कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कठिन दान गर्न श्रीलंकाबाट लुम्बिनी

नेपाल र नेपाली विश्वकै गौरव बनेको श्रीलंकाली भिक्षुहरूको दाबी
मनोज पौडेल

लुम्बिनी — श्रीलंकाली सरकारी अधिकृत सुजाता तेन्नकोन शनिबार निकै खुसी थिइन्  । गौतम बुद्धको दाँत रहेको क्यान्डी सहरबाट बुद्धस्थल लुम्बिनीमा आई नमन गर्न पाउँदा आफूलाई जीवनकै अविस्मरणीय अनुभूति भएको उनले बताइन्  ।

कठिन दान गर्न श्रीलंकाबाट लुम्बिनी

बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व कठिन दानमा सहभागी हुँदा शान्तिको गतिलो ऊर्जा प्राप्त भएको पनि उनले सुनाइन् ।

उनीजस्तै श्रीलंकाको क्याल्गेलबाट आएका सिरिपाल रामचन्द्रकले पनि लुम्बिनीमा कठिन दानमा चीवर दान गर्न पाउँदा गतिलो शान्तिको पुण्य संचय भएको बताए । ‘यसले मलाई भ्रातृत्व, करुणा र सद्भाव बढाउन मद्दत गरेको छ,’ उनले भने ।

उनीहरूजस्तै श्रीलंकाका विभिन्न ठाउँबाट धार्मिक पुण्य प्राप्तिका लागि ९० उपासिकासहित १ सय ४५ उपासक लुम्बिनी आएर कठिन दानमा सहभागी भएका छन् ।बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व ३ महिने वर्षावासपछि मनाइने कठिन दानका लागि श्रीलंकाबाट उपासक/उपासिका लुम्बिनी आएका हुन् ।

अप्ठ्यारो सहेर पूजाआजा गर्दै वर्षावास बस्छन् । त्यही भएर कठिनताका साथ बस्ने वर्षावास सम्पन्न गर्न गरिने पुजालाई कठिन दान भनिन्छ । महाबोधी सोसाइटी अफ भारत लुम्बिनी शाखाद्वारा आयोजित कठिन दान उक्त शाखाका प्रमुख भन्ते बी नन्दलाई गर्न उपासक लुम्बिनी आएका थिए । पहिलो दिन शुक्रबार दिनभरि पूजाआजा गरेका थिए ।

साँझ ६ देखि राति १२ बजेसम्म शान्तिका लागि नेपाली, श्रीलंकाली, म्यानमार र थाई भिक्षुले महापरित्रान पाठ गरे । शनिबार बिहानै महाबोधीबाट पूजा गर्न श्रीलंकाबाट ल्याइएको कठिन चीवरलाई विशेष वाकसमा राखी सिंगारेर छाता ओढाएर शान्ति पदयात्रा निकालिएको थियो ।

पवित्र अष्टधातु पनि सिंगारेर मायादेवी मन्दिरमा लगेर पूजाआजा गरिएको थियो । मन्दिर परिसरको अशोक स्तम्भ आसपास चारैतिरबाट फूलले सिंगारेर चिटिक्क बनाइएको थियो । त्यहाँ किर दान पूजा गरियो । शान्ति पदयात्रामा श्रीलंकाको राष्ट्रिय क्यान्डियन बाजा बजाउँदै ५ कलाकारको टोली अघि बढेको थियो । उक्त बाजा बजाउन श्रीलंकाबाटै कलाकार ल्याइएको थियो ।

शान्ति पदयात्रापछि आयोजित कार्यक्रममा कठिन पूजा गरिएको थियो । धर्मदेशना पनि गरियो । यसपछि भन्ते बी नन्दलाई उनका शिष्य भिक्षुले लगाउने पहेंलो वस्त्र (चीवर) र भिक्षापात्र दान गरे । उपासक/उपासिकाहरूले श्रीलंकाबाटै ल्याइएको चीवर दान गरे, कसैले अष्ट परिकार दान गरेका थिए । भिक्षुले लगाउने पहेंलो वस्त्र (चीवर) र भिक्षापात्रलाई चीवर दान भनिन्छ ।

अष्ट परिकारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत ८ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक ३ महिने वर्षावास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ । बुद्ध धर्ममा महत्त्वपूर्ण मानिने वर्षावास सकिएको छ ।

‘शान्तिका प्रेरक बुद्ध जन्म दिने धर्ती नेपाल हो,’ श्रीलंकाका ट्राभल व्यवसायी अमिदु जयसूर्याले भने, ‘जसका कारण नेपाल र नेपाली विश्वकै गौरव बनेका छन् । यस्तो गौरवपूर्ण ठाउँमा आएर चीवर दान गर्न पाउँदा हामी निकै खुसी छौं ।’ उनकै संयोजनमा श्रीलंकाली बौद्ध भिक्षु लुम्बिनी आएका हुन् । बुद्ध धर्मावलम्वीको महत्त्वपूर्ण पर्व ३ महिने वर्षावास हो । असारदेखि असोज पूर्णिमासम्मको ३ महिनालाई वर्षावास भनिन्छ ।

यस वर्ष महावोत्री सोसाइटीका २ जना लुम्बिनीमा वर्षावास बसेका थिए । वर्षावासमा पूजाआजाका लागि भारतको बौद्धगया र सारनाथमा वर्षावास बसेका ४ जना भन्ते पनि यहाँ आएका थिए । वर्षावास सकिएको एक महिनाभित्र चीवर दान गर्नुपर्छ । चीवर दानपछि भन्तेलाई भोजन दान गरिएको थियो ।

प्रकाशित : कार्तिक ११, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?