कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंकफुड निषेध नारामै सीमित

माधव अर्याल

पाल्पा — रैनादेवी छहरा २ सर्देवास्थित भगवती माविको गेटमा ‘जंकफुड’ निषेध लेखिएको छ । विद्यालयभित्र प्रवेश गरेपछि उक्त नारा र त्यहाँको वातावरणबीच मेल देखिँदैन । परिसरमा फोहोरको डंगुर छ । त्यहाँ चाउचाउ, बिस्कुट र सुर्तीका खोल प्रशस्त छन् ।

जंकफुड निषेध नारामै सीमित

‘विद्यालयको गेटभित्र प्लास्टिकले भरिएको देखियो,’ अनुगमनमा आएका भुवन रायमाझीले भने, ‘शिक्षाको अवस्थालाई यसले प्रस्ट्याएको छ ।’


खाजा खाने समयमा रैनादेवी छहरास्थित रैनादेवी मावि भुवनपोखरीका विद्यार्थीका हातमा चाउचाउका पुरिया देखियो । नजिकका पसलबाट यस्ता तयारी खानेकुरा खानु उनीहरूको दैनिकी हो ।


यो विद्यालय उदाहरण मात्र हो । ‘पाल्पाली मोडल’ का रूपमा ५ वर्षअघि सुरु विद्यालयमा ‘जंकफुड’ निषेध अभियान प्रभावहीन देखिएको छ । तत्कालीन अवस्थामा सुरु गरेको ‘टिफिन बक्स’ कार्यक्रम ‘जंकफुड’ प्रयोगका कारण असफल भएको हो । विद्यार्थीले पोसाक, झोलामा पानी र घरमा बनाएको खाजा लिएर जान छाडेका छन् । ‘विद्यालयमा खाइदिने भएकाले समस्या आएको हो,’ भगवती माविका प्रधानाध्यापक रामप्रसाद पोखरेलले भने, ‘आगामी दिनमा यस्तो गल्ती हुनेछैन ।’


अधिकांश विद्यालयमा टिफिन बक्समा खाजा लैजान छाडेका छन् । सुरुमा जिल्लाको पश्चिम भेगका विद्यालयमा बढी प्रभावकारी थियो । अहिले त्यस क्षेत्रमै ‘जंकफुड’ विद्यालयमै बिक्री हुन थालेको छ । विद्यालयमा कसैले पनि घरमा बनाएको खाजा लैजान्नन् ।


सरकारको विद्यालय क्षेत्रभित्र ‘जंकफुड’ निषेध अभियानलाई सफल पार्न साबिकको शिक्षा कार्यालयले ५ वर्षअघि यस्तो अभियान चलाएको थियो । तर, यसले निरन्तरता पाउन सकेन । शिक्षाको निर्देशनमा जिल्लाका अधिकांश विद्यालयले विद्यार्थीलाई ‘टिफिन बक्स’ वितरण गर्न ठूलो धनराशिसमेत खर्च गरेका थिए । साबिकका गाविस, सामुदायिक वन र अभिभावकको लगानी छ ।


शिक्षाको निर्देशनलाई पालना गर्दा लाखौं खर्च भएको थियो । ‘विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि ‘जंकफुड’ सहयोगी छैन,’ रैनादेवी छहरा ४ का वडाध्यक्ष विष्णु पोखरेलले भने, ‘विगतमा घरमै बनाएका खाजा खाने बानीको विकास गर्न बक्स वितरण गरेको सुनियो तर यसको निरन्तरता देखिएको छैन ।’ शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत महेन्द्र सुवेदीले यसको फलोअप नहुनु र सम्बन्धित विद्यालयको कमजोरीका कारण यस्तो अवस्था आएको बताए ।


सरकारी/सामुदायिक विद्यालयका विद्यार्थी दिनभर भोकै बस्ने अनुसन्धानले देखाएकाले विद्यार्थीको वृद्धि र विकासमा सहयोग पुर्‍याउन यस्तो अभियान थालेका थिए । ‘सुरुवात भयो, त्यसपछि टिफिन बक्स लैजानलाई विद्यालयमा फलोअप भएन,’ शिक्षाकै एक कर्मचारीले भने, ‘विद्यालयले पनि बेवास्ता गर्दै गयो ।’ कार्यक्रम सफल नहुनुमा विद्यालय निरीक्षक, स्रोत व्यक्ति र प्रधानाध्यापकको कमजोरी रहेको छ । केही समय ‘लहड’ का रूपमा देखिएको टिफिन बक्स अहिले प्राय: विद्यालयमा हराएको छ ।


विद्यार्थीले दिउँसो छुट्टीमा खाजा चाहार्दै होटल र पसल पुग्न थालेको भेटिएको रैनादेवी छहराका शिक्षा शाखा प्रमुख झलक रायमाझीले स्वीकारे । त्यहाँ पाइने चाउचाउ, बिस्कुट नै उनीहरूको खाजा बनेको छ । जिल्लाका २ सयभन्दा बढी विद्यालयका विद्यार्थीको झोलामा टिफिन बक्स पुगेको थियो । दिउँसो भोक लागेका बेला पौष्टिक आहार खान पाएपछि विद्यार्थीले शिक्षकले पढाएको कुरा सिक्न सजिलो हुने अध्ययनले देखाएको छ । सोही आधारमा शिक्षा विभागले यस कार्यक्रमलाई अगाडि बढाएको थियो ।


विद्यालयमा अक्षयकोष जिल्लाबाट संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकाको सहयोगमा यहाँका ६० विद्यालयमा ‘शैक्षिक अक्षय कोष’ स्थापना भएको छ । ‘पाल्पाली समाज यूएई’ नामक संस्थामार्फत अक्षयकोष स्थापना भएको हो । साबिकका ६० गाविसमा ‘एक गाविस : एक विद्यालय अक्षयकोष’ को अभियान सफल भएको पाल्पाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्यालले बताए ।


‘हामीले गरेको परिकल्पना अहिले साकार भएको छ,’ उनले भने, ‘यसबाट विपन्न परिवारका छोराछोरीले फाइदा पाउने छन् ।’ प्रत्येक विद्यालयमा २५ हजारका दरले अक्षयकोष स्थापना भएको छ । ०७३ भदौदेखि सुरु भएको अभियानले अहिले सार्थकता पाएको हो ।


समाजले पहिलोपटक पूर्वखोला गाउँपालिका १ सिलुवाको तामाखानीस्थित अकला आधारभूत विद्यालयबाट अभियान सुरु गरेको थियो । तानसेन नगरपालिका १३ को बौघागुम्हास्थित राधाकृष्ण प्रावि छेर्लुङमा अक्षयकोष स्थापना गरेर अभियान सकिएको हो ।


पाल्पाली समाज यूएईका वरिष्ठ उपाध्यक्ष ओमकुमारी खाँणका अनुसार ४० विद्यालयमा समाजका प्रतिनिधि र २० मा शिक्षामार्फत अक्षयकोषको रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?