनाउने काम भएको छ,’ अध्यक्ष ज्ञवालीले भने, ‘चाडपर्वको समयमा सस्तोमा सामान खोजेर गुणस्तरमा ध्यान नदिँदा उपभोक्ता जानाजान ठगिन पुगेका छौं ।’ हाटबजारको मासु पसलमा प्रयोग गर्ने तराजु पनि १ सय ग्रामदेखि २ सय ५० ग्रामसम्म कम तौल रहेको भेटिएको छ ।

प्रकाशित : आश्विन २६, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?