कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्मनिर्भर बन्दै पूर्वकमलरी

पश्चिम तराईका मुक्त कमलरी विभिन्न पेसा/व्यवसायमा रमाउँदै
कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका ४ की २३ वर्षीया नैना थारू अनमी हुन् । उनलाई स्थ्यचौकीमा बिरामी हेर्न भ्याइनभ्याइ छ ।

आत्मनिर्भर बन्दै पूर्वकमलरी

२०६८ सालमा उद्धार भएकी थारू पूर्वकमलरी हुन् । २९ महिने अनमी तालिम लिएपछि गत वर्षदेखि उक्त स्वास्थ्यचौकीमा करार सेवामा कार्यरत छन् । त्यसयता उनको व्यस्तता बढेको हो ।

गर्भवतीको चेकजाँच गर्नुका साथै सामान्य खालका बिरामीको उपचार गर्छिन् । घरबाट आउजाउ गर्न समस्या भएपछि उनलाई स्वास्थ्यचौकीमै आवासको व्यवस्था गरिएको छ । त्यस्तै मधुवन ३ की सार्तीकुमारी चौधरी पनि पूर्वकमलरी हुन् । उनले ठेलामा नास्ता पसल सञ्चालन गरेकी छन् ।

त्यसबाट जीविका चलाउँदै आएको उनले बताइन् । दैनिक करिब २ हजार रुपैयाँका सामान बिक्री गर्छिन् । त्यसबाट दैनिक ५ देखि ६ सय रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन् । तीन वर्ष काठमाडौं र दुई वर्ष गुलरियामा कमलरी बसेकी उनको पाँच वर्षअघि उद्धार गरिएको थियो । त्यसपछि पसल चलाएर जीविका चलाइरहेकी छन् । उनका पतिको मोटरसाइकल वर्कसप छ ।

०५६ माघ १ गतेदेखि दाङको गोबर्डियाबाट कमलरी बसेका किशोरीको उद्धार सुरु गरिएको थियो । १३ हजार २६ मध्ये हालसम्म १२ हजार ९ सय ३२ पूर्वकमलरीको उद्धार गरिएको मुक्त कमलरी क्षेत्रमा काम गर्ने संस्था नायफका परियोजना अधिकृत एवं कानुन व्यवसायी फक्ला थारूले बताए ।

अझै ९४ जना उद्धार गर्न बाँकी छ । पश्चिम तराईका ५ जिल्लाबाट उद्धार गरिएकामध्ये विद्यालय र क्याम्पसमा अध्ययन गर्नेको संख्या ५ हजारभन्दा बढी छ । तीमध्ये १ हजार ५ सयले प्राविधिक शिक्षा र विभिन्न सीपमूलक तालिम लिएर रोजगारीमा संलग्न रहेको उनले बताए । टीकापुर नगरपािलका ७ बेलुवाकी २२ वर्षीया पूर्वकमलरी समीक्षा मल्ल चौधरीले सिलाइकटाइको तालिम लिएर घरमै पसल सञ्चालन गरेकी छन् ।

विगतमा कमलरी बस्दाको दु:ख–पीडा कहिल्यै बिर्सन नसक्ने चौधरीले बताइन् । दुई वर्षदेखि सिलाइकटाइको काम गरिरहेकी छन् । मासिक १५ देखि २० हजार कमाइ हुने उनको पसलमा एक जनाले रोजगारीसमेत पाएका छन् । ‘चाडपर्वका समयमा कपडा सिलाउनेको चाप बढी हुन्छ,’ उनले भनिन्, ‘कतिलाई त नसक्ने भनेर फिर्ता पठाउँछु ।’

सरकारले ०७० असार १३ गते पश्चिम नेपालमा रहेको कमलरी प्रथा उन्मूलन गरेपछि अधिकांश पूर्वकमलरी यतिखेर स्वास्थ्य सेवा, मोबाइल मर्मत, ब्युटीपार्लर, चिया नास्ता पसल, घुम्ती पसललगायत सञ्चालन गरिरहेका छन् ।

पश्चिम तराईको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायमा कमलरी पठाउने परम्परा ०७० सालमा राज्यले प्रतिबन्ध लगाएपछि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले उद्धार अभियान चलाएका थिए । उद्धार गरिएका ५ सयभन्दा बढी पूर्वकमलरीले बाँकेको राँझा, दाङको नर्ती, वनगाउँ, कैलालीको टीकापुर, सहेली र कञ्चनपुरको ऐरीको छात्रावासमा रहेर अध्ययन गरिरहेको नायफले जनाएको छ ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?