कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वले सीमामा रौनक

भारतलगायत तेस्रो मुुलुकमा रोजगारी गरी फर्किनेको संख्या ह्वात्तै बढ्यो
माधव ढुंगाना

भैरहवा — दसैं, तिहार र छठको उल्लाससँगै सीमावर्ती सहर भैरहवा गुल्जार बनेको छ  । चाडपर्व लक्षित गरेर विभिन्न व्यापारिक प्रतिष्ठानले थालेको प्रचारप्रसारले सहर गुन्जायमान बनेको हो  ।

पर्वले सीमामा रौनक

चोक–चोकमा टेन्ट र ब्यानर टाँगेर व्यापारी तथा विभिन्न कम्पनीका डिलर ग्राहक आकर्षित गर्न सक्रिय छन् । आफ्ना आवश्यकताका वस्तु खरिद गर्न आएका उपभोक्ताका कारण बजारमा चहलपहल बढेको छ ।


सीमा क्षेत्रमा चाडपर्वको रौनक बेग्लै किसिमको छ । केही दिनदेखि सुनौली नाका हँुदै भारतलगायत तेस्रो मुुलुकमा रोजगारी गरी फर्किनेको संख्या ह्वात्तै बढेको छ । अर्कोतर्फ चाडपर्वका लागि सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको घुइँचो लाग्न थालेको छ । सडकमा पैदल यात्रु र सवारीसाधनको चाप बढेको छ । भीडभाड र बढदो सवारी चापलाई व्यवस्थापन गर्न ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


‘सीमा नाकामा चाडपर्वको रौनक छ,’ इलाका प्रहरी बेलहियाका निरीक्षक वीरबहादुर थापाले भने, ‘स्थानीय नागरिक समाज र भारतीय सुरक्षाकर्मीसँग सहकार्य गर्दै यात्रुको सुरक्षालाई प्रभावकारी बनाएका छौं ।’ उनका अनुसार चाडपर्वका लागि गत शनिबारदेखि भारतमा रोजगारी गरी घर फर्किने नेपालीको संख्या बढदो छ । घर फर्किने र सामान किनमेल गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले सीमा नाकामा चौबीसै घण्टा चहलपहल बढेको छ ।


भारतको दिल्ली, मुम्बई, कश्मीर, हरियाणा, भोपाल, कानपुर, लखनऊ, मद्रास, केरला, पञ्जाब, राजस्थान, इलाहाबादलगायत सहरमा रोजगारी गरी बालबच्चा र परिवारका साथ दसैं मनाउन झिटीगुन्टा बोकेर सुनौली नाका हुँदै घर आउने गरेका छन् । उनीहरूलाई लक्षित गरेर नेपाल प्रवेश गर्नासाथ विभिन्न सवारीसाधन तैनाथ गरिएको छ । रोजगारी गर्नेमात्रै होइन, भारतका विभिन्न स्थानमा अध्ययनरत नेपाली विद्यार्थीको आगमन पनि अहिले बढदो छ ।


चाडपर्वका बेला भित्रिएका यात्रुलाई समस्या हुन नदिन र सहयोग गर्न भैरहवा भन्सार परिसरअगाडि नागरिक सहायता कक्षको स्थापना गरिएको छ । कक्षमा प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न यातायात व्यवसायी, स्थानीय नागरिक समाज, बेलहिया गाउँ समाज, लुम्बिनी खुकुरी क्लब, स्थानीय होटल व्यवसायीलगायत ११ वटा संघसंस्थाका प्रतिनिधि छन् ।


चोरी, पाकेटमार, नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले अत्यधिक भाडा लिने, यात्रु मिलाइदिएबापत कमिसन खाने व्यक्ति सक्रिय हुन्छन् । यात्रु तानातान गर्ने, बस टिकट मिलाइदिने भन्दै पैसा असुलेर यात्रुलाई अलपत्र पार्ने, एउटा सिटको बस टिकट धेरै जनालाई दिने, यात्रुको चापअनुसारको गाडी उपलब्ध नहुनेजस्ता समस्या विगतका चाडपर्वका बेला सीमा नाकामा यात्रुले भोग्ने समस्या हुन् । ‘सहायता कक्षमा सबै निकायको सक्रियता र समन्वय प्रभावकारी भएकाले अहिलेसम्म यात्रु ठगिएको घटना आएको छैन,’ थापाले भने, ‘नेपाली यात्रु भारततर्फ पनि ठगिन नदिन हरेक दिन सीमावर्ती भारतीय सुरक्षा निकायसँग समन्वय गरेर सुनौलीको बसपार्कसम्म संयुक्त गस्ती गरिएको छ ।’


विगतमा दसैंका लागि लालाबालासहित आउनेलाई सुनौलीस्थित बसपार्कदेखि रिक्सावालाले तानातान गर्न सुरु हुन्थ्यो । रिक्सावालाले मौकाको फाइदा उठाउँदै ३० रुपैयाँ भाडा लाग्नेमा ४ सय रुपैयाँसम्म असुल्थे । सुनौली बसपार्कमा खटिने जनपद पुलिस, भारतीय सुनौली कस्टमका कर्मचारी र दशगजामै सटेको सुनौली जनपद पुलिस थानामै चेकजाँचका नाममा नेपाली यात्रुमाथि लुट खसोट र अवैध असुली हुने गथ्र्यो । ‘नेपाली यात्रुमाथि विगतमा जस्तो अवैध असुली र हैरानी यसपटक खेप्नुपरेन,’ बेलहियाको बसपार्कमा भेटिएका दसैंका लागि भारत, दिल्लीबाट घर फर्केका तिलोत्तमा नगरपालिका ७ का आनन्द भुसालले भने, ‘पहिला नेपाल छिरेपछि गाडीवाला र दलालले तानातान पारेर हैरान पार्थे । यसपालि त्यस्तो अवस्था भोग्नुपरेन ।’


भैरहवा, बुटवल, मणिग्राम, मंगलापुर, शंकरनगरलगायत रूपन्देही जिल्लावासी र पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, नवलपरासीको सुनवल, परासी, बर्दघाटदेखि दसैंका लागि सामान खरिद गर्न सुनौली जाने नेपाली उपभोक्ता हजारौंको संख्यामा छन् । साबुन, सर्फ, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसलगायत खाद्यान्न, खाने तेल, घिउ, कुर्ता सलवार, साडी र अन्य शृंगारका सामान नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् । विगतमा भारतीय बजारबाट ठूलो परिमाणमा चिनी भित्रिने गरेकामा यस वर्ष भने सीमामा कडाइ गरिएपछि ठूलो परिमाणमा चिनी भित्रिएको छैन ।


दसैंका बेला नयाँ कार, मोटरसाइकल र अन्य सवारीसाधन तथा ढुवानीका साधन खरिद गर्ने उपभोक्ताको प्रचलनअनुसार सवारीसाधनको बिक्री र आयात बढ्न थालेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले नजिकिँदो चाडपर्वसँगै सवारीसाधन तथा गाडी र कपडाको आयात बढेको बताए । उनका अनुसार सिंगल र डबल क्यापका गाडी ट्रयाक्टर, कार, मोटरसाइकल, कपडा र खाद्यान्नको आयात बढ्नाले भैरहवा भन्सार कार्यालयले असोज महिनालाई लक्षित गरिएको ६ अर्ब ५८ करोड रुपैयाँ राजस्व असोज २१ गते नै असुली भइसकेको छ । जसमध्ये सवारीसाधनको ४० र कपडाको ५ प्रतिशत योगदान छ ।


जिल्ला प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । जसअन्तर्गत कमान्ड पोस्ट, पिकेट, पैदल गस्ती, मोटरसाइकल गस्ती, गाडी, मोबाइल, राजमार्ग क्रस पेट्रोलिङ, सांस्कृतिक कार्यक्रमको सुरक्षा, भीभीआईपी स्कर्टिङ र निवास सुरक्षा, सार्वजनिक सवारीमा क्रस पेट्रोलिङ, राजमार्ग चेकिङ, सादा पोसाकमा चेकिङ र अनुगमन चेकिङ थालिएको छ । यसका लागि ८ सय ७४ जना सुरक्षाकर्मीको परिचालन गरिएको र राजमार्गमा चल्ने लामो दूरीका रात्रिबसमा हातहतियारसहित साँझ ६ देखि बिहान ६ बजेसम्म ६/६ जना प्रहरीको टोली राजमार्गमा परिचालित भइरहेको रूपन्देहीका एसपी हृदय थापाले बताए ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?