कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुमतिबिनै यातायात सञ्चालन

अनुमति नदिइएका सडकमा मनोमानी सवारी साधन नचलाउन र जबरजस्ती नगर्न व्यवसायीलाई निर्देशन
काशीराम डाँगी

रोल्पा — सडक अनुमतिबिना नै ग्रामीण क्षेत्रमा सवारी चल्ने गरेको गुनासो बढेपछि छानबिन गरेर मात्र सार्वजनिक सवारीलाई अनुमति दिइने भएको छ । स्थानीय प्रशासनले त्यसका लागि ग्रामीण क्षेत्रका सडकको मापदण्ड र अवस्था बुझ्न सुरु गरेको छ  ।

अनुमतिबिनै यातायात सञ्चालन

प्रशासनले सार्वजनिक सवारी सञ्चालक संस्थाका पदाधिकारीसहितको बैठक आयोजना गरेर अनुमति प्रदान नगरिएका वा सवारी चलाउन मिल्ने गरी मापदण्ड नपुर्‍याइएका सडकमा सार्वजनिक सवारी साधन नचलाउन निर्देशन दिइएको जनाएको छ ।

साथै ती सवारी साधन चलाउन अनुमति दिइनुअघि अनुगमन गर्नुपर्ने भएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए ।

स्थानीय प्रशासनका अनुसार ग्रामीण क्षेत्रका गाउँमा पुग्ने साना, मझौला र ठूला सवारी साधन अनुमतिबिनै चलिरहेका छन् । भर्खरै निर्माण गरिएका तथा सवारी चलाउन अनुमति नदिइएका दर्जनौं सडकमा सवारी चल्दै आएका छन् ।

‘जथाभावी सवारी साधन चलेकाले सम्भावित दुर्घटना रोक्ने उद्देश्यले नियमित अनुगमन गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘हाल प्रयोगमा ल्याइएका सबै सडकको अनुगमन गर्ने र उचितलाई मात्रै सवारी चलाउन अनुमति दिने विषयमा सबैको सहमति छ ।’

अनुगमनका लागि स्थानीय प्रशासनको नेतृत्वमा जिल्लास्थित ट्राफिक प्रहरीसहित यातायात समितिका पदाधिकारी, चालक तथा स्थानीय तहका जनप्रतिनिधि सम्मिलित छुट्टै उपसमिति गठन गरिएको छ । जिल्ला ट्राफिक प्रहरीका प्रतिनिधि कृष्णबहादुर विश्वकर्माले भर्खरै बनाइएका कच्ची सडकमा जथाभावी सवारी साधन चलाउनाले दुर्घटना हुने खतरा भएकाले विशेष रूपमा अनुगमन गर्ने योजना बनाइएको बताए ।

प्रजिअ एमसी तथा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले दर्जनौं कच्ची सडकमा ठूला सवारी साधन चलाइएको सूचना पाइएकाले अनुमति नलिई चलाउन रोक्नुपर्ने अवस्था आएको बताए । यसअघि प्रशासनले कतिपय सडकमा सवारी चलाउन रोक लगाउने गरेको थियो ।

रोल्पामा साना र ठूला सवारी साधन चलाउन आधा दर्जनजति यातायात समिति गठन गरिएका छन् । सबैभन्दा धेरै सवारी साधन सञ्चालन गर्दै आएको जलजला यातायात समितिका प्रशासनिक इन्चार्ज यज्ञश्वर आचार्यले मापदण्ड नपुगेका सडकमा आफ्ना गाडी सञ्चालन नगरेको दाबी गरे । उनले साना जिप गाउँमा पुग्ने गरे पनि बस सञ्चालन गर्दा अनुमतिप्राप्त सडकलाई ध्यान दिइएको बताए । अनुमति लिइएका सडकमा मात्रै सवारी साधन चलाइएको उनले बताए । यस्तै जलजला हिमाल, रोल्पायातायात, आशीर्वाद, हिमताल, पाण्डेश्वरीलगायत यातायात प्रालिले समेत रोल्पामा साना, मझौला तथा ठूला आकारका बस र जिप सञ्चालन गर्दै आएका छन् ।

मापदण्ड नपुर्‍याइएका सडकमा सवारी साधन नचलाइएको दाबी गर्दै जलजला हिमाल यातायात प्रालिका प्रतिनिधि लालबहादुर डाँगीले मापदण्ड पुर्‍याइएका सडकमा सवारी साधन चलाउन अनुमति प्रदान गर्न यातायात विभागसमक्ष चाँडो सिफारिस गर्नुपर्ने माग गरे । ‘सडक खनेर मात्रै भएन यातायात पनि चलाउनुपर्‍यो नि !,’ उनले भने ।

भर्खरै खनिएका, यातायात कार्यालयले अनुमति नदिएका तथा साँघुरा सडकमा सवारी साधन चलाएको र चर्को भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले यातायात व्यवसायीसमेतको संयुक्त बैठक आयोजना गरेको हो । बैठकमार्फत प्रशासनले अनुमति नदिइएका सडकमा मनोमानी सवारी साधन नचलाउन र जवरजस्ती नगर्न व्यवसायीलाई निर्देशन गरेको छ ।

तर, उक्त निर्देशनविपरीत व्यवसायीले सवारी साधन चलाउने गरेका छन् । मध्यम आकारका बस सञ्चालन गर्दै आएको आशीर्वाद यातायात प्रालिका अध्यक्ष नरबहादुर विश्वकर्माले सडकको अवस्था हेरेपछि मात्रै बस चलाइएको दाबी गरे । जलजला समिति, जलजला हिमाल प्रालि र आशीर्वाद प्रालिका सवारी जिल्लाभित्र चल्छन् भने अन्य व्यवसायीले जिल्लाबाहिर पनि यातायात सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?