कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्यु टावरले चहलहपल

मधु शाही

बाँके — दुई वर्षयता कोहलपुर नगरपालिका १२ स्थित सिर्जना सामुदायिक वनमा आन्तरिक पर्यटकले चहलपहल छ। वनमा घाँसदाउरा काट्नेको भीड लागेको होइन, जिल्लाका विभिन्न भूभाग अवलोकनका लागि भ्यु टावर निर्माण भएपछि चहलपहल बढेको हो  ।

भ्यु टावरले चहलहपल

वनले तीन वर्षअघि ‘सिर्जना नगर उद्यान’ स्थापना गरेको थियो । त्यहाँ ७७ फिट अग्लो भ्यु टावर बनाइएको छ । जसले गर्दा आन्तरिक पर्यटक आउन थालेका छन् । भ्यु टावरबाट कोहलपुर र वरिपरिको परिवेश एकैसाथ देख्न सकिन्छ ।

शनिबार परिवारसहित अभिभावक भ्यु टावर अवलोकन गर्न आउने उद्यानका कर्मचारी प्रविर खत्रीले बताए । उनका अनुसार दसैंमा ५ सयले अवलोकन गरेका थिए भने नयाँ वर्षमा १ हजार ७ सयभन्दा बढीले भ्यु टावर चढेका थिए ।

भ्यु टावर बनाउनुअघि सामुदायिक वन सुनसान थियो । सडकछेउमा रहेको भागलाई व्यवस्थित बनाएर भ्यु टावरसँगै बाल उद्यम र बगैंचासमेत बनाइएको छ । सुरुमा जंगल निरीक्षण गर्ने उद्देश्यले भ्यु टावर बनाए पनि स्थानीयले समेत हेर्ने रुची देखाएपछि सर्वसाधारणका लागि टिकट काट्ने व्यवस्था थालिएको सिर्जना सामुदायिक वनका अध्यक्ष दशरत पराजुलीले बताए ।

‘आन्तरिक पर्यटकको लोभलाग्दो उपस्थितिले सामुदायिक वनको आय आर्जन गर्ने राम्रो माध्यम बनेको छ भ्यु टावर,’ दशरतले भने, ‘यसलाई थप व्यवस्थित बनाउँदै छौं ।’ कोहलपुर नगरपालिकाको १ करोड ८ लाख रुपैयाँ सहयोगमा स्विमिङ पुल निर्माण भइरहेको छ ।

विभिन्न सुगन्धित फूलको फूलबारी बनाउने, मिनी चिडियाखाना बनाउने, जंगल सफारी गराउने र पोखरी बनाई बोरिङसमेत सञ्चालन गर्ने १५ वर्षे योजना रहेको अध्यक्ष पराजुलीले बताए । सिर्जना नगर उद्यान सामुदायिक वनको १३ बिघा क्षेत्रफलभित्र बनाइएको छ ।

आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि सामुदायिक वनले यहाँका स्थानीय बासिन्दालाई रोजगार दिने अपेक्षा राखेको छ । हालसम्म दुईजनाले काम पाएका छन् भने विस्तारै कर्मचारीको आवश्यकता बढ्दै जाँदा थप्दै जाने योजनासमेत रहेको पराजुलीले सुनाए ।

सहरी कोलाहलबाट एकैछिन टाढा रहेर शान्त वातावरणमा रम्न चाहनेका लागि कोहलपुर भ्यु टावर उपयुक्त गन्तव्य बन्दै छ । शमशेरगन्जकी आकृति बुढा हरेक शनिबार भ्यु टावर घुम्न आउँछिन् । दुई छोराकी आमा उनले बालबालिकाले प्राकृतिक दृश्य हेर्दै खेल्दै गर्ने हुँदा यहीं ल्याउने गरेको बताइन् । त्यस्तै, कोहलपुर न्युरोडकी प्रिन्सा अधिकारी र उनकी साथी कालिका पौडेल भ्यु टावरमा किताब लिएर आउँछन् । कक्षा १२ मा अध्ययनरत उनीहरू यहाँ बसेर घण्टौं अध्ययनमा बिताउने गर्छन् ।

‘हल्ला नहुने हुँदा एकान्तमा पढ्न रमाइलो लाग्छ,’ आकृतिले भनिन्, ‘सहरभन्दा पर बस्न मन लागे यतै आउँछौं ।’ कोहलपुरका आदेश चौधरीले अचेल दिनभरि फिल्म हेरेर घरमै समय खेर फाल्ने बानी हटाएका छन् ।

प्रकाशित : कार्तिक १३, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?