कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९० प्रतिशत मुद्दा लागूऔषधका

अमृता अनमोल

बुटवल — प्रहरीले ३७ केजी चरेससहित १७ कात्तिकमा ३ जनालाई पक्राउ गर्‍यो । दाङको तुलसीपुर प्रहरी टोलीले उक्त परिमाणको चरेससहित बुटवल उपमहानगरपालिका १३, बेलबास शान्तिचोकबाट एक स्थानीय तहका जनप्रतिनिधिसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका २ का ५० वर्षीय नहारी थारू, बाग्लुङ नसीखोला गाउँपालिका ९ का ३४ वर्षीय जनक घर्ती र अर्घाखाँची पाणिनि गाउँपालिका ५ का ४० वर्षीय टीकाबहादुर रास्कोटी छन् । रास्कोटी वडासदस्य हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बाग्लुङबाट भारत निर्यात गर्न ल्याइएको चरेस विशेष सुराकीका आधारमा बरामद गरेको बताए ।


असोज १३ मा संघीय सरकारले रूपन्देहीको बुटवलबाट तामझामसहित लागूऔषध निषेध र मदिरा नियन्त्रणको राष्ट्रिय अभियान सुरु गर्‍यो । रूपन्देहीलाई केन्द्रित गरी देशभर यो अभियान चलाउने भन्दै अभियानको आरम्भ गर्न गृहमन्त्री रामबहादुर थापा आफैं आए ।


अनुसन्धान, सशस्त्र र जनपद प्रहरीका प्रमुखहरूले समेत यहाँले लागूऔषध नियन्त्रणका लागि अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । सरकारी प्रतिबद्धता र अभियान जस्तोसुकै भए पनि रूपन्देहीमा लागूऔषध दुरुपयोग तथा ओसारपसारमा कमी आउन सकेको छैन ।


खुला सीमा र तीव्र सहरीकरणका कारण रूपन्देही लागूऔषध कारोबारको ट्रान्जिट बनेको छ । जिल्लामा लागूऔषध दुरुपयोग गर्ने र यो बाटो उपयोग गरी कारोबार गर्ने दुवै बढेका छन् । सीमा क्षेत्रको भारतीय बजार सुनौलीमा नेपालमा प्रतिबन्धित स्पामो, नाइट्रोसन, नाइट्रोभेट, फेन्सिडिल, कोरेक्सलगायत लागूऔषध सजिलै किन्न पाइन्छ । उता सस्तो र सहजै किन्न पाइने लागूऔषध सीमा कटाउन सके यता धेरै मुनाफा हुने भएकाले पनि जिल्लामा कारोबार मौलाएको हो ।


लागूऔषध दुरुपयोग गर्नेले नयाँ नयाँ शैली अपनाउँदा प्रहरी निगरानी र नियन्त्रण अभियानसमेत प्रभावकारी बन्न सकेको छैन । भारतीय बजारमा सस्तो र सहजै पाइने भएकाले आर्थिक लोभमा लागूऔषध ओसारपसारमा स्थानीय संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको रूपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।


रूपन्देही प्रहरीको तथ्यांकअनुसार चालु आवमा मात्रै लागूऔषध दुरुपयोगका ४८ मुद्दा दर्ता भएका छन् । ७० जना पक्राउ परेका छन् । त्यसमा ३ महिला छन् । पछिल्ला ५ वर्षमा लागूऔषध दुरुपयोग तथा ओसारपसारका १ हजार ४ सय ७४ मुद्दा प्रहरीमा दर्ता भएका छन् । लागूपदार्थ दुरुपयोग आरोपमा २ हजार १ सय ६३ जना पक्राउ परेका छन् ।


यसमध्ये ६७ महिला छन् । प्रहरीको अनुसन्धानअनुसार पक्राउ पर्नेमा मुख्य व्यापारी करिब ५ प्रतिशत मात्रै छन् । करिब १० प्रतिशत भरिया पक्राउ परेका छन् । त्यसमा महिला र बालक पनि छन् । आफूसमेत लागू औषधको दुरुपयोगमा फसेका र रकम जुटाउन कारोबार गर्ने सबैभन्दा धेरै अर्थात् ७५ प्रतिशत छन् । १० प्रतिशत पटकपटक पक्राउ पर्ने व्यक्ति छन् । लागूऔषध दुरुपयोगको संख्या कुल मुद्दामध्ये करिब ९० प्रतिशत हो । ‘लागूऔषधका मुद्दाको चाप यति छ कि यसले अन्य घटनाको अनुसन्धान र सहजीकरणमा समेत समस्या उब्जाएको छ,’ प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले भने ।


उमेरका हिसाबले १४ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति लागूऔषध दुरुपयोग आरोपमा पक्राउ परेका छन् । सबैभन्दा बढी भने १६ देखि ३० वर्ष उमेर समूहका छन् । १६ वर्षदेखि २० वर्ष समूहमा अभिभावकदेखि टाढा भएका, पढाइको सिलसिलामा छात्रवास बसेका, सम्पन्न र रमझममा हुर्केका युवा धेरै छन् ।


यही उमेर समूहमा स्कुले विद्यार्थी, सडक बालबालिका र गाडी सहचालक पनि छन् । यिनमा अभिभावकको रेखदेख नभएका, साथीको देखासिकी र रमाइलोका लागि खान सिकेका धेरै छन् । त्यस्तोमा प्रहरीले सामान्य अवस्था भए अभिभावकको जिम्मा लगाउने र असामान्य भए कानुनी प्रक्रियामा लैजाने गरेको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।


२० देखि २५ वर्ष उमेर समूहमा डाक्टर, इन्जिनियरलगायत प्राविधिक विषय पढदै गरेका र सम्पन्न वर्गका युवा धेरै छन् । रूपन्देहीको सीमा नाका हुँदै काठमाडांै, कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपरासीलगायतका व्यक्तिले कारोबार गरेको पाइन्छ । दुरुपयोग बढेपछि सीमा क्षेत्र बेलहियामा संघीय प्रहरी एकाइ भैरहवाको लागूऔषध नियन्त्रण सेल र रूपन्देही प्रहरी दैनिक खटेका छन् । यसमा स्थानीयले पनि सहयोग गरेका छन् ।


प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले प्रहरी सक्रियता बढेकाले धेरै दुरुपयोगकर्ता पक्राउ परेको बताए । कारबाही प्रक्रियाले मात्रै लागूऔषध दुरुपयोग नघटेपछि प्रहरीले पछिल्लो समयमा चेतना अभियान चलाएको छ ।


बेलाबेला कलेज स्तरका बालबालिकालाई आगूऔषधविरुद्ध कक्षा दिने गरेको छ । गैरसरकारी संस्था, नागरिक अगुवा, आमा समूह, युवा क्लब, विद्यार्थीलगायतको सहकार्यमा समेत चेतना अभियान चलाइएको उनले बताए ।


अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावकले रकम र सुविधा बढी दिएर पुलपुलाउने तर आफ्ना छोराछोरीको आनीबानी र दिनचर्या निगरानी नगर्दा धेरै युवा लागूऔषधको लतमा परेको बताए । ‘दुव्र्यसनीलाई जेल हालेर मात्रै समस्या समाधान हुँदैन,’ उनले भने, ‘यसलाई रोक्न घरपरिवारबाटै पहल थाल्न र अभिभावक पनि सचेत हुन जरुरी छ ।’

प्रकाशित : कार्तिक २५, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?