कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानीका लागि देउसीभैलो

कान्तिपुर संवाददाता

प्यूठान) — मल्लरानी गाउँपालिका ३ मा पर्ने चौरपानी गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयले रित्ता गाग्री बजाउँदै देउसीभैलो खेलेका छन् । गाउँमा झिमरुक खोलाको पानी ल्याउने योजना अगाडि सार्दै उनीहरू रित्तो गाग्री बजाउँदै देउसीभैलो भट्याउँदै घरघर पुगिरहेका छन् । 

खानेपानीका लागि देउसीभैलो

मादलको साटो रित्ता गाग्री बजाउँदै देउसीभैलो खेल्नुपर्दा दु:ख लागेको स्थानीय ओमप्रकाश पाण्डेले बताए । ‘पानीका लागि स्थानीय सरकारसँग धेरैपटक माग गर्‍यौं,’ उनले भने, ‘कतैबाट कुनै सुनुवाइ नभएपछि देउसीभैलो खेलेर जम्मा भएको रकमले गाउँमा पानी ल्याउने अठोट गरेका छौं ।’


चौरपानी खानेपानी फाउन्डेसन स्थापना गरी झिमरुक नदीको पानी बस्तीसम्म ल्याउन स्थानीय कस्सिएका छन् । ‘चाडपर्वमा पानी झन् धेरै चाहिने रहेछ,’ फाउन्डेसनका अध्यक्ष युवराज पौडेलले भने, ‘पानी नभएको अनुभूति दसैं/तिहार मनाउन घरमा आएका सबैले गरे ।’ रित्ता गाग्री ठटाएर देउसीभैलो खेल्ने कार्यक्रममा स्थानीय महिला र पुरुष सबैको साथ रहेको उनले बताए ।


गाउँमा पानीको पहिल्यैदेखि धेरै दु:ख थियो । गाउँका पँधेरामा पानी भर्नेको लाइन हुन्थ्यो । लाइन मिचेर पानी भरेकै कारण गाउँको नाम पनि चौरपानी रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।


झन्डै ३ सय घरपरिवार बसोवास गर्ने गाउँलेले धेरै वर्ष तल्लो धारा, भकुन्डे पँधेरा र उपल्लो पँधेरामा पानी भर्थे । पछि पँधेरामा पानी सुक्दै गयो । गाउँलेले खानेपानी आयोजनाको माग गरे । धरमपानीबाट ०४२ सालमा खानेपानी ल्याइयो । गाउँमा ३५ धारा बनाइएको थियो । धरमपानीबाट ल्याइएको आयोजनामा पनि दुई महिनादेखि पानी आएको छैन ।


गाउँको मुख्य समस्या खानेपानी भए पनि स्थानीय सरकारले सडकमा ध्यान दिँदा गाउँले बेखुसी रहेको स्थानीय सिर्जना पोख्रेलले बताइन् । ‘हाम्रो मुख्य समस्या खानेपानी नै हो,’ उनले भनिन्, ‘तर, स्थानीय सरकारले सडकमा पैसा खनायो ।’ सरकारी बजेट आउला र खानेपानीको सुविधा होला भन्ने आस मरेकाले देउसीभैलो खेलेर पानी ल्याउन स्थानीय कस्सिएको उनले बताइन् ।


मोटरबाटो खन्दा खानेपानीका मुहान सुख्दै गएकाले पानीको समस्या बढ्दै गएको स्थानीय वासुदेव पोख्रेलले बताए । ‘मुहान वरिपरिबाट सडक खनिएका छन्,’ उनले भने, ‘जमिन थर्किएर पानीको मुहान नै पुरिए ।’ पँधेरामा तीन घण्टामा एक गाग्री पानी भर्ने पालो आउने उनले बताए । धरमपानीको रइजनपानी मूलबाट चौरपानीसम्म खानेपानी लगिएको थियो ।


मुहानमाथिबाट सडक खनेपछि मुहान सुकेको स्थानीय कृष्णराज पाण्डेले बताए । पाण्डेका अनुसार देउसीभैलोबाट आइतबारसम्म ५० हजार रुपैयाँ जम्मा भएको छ । पानीको दु:ख भएकाले स्थानीयले देउसीभैलो टोलीलाई राम्रो सहयोग गरिरहेका छन् । गाउँमा पानी ल्याउनका लागि देउसीभैलो खेलेको खबरले विदेशमा बस्ने चौरपानीबासीले यसभन्दा धेरै रकम जम्मा गरेर पठाउने तयारी गरेको पाण्डेले बताए । देउसीभैलो अझै दुई दिन खेलिने उनले बताए ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?