१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

टिम्मुरले पायो भाउ

झन्डै ३ करोड रुपैयाँ जिल्ला भित्रिँदै
गिरुप्रसाद भण्डारी

प्यूठान — उपल्लो पहाडी भेगमा पाइने टिम्मुरले यसपालि राम्रो भाउ पाएपछि स्थानीय दंग छन् । दुई पाथी टिम्मुर साटेर एक कट्टा (५० किलो) चामल पाएपछि उनीहरू खुसी भएका हुन्  ।

टिम्मुरले पायो भाउ

नगदमा बिक्री गर्नेले पनि प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।

यसपालि टिम्मुरको भाउ बढेकाले राम्रो कमाइ भएको प्यूठान नगरपालिका ५, पूर्णगाउँका रामेश्वर रोकाले बताए । ‘घरमै आएका व्यापारीलाई एक क्विन्टल टिम्मुर बिक्री गरें,’ रोकाले भने, ‘राम्रो भाउ पाएकाले दुई/चार दिन लगाएर खोजेको टिम्मुरले वर्षदिन परिवार नै पाल्ने चामल जम्मा गरेको छु ।’

भाउ राम्रो रहेको भन्दै जिल्लाको टिम्मुर पकेट क्षेत्रका स्थानीय जंगल, खरखर्‍यान र बारीका पाटा छेउमा रहेका टिम्मुरका बोटबाट दाना संकलन गरेर आवश्यकताअनुसार चामल, नुन साट्न हतारिएका छन् । व्यापारीहरू टिम्मुर खरिद गर्न गाउँगाउँमा संकलन केन्द्र बनाएर बसेका छन् । टिम्मुर पाइने क्षेत्रका स्थानीयलाई अहिले टिम्मुर टिपेर सुकाई बिक्री गर्ने चटारो छ । कतिले टिम्मुर बिक्री गरेरै दसैं मनाए । कतिले तिहार मनाउने जोहो गर्दै छन् ।

जिल्लाको टिम्मुर पकेट क्षेत्र प्यूठान नगरपालिकाको जुम्रिकाँढा, माझकोट, विजयनगर, नौबहिनी गाउँपालिकाको लिघा, फोप्ली, डाम्री, खबाङ र स्वर्गद्वारी नगरपालिकाको खाल,कोचिबाङलगायत क्षेत्रका स्थानीयले टिम्मुर टिपेर लाखांै रुपैयाँ आम्दानी गरेको जिल्ला वन कार्यालयका रेन्जर हरि पौडेलले बताए । यस वर्ष स्थानीयले धेरै नै टिम्मुर संकलन गरेको पौडेलले बताए ।

उनका अनुसार राम्रोसँग सप्रिएको एउटै बोटबाट संकलन गरेको टिम्मुरले नै एक परिवारलाइ वर्ष दिनभर खान पुग्ने चामल साट्न पुगेको छ । जिल्ला वन कार्यलयका अनुसार जिल्लाबाट ३५/४० टन टिम्मुर जिल्लाबाहिर निकासी हुने गरेको छ । प्यूठानको टिम्मुर नेपालगन्ज, बुटवल र वीरगन्जसम्म पुग्छ । ‘हालको मूल्यको अनुपातमा टिम्मुरबाट मात्रै झन्डै ३ करोड रुपैयाँ जिल्ला भित्रिने अनुमान गरेका छौं,’ उनले भने, ‘पछिल्लो समय टिम्मुरको भाउ राम्रो भएपछि स्थानीय टिम्मुर खेती विस्तार गर्नसमेत सोच्न थालेका छन् ।’

वन कार्यालयले टिम्मुर पकेट क्षेत्रमा टिम्मुर खेती विस्तार कार्यक्रम लागू गरेको छ । पौडेलले हरेक वर्ष १२/१३ हजार टिम्मुरका बिरुवा स्थानीयलाई वितरण गर्ने गरेको बताए । तीन वर्षमै फल दिने टिम्मुर असोज/कात्तिकमा पाकेर स्थानीयले टिप्ने गर्छन् । टिम्मुरका बोटमा काँढा हुने भएकाले टिप्न सजिलोका लागि स्थानीयलाई औजारसमेत प्रदान गर्दै आएको वन कार्यालयले जनाएको छ ।

प्यूठान नगरपालिका ५, जुम्रिकाँढाबाट मात्रै स्थानीयले ४० क्विन्टल टिम्मुर संकलन गरेको टिम्मुर संकलक झगबहादुर बुढामगरले बताए । ‘टिम्मुरबाट एक सिजनमा जुम्रिकाँढामा मात्रै ३५/४० लाख रुपैयाँ भित्रिन्छ,’ बुढाले भने, ‘बारीका पाटामा दुई/चार बोट टिम्मुर भएका पनि यसपालि मालामाल भएका छन् ।’ उनले जुम्रिकाँढा, ठाकठोकेका कुलराज केसीले दुई क्विन्टल टिम्मुर संकलन गरेर १ लाख ४० हजार रुपैयाँमा बिक्री गरेको बताए ।

बुढालाई जडीबुटी व्यवसायीले नगद दिएर संकलन गर्न लगाएका हुन् । कतिले नगदमा त कतिले उपभोग्य वस्तु चामल र नुनमा टिम्मुर साट्ने गरेको उनले बताए । ‘एक माना टिम्मुर लिएर आए भने पाँच किलो आयो नुन लिएर जान्छन्,’ बुुढाले भने, ‘६ माना ल्याउनेले त ढिके नुन १ बोरा नै लिएर जान्छन् ।’ जुम्रिकाँढाका हरेक घरपरिवारले दुई/चार माना टिम्मुर संकलन गरेर बिक्री गर्ने वडाध्यक्ष लछुमन भण्डारीले बताए । गाउँमा टिम्मुर खरिद गर्न रोल्पाबाट समेत व्यापारी गाउँगाउँमा नगद र उपभोग्य वस्तु लिएर आएको उनले बताए ।

प्रकाशित : कार्तिक ९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?