कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै पिङ संस्कृति

माधव अर्याल

पाल्पा — विदेशमा बस्ने माथागढी ४, केरौलीका नवीन चौहान दसैंको मुखमा घर आए । उनी आफैं गाउँका युवासँग कस्सिएर पिङ बनाउने खर जुटाउन हिँडे । सिद्धार्थ राजमार्गको चर्चरे क्षेत्रमा पुगेर खर ल्याउनु कम्ती सकस थिएन । गाडी रिजर्भ नै गरेर खर लिन जान परेको उनले सुनाए ।

हराउँदै पिङ संस्कृति

‘दसैं र तिहारमा पिङ खेल्नुपर्छ भन्ने पुरानो चलन हो,’ उनले भने, ‘त्यसैले साथीभाइ जुटेर पिङ बनाउन कस्सिएको हो ।’ उनका अनुसार गाउँमा युवाको कमी छ । काम गर्ने युवा छैनन् । नजिकमा पिङ बाट्ने खर पाउन मुस्किल छ ।


१० वर्षअघिसम्म युवाको पलायन कमी थियो । अहिले गाउँमा युवा छैनन् । बुढापाकाले बालबालिकालाई यस्तो संस्कृति सिकाउन पनि सकेका छैनन् । ‘सानोले सक्दैनन्, ठूलालाई फुर्सद छैन,’ उनले भने, ‘अनि कसरी पिङ बनोस् ?’ उनी मात्र होइन, रुप्सेका नवराज पन्थीले पनि गाडी रिजर्भ गरेर सिद्धार्थ राजमार्गबाट खर ल्याएर पिङ राखे । लिंगे पिङ राख्न बाँस चाहिन्छ । पहिला बर, पीपल, आँपका बोटमा जतासुकै राख्ने चलन थियो । अहिले सबैलाई बीच भाग पारेर चारवटा बाँस काटेर ल्याएर राख्ने गरिन्छ । ‘पहिला टोलटोलमा हुन्थ्यो,’ उनले भने, ‘अहिले सबैलाई खेल्ने बीच भाग पार्नुपर्छ । त्यसैले पनि जहाँ मन लाग्यो, त्यहीँ राखेर भएन ।’


पहिले गाउँगाउँमा लिंगे पिङमा मच्चिने गर्थे । दसैंको पूर्वसन्ध्यादेखि तिहारसम्म लिंगे पिङ खेलेर रमाउने चलन थियो । गाउँका चौपारीपिच्छे लिंगे पिङ राख्ने चलन थियो । ‘गाउँमा खर काट्ने, बाट्ने र चौपारीमा पिङ राख्न थालेपछि दसैं आएको महसुस हुन्थ्यो,’ रामपुर नगरपालिका ९ का कपिल काफ्लेले भने । पछिल्लो समय तिहारसम्म रौनक बढाउने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । अहिले गाउँघरमा फाट्टफुट्ट मात्र देख्न पाइने उनले बताए । चर्खे पिङ नजिकको गाउँमा देख्नै छाडेको स्थानीय गोपाल काफ्लेले बताए ।


तिहारसम्म गाउँटोलमा रोटे, जाते र लिंगे पिङ राखेर सबै रमाउने चलन थियो । पछिल्ला वर्षमा भने निकै कमी आएको छ । पहाडी बस्तीमा पनि रोटे पिङ धेरै कमी भएको छ । जाते पिङ देख्नै छाडिएको काफ्लेले बताए । उनका अनुसार गाउँमा पनि कतैकतै मात्र लिंगे पिङ देखिन थालेको छ । ‘त्यही पनि पछिल्लो समयमा धेरै कमी भएको छ,’ उनले भने, ‘पुरानो संस्कृति लोप हुँदै गएको छ । यसमा कसैलाई चिन्ता पनि छैन ।’ उनका अनुसार गाउँघरमा मान्छे नै छैनन् । अनि कसरी यस्ता संस्कृति जोगिने हो र ?


पिङले धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको छ । दसैंमा भुँइ छाड्नुपर्छ भन्ने मान्यताले यस्ता पिङ राख्ने चलन भए पनि पछिल्लो समय हराउँदै गएको यसका जानकार तथा विज्ञहरू बताउँछन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?